२६ जेठ २०८३, मंगलबार

सुन तस्करी काण्डका अभियुक्त एसएसपी श्याम खत्री जेल चलान

सुन तस्करी काण्डका अभियुक्त एसएसपी श्याम खत्री जेल चलान

विराटनगर, १७ जेठ– ३८ किलो सुन तस्करी काण्डका अभियुक्त नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान भएका छन् । बिहीवार विहान जिल्ला अदालत मोरङमा उपस्थित भएका खत्रीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । 

बिहीवार अदालतमा उपस्थित भएसँगै खत्रीको बयान लिइएको थियो । बयान सकिएसँगै शुरु भएको थुनछेक बहस पछि अदालतले खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

खत्री २२ पुस २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको साढे ३३ किलो सुन प्रकरणमा पनि मुछिएका थिए । 

प्रहरी बर्दीमै रहेका बेला पक्राउ परेका एसएसपी खत्री त्यतिबेला जिल्ला अदालत काठमाडौंमा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । 

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन र त्यसअघि भएका सुन तस्करीमा खत्रीको संलग्नता देखिएको भन्दै गृह मन्त्रालयका सह–सचिव नेतृत्वको समितिले उनलाई खोजी सूचिमा राखेको थियो । तर खत्री भने गत चैत तेस्रो हप्तादेखि फरार थिए  । 

आफू कार्यरत प्रहरी प्रधान कार्यालयबाट १० दिनको विदा स्वीकृत गराएर भारत गएका खत्री बिहीवार काठमाडौं हुँदै जिल्ला अदालत मोरङ पुगेका थिए । 

खत्रीले बिहीवार मोरङ अदालतमा दिएको बयानमा सुन नै बरामद नभएको अवस्थामा कसैलाई तस्कर भन्न नमिल्ने बताए । उनले त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा तत्कालीन प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोविन्द निरौलाको संलग्नता रहेको पनि बयानमा उल्लेख गरेका छन् । 

सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती (गोरे) र तत्कालीन डिआईजी निरौलाबीच विशेष सम्बन्ध भएका कारण आफूले विमानस्थलमा कार्यरत रहँदा सुन तस्करी रोक्न नसकेको खत्रीले बयानमा उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्