
काठमाडौं, ६ जेठ – चीनले दक्षिण चीन सागरको विवासदत क्षेत्रमा पहिलोपटक आफ्नो बमवर्षक विमान एच–६के तैनाथ गरेको छ ।
विशेषज्ञहरूका अनुसार, यी विमानहरूको रेन्ज उत्तरी अस्ट्रेलिया र गुआम द्वीपसम्म छ ।
अमेरिकाले चीनको यो कदमपछि आफ्ना युद्धविमानहरू चीनले बनाएको कृत्रिम द्वीपहरूतर्फ पठाएको छ ।
लामो दूरीका यी बम वर्षक विमान द्वीप र चट्टानमा चीनका सबै क्षेत्रसम्म पहुँच बढाउनका लागि आयोजित अभ्यासमा संलग्न गरिएका थिए ।
यो विमानका पाइलट ग दाचिङले एक बयान जारी गरेर यो अभ्यासबाट ‘हाम्रो हिम्मत र वास्तविक युद्धको स्थितिमा हाम्रो क्षमता बढ्ने’ बताएका छन् ।
यो बम वर्षक विमानबाट मिसाइल लन्च गर्न सकिन्छ ।
एसिया म्यारिटाइम ट्रान्सपरेन्सी इनिसिएटिभसँग जोडिएका विशेषज्ञहरूका अनुसार, यी विमानहरू छिट्टै स्प्राट्ली टापुसमूहमा अवतरण गर्न सक्छन् । त्यहाँ रनवे र ह्यांगरहरू छन् । त्यहाँबाट यी विमान अस्ट्रेलिया र गुआमस्थित अमेरिकी सैन्यअड्डासम्म पुग्न सक्छन् ।
चीनको कदमविरुद्ध अमेरिकाले युद्धविमान पठाउँदै अमेरिका स्वतन्त्र तथा खुला इन्डो–प्यासिफिक क्षेत्रप्रति समर्पित रहेको बताएको छ ।
चीन र अमेरिकाबीच सम्बन्धमा तनाव बढ्दै जाँदा यसरी विमानहरू तैनाथ भएका हुन् । दुई देशबीच व्यापारिक युद्ध शुरु भएपछि सम्बन्धमा तिक्तता बढेको छ ।
जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा स्वर्ण सिंहका अनुसार, यो घटनाबाट उक्त क्षेत्रमा तनाव बढ्नु स्वाभाविक छ ।
डा सिंह भन्छन्, ‘यसबाट तनाव बढ्ने निश्चित छ तर यो अचानक हुने घटना होइन । विगत एक दशकदेखि चीनले लगातार दक्षिण चीन सागरमा प्रभाव बढाइरहेको छ । यो क्षेत्रमा लगातार तनाव बढिरहेको छ । अमेरिकाले आफ्नो
विमान पठाएर फ्रीडम अफ नेभिगेसनको कुरा गरेको छ । तर अमेरिकाको यो कदमको समर्थनमा धेरै देश छैनन् । अमेरिकाको विशेष मित्र अस्ट्रेलिया पनि चीनविरुद्ध कारवाही गर्न हिचकिचाउँछ । अमेरिका यो मुद्दामा आफूलाई
एक्लो पाउँछ । त्यतिमात्र नभई अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनले एसिया प्रशान्त क्षेत्रमा आफ्नो नेतृत्व बनाउनमा रुचि राख्न छोडेको छ ।’
बीबीसी हिन्दीबाट