
म पोर्तुगाल बस्ने भएका कारण धेरै साथीभाइको पहिलो प्रश्न हुन्छ, ‘क्रिस्टियानो रोनाल्डोलाई देखिस् ?’ अर्को प्रश्न हुन्छ, ‘पोर्तुगालमा रोनाल्डोका फ्यान कति छन् अनि पोर्तुगाली जनताले विश्वकप फूटबलको बेला घरघरमा देशको झण्डा राख्ने तथा देशको जर्सी लगाउने काम कत्तिको गरे ? विश्वकप फूटबल चल्दै गर्दा त्यहाँको माहोल कस्तो थियो आदि इत्यादि ।
दुःखका साथ भन्नुपर्छ, मेरो आँखाले आजसम्म बाटोमा देशको जर्सी लगाएर हिँड्दै गरेको कुनै पनि पोर्तुगाली फूटबल फ्यान देखेनन्, न त घरघरमा झण्डा नै भेटिए । पोर्तुगालको जीतको कामना गर्दै कहीँ सरसफाइ कार्यक्रम आयोजना पनि गरिएन । फूटबल कसले जित्ला भनेर बाजी थाप्न त्यहा कानूनी रूपमा खुला थियो र पनि युरोपेलीभन्दा एसियाली मूलका मानिसले बढी बाजी लगाएको हुनुपर्छ ।
विदेशीले स्पोर्ट्स बाइक चढेको देखेर हामी पनि चढ्यौं तर हामीले यो कहिले बुझ्ने एक हजार सीसीको त के २२० सिसी को बाइकको गति धान्नसक्ने हामीसँग बाटो छैन । त्यो बाइक विदेशी कम्पनीले विदेशका रोडमा गुडाउनका लागि मात्र बनाएका हुन् ।
विदेशी कम्पनीले बीएम्डब्ल्यूदेखि मर्सिडिज बेन्जसम्म, ल्यान्ड क्रूजरदेखि प्राडो पजेरोसम्मका विलासी गाडी बजारमा ल्याए अनि तीमध्ये धेरै गाडी नेपालको सडकमा पनि गुडेको हामी देख्छौं । यहाँको जाम, सडकको अवस्था, इन्धनमा हुने मिसावट — सबै पक्ष केलाउँदा साढे २ करोड देखी ३ करोडसम्म मूल्य पर्ने गाडी हाम्रा बाटाको लागि बनेका होलान् त ?
विदेशीले जनवरी १ मा नयाँ वर्ष मनाए भनेर हामीले पनि मनायौं तर हाम्रो जन्म, मृत्यु, तिथिमिति यहाँसम्म कि काम गर्ने दिन, तलब थाप्ने दिनसमेत विक्रम संवत् मा चल्छ भने त्यो एक दिन अरूलाई देखाउनका लागि मात्र मनाइने नयाँ वर्षको के अर्थ ?
एन्ड्रोइड फोनको दुनियाँमा एप्पल कम्पनीको आईफोन एउटा वरदान नै मान्दा हुन्छ । एप्पलको विश्व बजारमा एकछत्र राज छ । एप्पलको आईफोन फोरमा के के फंक्सन छन् र तिनको हामीले आफ्नो व्यावहारिक जीवनमा कति उपयोग गरेका छौं त्यो त समीक्षाको विषय छँदैछ तर अहिले नेपाली बजारमा एकलाख भन्दा बढी मूल्य पर्ने आईफोन एट प्लस कतिजना विशुद्ध गृहिणीको हातमा होलान् अनि त्यसको उपयोग के काममा गरिँदै होला ?
