
काठमाडौं–लेनदेनको विषयमा विवाद हुँदा राजधानीमा एक समूहको खुकुरी प्रहारबाट मोरङका विक्की लिम्बुको मृत्यु भएको छ ।
शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित गैरीगाउँमा मकवानपुरका मनिस बानियाको समूहले हानेको खुकुरी प्रहारबाट काठमाडौंको सुकुम्बासी टोल बस्दै आएका लिम्बुको मृत्यु भएको हो ।
दिउँसो १ बजे बानियाको समूहको आक्रामणबाट लिम्बु र अनिल श्रेष्ठ घाइते भएकामा उपचारको क्रममा लिम्बुको मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
घटनालगत्तै महाशाखाबाट खटिएको टोलीले साँझ साढे ६ बजे तार्केश्वर नगरपालिका –७ साङ्लाबाट अभियुुक्त मनिष र साङ्लाकै महेश परियारलाई पक्राउ गरेको छ ।
मृतक लिम्बु तथा घाइते अनिलसँग मनिसको आर्थिक लेनदेनको कारोबार रहेको र सोही विषयमा विवाद हुँदा घटना घटेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये मनिष यसअघि पनि ज्यानमार्ने उद्योग र लागू औषध मुद्दामा पक्राउ परी छुटेको खुल्न आएको प्रहरीले जनाएको छ ।