
काठमाडौं, २० फागुन — मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीका एमाले जिल्ला कमिटी सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका छन् । एमालेले गर्न थालेको मेची महाकाली अभियान सफल बनाउनको लागि क्रियाशील एमाले कार्यकर्तामाथि मोर्चाका कार्यकताले कालोमोसो दलेका हुन् ।
सप्तरी सदरमुकाममा एमालेको अभियानलाई असफल बनाउन क्रियाशिल मोर्चाका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच भेट भएपछि तनाब बढेको थियो । सोही मौकामा मोर्चाका कार्यकर्ताले चौधरीमाथि कालोमोसो दलेको सप्तरीका एसपी दिनेश लोहोनीले जानकारी दिए । कालोमोसो दलिएपछि झडको स्थिती सिर्जना भएको छ ।
लोहोनीका अनुसार स्थिती नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको छ । अहिले सम्म कुनैपनि अप्रिय घटना घटेको छैन । लोहोनीका अनुसार आफूहरू माथि मोर्चाका कार्यकर्ताले आक्रमण गरेको भन्दै एमालेका कार्यकर्ताहरूले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले कालोमोसो दल्नेलाई पक्राउ गरेर कारबाही गर्ने समेत लोहोनीले जानकारी दिए । ‘कसले कालोमासो दलेको हो अहिले सम्म पत्ता लागेको छैन,’ लोहोनीले लोकान्तरलाई भने, ‘पत्ता लाग्ने वित्तिकै पक्राउ गरेर कारबाही अघि बढाउँछौं ।’