
काठमाडौं–प्रस्तावित विधान संशोधनको बारेमा साझा धारणा बनाउन नेपाली काँग्रेसका जिल्ला सभापतिहरू छलफलमा जुटेका छन् ।
नुवाकोटको ककनी भेलामा ६१ जिल्लाका नेपाली काँग्रेसका सभापतिहरु उपस्थित भएका छन् भने बाँकी जिल्लाका सभापतिहरु आउने क्रममा रहेको भेलाको अध्यक्षता गरिरहेका नुवाकोट काँग्रेसका सभापति जगदिश नरसिंह केसीले बताए । भेला भोलि सकिनेछ ।
बुधबार(आज)को भेलामा १७ जना जिल्ला सभापतिले आफ्नो धारणा राखेको र अन्यले क्रमैसँग राख्ने छन् । लोकान्तरसँग कुराकानी गर्दै केसीले भेलाले प्रस्तावित विधानका विषयमा समान धारणा बनाउने बताए ।
‘प्रस्तावित विधान संशोधनको मुद्दामा जिल्ला सभापतिहरूको समान धारणा बनाउने उद्देश्यका साथ भेलाको आयोजना गरिएको हो’ केसीले भने,‘भेलामा अधिकांश सदस्यहरू फरक मत सहित विधान पारित हुनुपर्ने पक्षमा छन् ।’
केसीले यो भेला कुनै गुट उपगुटको पक्षमा शक्ति प्रदर्शन गर्नका लागि नभएको स्पष्ट पारे । ‘यो भेला कुनै गुट उपगुट या कुनै शक्ति प्रदर्शन गर्नको लागि राखिएको होइन’ केसीले भने, ‘अब हामी कुनै गुट उपगुट चिन्दैनौं, हामी हाम्रो, काँग्रेसको र देशको भविष्यप्रति चिन्तित छौं ।’
उक्त भेलामा काँग्रेस सभापति शेरबहादुर देउवाको उपस्थिति रहने भनिएता पनि देउवा उपस्थित भएनन् । जिल्ला सभापतिमा संस्थापनइतरको बहुमत छ । पार्टीका कोही पनि शीर्ष नेतालाई नबोलाइएको आयोजक केसीको दाबी छ ।
काँग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको विधानमा मंसिर १३ गतेदेखि दफावार छलफल हुँदैछ । स्थानीय निकाय, जिल्ला र प्रदेशबाट केन्द्रमा उपस्थिति जनाउने प्रतिनिधिको संख्या, सभापतिले मनोनयन गर्न पाउने सदस्यको संख्या, सदस्यता वितरण लगायतका मुद्दामा काँग्रेसका नेताहरू विभाजित छन् । प्रस्तावित विधान संशोधन फरकमतसहित प्रस्तुत गरिएको थियो ।