
काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या तथा नेपाली सेनाका निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरेको भ्रष्टाचारबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।
उनले नागरिकता विधेयक र चिकित्सा शिक्षा विधेयक पारित नगरी संसदको अधिवेशन अन्त्य नगर्न सदनको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभाको बुधवार बसेको बैठकको विषेश समयमा बोल्दै सांसद सिंहले पूर्वप्रधानसेनापतिको सम्बन्धमा छानबिनको माग गरेका हुन् ।
यसअघि सांसद हृदयेश त्रिपाठीले पनि क्षेत्रीको सम्बन्धमा छानबिनको माग गरेका थिए । ‘सरकारको पुच्छर संसद हुन सक्दैन सभामुख महोदय, सेनापतिको भ्रष्टाचारको विषयमा संसदीय छानबिन समिति गठन होस्,’ उनले भने ।
सांसद सिंहले वर्तमान सरकारलाई बिचौलिाले चलाइरहेको समेत आरोप लगाए । ‘सरकार चाडबाडको समयमा चिनीको भाउ बढाउँछ, यातायातको भाडा बढ्छ । सरकारको मान्छेलाई ऐश आराम गर्नका लागि । सरकारका मन्त्री प्रधानमन्त्रीले विदेश भ्रमण गर्ने र सुविधा सम्पन्न गाडी चढ्नका लागि भाडा बढाउने ?’ उनले भने ।
सांसद सिंहले सरकार आफैं भ्रष्टाचारी र षड्यन्त्रकारी भएको आरोप समेत लगाए ।
सांसद रेणुका गुरुङले पनि राजेन्द्र क्षेत्रीले व्यापक भ्रष्टाचार गरेकोले छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराइन् ।
‘नेपाली सेना जस्तो पवित्र संस्थालाई केही भ्रष्ट सैनिक अधिकारीको कामले गर्दा सिंगो संस्था बदनाम हुने भएकोले आवस्यक कारवाही गर्न तथा बहालवाला अधिकारीलाई त्यसो गर्न नदिन अख्तियार, रक्षा मन्त्रालय, सदन र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’