
काठमाडौं – संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सम्बन्धमा निर्णय लिन बसेको संवैधानिक समितिको बैठक बुधवार पनि अनिर्णित बनेको छ ।
प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन नसक्दा शुक्रबार बिहान १० बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले सहमतिको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए । समितिबाट सर्वसम्मतिले निर्णय लिने प्रयास हुने उनको भनाइ छ ।
यस्तै कांग्रेसका तर्फबाट समिति सदस्य रहेका सांसद भीमसेन दास प्रधानले सहमतिका लागि भन्दै सत्ता पक्षले समय मागेपछि बैठक स्थगित गरिएको जानकारी दिए ।
बुधबार दिउँसो साढे ३ बजेका लागि बोलाइएको बैठक साँझ साढे ५ बजेपछि बसेको थियो ।
सुनुवाइ समितिको बैठक लामो समयसम्म अनिर्णित बन्दा प्रधानन्यायाधीश नियुक्ति पेचिलो बन्दै गएको छ ।
समितिको बैठक बस्नुअघि नेकपा र कांग्रेसका सांसदहरूले पार्टीभित्र परामर्श गरेका थिए ।
समितिका सदस्यहरूलाई सुरक्षा थ्रेट बढेको भन्दै बुधवारदेखि निजी सुरक्षा गार्ड (पीएसओ) समेत दिइएको छ ।
शैक्षिण प्रमाणपत्र विवाद तथा कतिपय फैसलाका कारण नेकपा जोशीको नाम अनुमोदन गर्ने पक्षमा नरहेको बताइएको छ ।
संघीय संसदको संयुक्त कार्यसञ्चालन नियमावलीअनुसार सुनुवाइ समितिको दुई तिहाइले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकार गर्न सक्ने व्यवस्था छ ।
संवैधानिक परिषद्बाट जेठ २९ गते सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस जोशीको सम्बन्धमा यही साउन १० गते सुनुवाइ भएको थियो ।