२६ जेठ २०८३, मंगलबार

र पो तिहार आए झै लाग्थ्यो (कविता)

कात्तिक २१, २०७५
र पो तिहार आए झै लाग्थ्यो (कविता)

राजन पराजुली

साथी भाई जम्मा भएर
      मादलुको तालमा मस्त सँग
  रमाई रमाई देउसी भैली खेलिन्थ्यो
    र पो तिहार आए झै लाग्थ्यो ।

    दीयो भरी तेल राखी
        बत्ती बालेर घर पूरै झिलिमिलि पारिन्थ्यो
   सयपत्री फूल र मखमली फूलको
        ठूलो माला उनेर
 सप्त रंगी टीका सँगसँगै घाटीमा लगाईन्थ्यो
       र पो तिहार आए झै लाग्थ्यो ।

  टोल टोलमा आफ्नो पुराना गित
       मुखले गाउँदै,नाँच्दै खुब धेरै
 देउसी खेल्दै,छुट्टै रमाईलो गरिन्थ्यो
     गुनियो चोलीमा दिदि बैनी
         संजिएर देउसुरे देउसुरे गाउँदै नाँच्थे
              र पो तिहार आए झै लाग्थ्यो ।
  
    हातले बनाएका कयौँ रंगले
        घर पूरै रंगी बिरङ्गी पारिन्थ्यो
   हरेक घर घरमा रात भर मादल बजाएर
       रमाईलोपनको लागि देउसी खेलिन्थ्यो
          र पो तिहार आए झै लाग्थ्यो ।
 
   दिदि बैनी दाजु भाई सबै जम्मा भएर
         मिठो मसिनो जे छ उही
  बाडि चुडि खाईन्थ्यो
     सबै परिवार जम्मा भएर
        खुसी याली साटिन्थ्यो
      र पो तिहार आए झै लाग्थ्यो ।
       
  धन दौलतको कसैलाई मतलब हुदैन्थ्यो
       सबै सँग फुर्सत नै फुर्सत हुन्थ्यो
           टोलभरीका दाजुभाई दिदि बैनी
      जम्मा भएर कसैको डर त्रास बिना
              तिहारे गित गाईन्थ्यो
      र पो तिहार आए झै लाग्थ्यो ।

      सुपाभरी आफैले बनाएका
           कयौ खानेकुरा हुन्थ्ये
   रिष,ईस्या,घमंड कसैसँग हुदैन्थ्यो
       छिन छिनमा पालैपालो
  देउसी भैली खेल्ने टोली आउथ्ये
       र पो तिहार आए झै लाग्थ्यो ।।

   निधारमा सप्तरंगी टीका लगाएर 
        उपहार स्वरूप ढाका टोपी दिईन्थ्यो
    एक घरको खुसी आर्को घरले साट्यो
        प्रत्येक टोलमा मादल घन्किन्थ्यो
            र पो तिहार आए झै लाग्थ्यो ।।।

चितवन

salt training

कमेन्ट गर्नुहोस्