२६ जेठ २०८३, मंगलबार

सभापतिको भेलामा देउवाको आरोप : नेकपा संविधान र प्रजातन्त्र धरापमा पार्न उद्दत

सभापतिको भेलामा देउवाको आरोप : नेकपा संविधान र प्रजातन्त्र धरापमा पार्न उद्दत

हेटौंडा, ५ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्दत रहेको आरोप लगाएका छन् ।

कांग्रेसका जिल्ला सभापतिको राष्ट्रिय भेलाको आज हेटौंडामा उद्घाटन गर्दै उनले सरकारले संवैधानिक अंग, प्रशासनिक निकायमा राजनीतिकरण गर्न थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एकढिक्काको साथ राष्ट्रिय अभियानमा समाहित हुन जिल्ला सभापतिहरुलाई आह्वान गरे । 

सभापति देउवाले प्रजातान्त्रिक चरित्र र संस्कारलाई दिगो व्यवस्थापन गर्न काँग्रेसको नेतृत्व परिवर्तन हैन कार्यकर्ताबीच जनमुखी सेवाभाव र व्यावहारिक हुनेतर्फ आफँै परिवर्तन हुनुपर्नेमा सचेत गराए ।

गुटको नेतृत्व गर्दिन : नेता पौडेल 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको नेपाली कांग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भएपनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा विगत निर्वाचनमा पराजय भोग्नु परेको तथ्यलाई आत्मसात् गर्नुपर्ने बताए ।

नेतृत्वले नै गुटबन्दी गर्न उपयुक्त नहुने विचार व्यक्त गर्दै उनले अब आफूले कुनै गुटको नेतृत्व नगर्ने घोषणा गरे । मुलुक, जनता र प्रजातन्त्रलाई दिशाबोध गर्न भावनात्मक रुपमा हृदय परिवर्तन गरेर अब सधैंका लागि कांग्रेस एक भएको खाका तयार गर्न जिल्ला सभापतिहरूलाई आग्रह गरे ।

सभामा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेस एकजुट भएको विश्वास जनता माझ पु¥याउन नेताहरू नै विवेकशील बन्नुपर्ने बताए । उनले प्रजातान्त्रिक शक्तिबीच सहकार्य गरी प्रजातन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा क्रियाशील हुन आफूमा रहेको हिनताको भावनालाई त्यागेर अगाडि बढ्नुपर्ने बताए ।

उपसभापति विमेलन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाले संसदीय प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रताको साथै प्रेस स्वतन्त्रतामाथि पनि वर्तमान सरकारले उपेक्षाभाव प्रदर्शन गर्न थालेकामा आपत्ति जनाए । उनीहरूले मुलुकलाई दीगो शान्ति, राजनीतिक स्थायित्व प्रदान गर्न काँग्रेसको नेतृत्व कुशल, पारदर्शी हुनुपर्ने बताए । ३ दिनसम्म चल्ने भेलामा सभापति देउवा, वरिष्ठ नेता पौडेल, संसदीय दलका उपनेता गच्छदार, नेता कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, डा प्रकाशशरण महत, अर्जुन नरसिंह केसी लगायतले राजनीतिक एवं संगठनात्मक प्रशिक्षण दिने छन् ।

भेलामा नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, ७७ जिल्लाका सभापति, प्रदेश ३ का प्रदेशसभा सदस्य र पर्यवेक्षक गरी ५ सय ७५ प्रतिनिधिको सहभागिता रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्