२६ जेठ २०८३, मंगलबार

वडा कार्यालयले जडान गर्‍यो निःशुल्क वाइफाई

वडा कार्यालयले जडान गर्‍यो निःशुल्क वाइफाई

दमौली – तनहुँको व्यास नगरपालिका–३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ ।

वडा कार्यालय र वर्ल्डलिंक कम्युनिकेसनबीच सम्झौता भई कम्पनीले ५ वर्षका लागि पराशर टोलमा निःशुल्क रुपमा वाइफाई सेवा उपलव्ध गराएको हो । 

वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, सदस्य रविन पौडेल, चौतारा निर्माण समितिका अध्यक्ष सुदीप काफ्ले र कम्पनीका तर्फबाट मनोज मल्लले सोमबार वाइफाईको औपचारिक शुभारम्भ गरे । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै चौतारामा विश्राम गर्ने सर्वसाधारणलाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिएको वडा सदस्य रविन पौडेलले जानकारी दिए । 

एकै पटक १ सय जनाले प्रतिव्यक्ति २ एमबीपीएस डाटा बराबरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाइफाईको व्यवस्था गरिएको वर्ल्डलिंकका दमौली शाखा प्रमुख मनोज मल्लले बताए । लगातार १ घण्टा प्रयोगपछि भने इन्टरनेट पुन कनेक्ट गर्नुपर्नेछ ।

वर्ल्डलिंककै ग्राहकले भने आफ्नै युजर प्रयोग गरी लगातार प्रयोग गर्न सक्ने उनले जानकारी दिए । चौतारा निर्माण समितिको आग्रहमा वर्ल्डलिंकले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क रुपमा वाइफाईको व्यवस्था गरेको समितिका अध्यक्ष सुदीप काफ्लेले बताए ।

निर्माण हुन लागेको ३ सय २५ फुट लम्बाईको अपाङ्गमैत्री चौतारा सम्भवत देशकै पहिलो हुन सक्ने भन्दै अध्यक्ष काफ्लेले चौतारालाई नमूना बनाउने अभियानअन्र्तगत समितिको आग्रहमा कैलाश बैंकले बत्ती र वर्ल्डलिंकले इन्टरनेट जडान गरिदिएको जानकारी दिए । सो क्षेत्रलाई रात्रिकालीन पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्ने दीर्घकालीन लक्ष्य वडाले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्