काठमाडौं –नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले राजधानीको सडकको खाल्डाखुल्डी र हिलो तथा धूलोका विषयमा सदनबाट सरकारलाई सटीक व्यंग्य गरेका छन् ।
प्रतिनिधिसभाको सोमवारको बैठकको शून्य समयमा बोल्दै थापाले बिमस्टेकमा आउने पाहुनालाई काठमाडौंका अलगअलग होटलमा राख्न सुझाव दिए । त्यसो गर्दा लाज हुने डरले पनि सरकारले अलगअलग ठाउँका सठकका खाल्डाखुल्डी रातारात पुर्ने उनको तर्क छ ।
बिमस्टेकको सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका पाहुना काठमाडौं आउँदैछन् ।
के भने गगनले ?
'यही भाद्र १४ र १६ गते काठमाडौंमा बिमस्टेकको चौथो सम्मेलनको सम्पूर्ण सफलताको कामना गर्न चाहन्छु ।
बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने ६ राष्ट्रका सरकार प्रमुख र प्रतिनिधिहरूलाई काठमाडौंको एउटै होटलमा नराखिकन विभिन्न होटलमा बस्ने व्यवस्थाका लागि सरकारसँग जोडदार माग गर्दछु, किनकी पाहुनाहरूले राजधानीका सडकमा भएको खाल्डो, हिलोमैलो देखे भने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै हाम्रो सरकारले रातारात खाल्डाहरू पुर्ने छ र बेथिति हटाउने छ भन्ने कुरामा म पूर्णत: विश्वस्त छु ।
पाहुनाहरूको बसाइ सुखद् रहोस् । सरकारको जय होस् । धन्यवाद !'