फेसबूक, मेसेन्जर, भाइबर, इमु, व्हाट्सयाप मात्र चलाउनका लागि बजारमा १० हजार रुपैयाँमा चिनियाँ तथा भारतीय कम्पनीका एन्ड्रोइड मोबाइल सहज रूपमा उपलब्ध छन् । आईफोन कम्पनीको शुरूआती लक्ष्य नेपाली बजार होइन भन्ने कुरा त्यसको चार्जर, एप्लिकेसन स्टोर र त्यसमा राखियका एप्लिकेसन हेर्दा बुझ्न गाह्रो हुँदैन र पनि हामीले एप्पलको लोगो देखाउनकै लागि मात्र आईफोनमा मोह देखाउँदा अचम्म लाग्छ ।
विदेशमा १८ वर्ष काटेका जोसुकै युवा सम्पूर्ण रूपमा स्वतन्त्र छन् आफ्नो जिन्दगी आफ्नै मर्जीले जिउनका लागि ।
यौन, धूम्रपान, मद्यपान, खानपिनदेखि लिएर फेशन तथा ड्रेसअप गर्नेसम्म, लिभिङ टुगेदर गरेर बस्ने, बिहे गर्नेदेखि पारपाचुकेसम्म सबै आफ्नो एकलौटी निर्णयमा चल्ने गर्छन् ।
बिहे र सम्बन्धविच्छेद उनीहरूका लागि सामान्य विषय हो भने हाम्रो समाजमा डिग्री पास गरेर उपप्राध्यापक भइसकेको ३० वर्षे प्रौढ व्यक्तिको समेत बिहे गर्नलाई सारा आफन्त र लमीको सहारा आवश्यक हुन्छ । अर्कातर्फ एकपटक बिहे भएसकेपछि चाहे श्रीमान् श्रीमतीको सम्बन्ध जतिसुकै बेमेल र असामन्जसपूर्ण होस्, सम्बन्धविच्छेद प्रायः असम्भव जस्तै हुने गर्छ नेपाली समाजमा ।
हामी विदेशीहरूको जीवनशैलीबाट प्रभावित भएर उनीहरूको अनुकरण गर्न तल्लीन छौं । उनीहरूको समाजमा यौन खुला छ र धेरै देशमा समुद्रको तटमा लाखौं युवती बिकिनी लगाएर डुल्छन् भने केही देशमा समुद्रको तटलाई नग्न तट समेत घोषणा गरिएको हुन्छ, जहाँ युवक युवती सम्पूर्ण रूपमा नग्न भएर स्वतन्त्रतापूर्वक डुल्न सक्छन् । विदेशमा एउटी युवती निर्वस्त्र भएर हिँड्दा पनि शतप्रतिशत सुरक्षित हुन्छे जबकि हाम्रो समाजमा गुन्युचोली लगाउने चेलीबेटीका त कुरा छोडौं यौन के हो भनेर केही पनि थाहा नभएका चार वर्षकी अबोध बालिकासमेत बलात्कारको शिकार बन्न बाध्य छन् ।
विदेशीले प्रेमदिवस मनाए, हामीले पनि मनायौं । उनीहरू बार, डिस्को अनि पबमा झुम्मिए, हामी पनि त्यतै रल्लियौं । विदेशीले रेस्टुरेन्टमा खाना खाए, हामीले पनि अनुकरण ग¥यौं । तर विदेशीको रेस्टुरेन्टमा के पाक्छ र उनीहरू के खान्छन्, कसरी खान्छन् त्यो हामीले बुझ्न चाहेनौं । हामीले साथीभाइलाई जम्मा पारेर महङ्गो रेस्टुरेन्टमा बर्थडे पार्टी दिएर ५० हजारको बिल तिर्न विदेशीबाट सिक्यौं तर विदेशमा बर्थडे पार्टीमा सहभागी हुन आउनेले नै आफूले खाएको खानेकुराको बिल स्वयं तिर्छ भन्ने भेउ पाउन सकेनौं । हामीले अंग्रेजी रक्सी शानका साथमा खान सिक्यौं तर अंग्रेजहरू रक्सी केसँग र कति मात्रामा खान्छन् त्यो सिक्न सकेनाैं।
विदेशीहरू आफ्नो मर्जीको मालिक हुन्छन्, हामी घरपरिवार, इष्टमित्र, कुल खानदान अनि इज्जतको गुलाम भएर बाच्छाैं जीवनभर । विदेशीहरू आफ्नो इच्छामा आफ्नै लागि बाँच्छन् तर हामी सानोमा बुवाआमा अनि आफू बाबुआमा बनेपछि छोराछोरीका लागि बाच्छौं । हामी वर्तमानका लागि बाच्दैनांै भविष्यका लागि बाच्छौं । खाई नखाई भोलिका लागि बचत गर्छौं माहुरीले जस्तै ।
पच्चीस वर्षसम्म पढ्नकै धुन, त्यसपछि जागिरको पीर, जागिर पाएपछि बिहे गर, बच्चाबच्ची जन्माऊ, तिनको लालनपालन, शिक्षादीक्षा, तिनको पढाइ र पर्सेन्टेज अनि डिभिजनको चिन्ता । चिन्तै चिन्तामा ५० वर्ष पुग्छौं । पचास वर्षको उमेरमा हरेक नेपालीलाई केही न केही रोग जस्तो सुगर, प्रेसर, ग्यास्ट्रिक, युरिक एसिडले समातिहाल्छ । त्यसपछि डुल्नु कहिले, घुम्नु कहिले, मन लागेको नखाई नलाई दुईदिनको जिन्दगी त्यसै सकिजान्छ ।
यस्तै छ हामी नेपालीले पाएको दुईदिने चोला । अनि सोध्न मन लाग्छ हामी जानी नजानी हरेक कुरोमा विदेशीको सिको गर्छौं तर विदेशीजस्तै मस्त अनि तनावरहित जिन्दगी किन बाँच्न सिक्दैनौं ?