
काठमाडौं– नेपाली कांग्रेसका नेता एवं संघीय संसद प्रतिनिधिसभाका सांसद मोहद अफ्ताव आलमले सरकारले मधेसमाथि भेदभाव गरेको आरोप लगाएका छन् ।
संसदको विशेष समयमा बोल्दै सांसद आलमले मधेसी नागरिकलाई पनि नेपाली हुन् भन्ने सोच सरकारमा नभएको आरोप लगाए । उनले मधेसीको सम्मानमा राज्यको उपस्थिति नभएको बताए । ‘मधेसी दाजुभाइको पीडा भनेको हामीपनि नेपाली नागरिक हौं, हामीमाथि भेदभाव किन ?’ सांसद आलमले भने,‘किन मधेसीको सम्मानमा राज्यको उपस्थिति कमजोर ।’
सिरिया र इराकको वर्तमान अवस्थाको उदाहरण दिँदै सांसद आलमले ति देशमा जातीयता र क्षेत्रीयताको लडाइ भएका कारण त्यहाँको राष्ट्रियतामाथि चुनौती थपिएको भन्दै नेपालमा पनि त्यसको पुनरावृत्ति हुन सक्ने चेतावनी दिए । त्यसका लागि सरकार गम्भीर हुनुपर्ने उनले बताए ।