२६ जेठ २०८३, मंगलबार

देउवाले काँग्रेसको भविष्य डामाडोल पार्न खोजेको जिल्ला सभापतिहरुको निष्कर्ष

मंसिर १३, २०७५
देउवाले काँग्रेसको भविष्य डामाडोल पार्न खोजेको जिल्ला सभापतिहरुको निष्कर्ष

काठमाडौं– नुवाकोटको ककनीमा भेला भएका नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

६४ जिल्लाका सभापतिहरु एक ठाउँमा भेला भएर प्रस्तावित विधान संशोधन, पार्टी नेतृत्व लगायतका विषयमा एकमत धारणा बनाउने जनाएका छन् ।

बुधबार(हिजो)को भेलामा १७ जना जिल्ला सभापतिले आफ्नो धारणा राखेको र अन्यले आज राख्ने क्रम जारी रहेको भेलाको संयोजन गरिरहेका नुवाकोट काँग्रेसका सभापति जगदीश नरसिंह केसीले जनाकारी दिए । उनका अनुसार भेलालले प्रस्तावित विधानका विषमा समान धारणा बनाउने छ । 

‘प्रस्तावित विधान संशोधनको मुद्दामा जिल्ला सभापतिहरूको समान धारणा बनाउने उद्देश्यका साथ भेलाको आयोजना गरिएको हो’ केसीले भने, ‘भेलामा अधिकांश सदस्यहरू फरक मत सहित विधान पारित हुनुपर्ने पक्षमा छन् ।’

भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिहरूले शेरबहादुर देउवाको नेतृत्वमा पार्टी सही ढंगमा चल्न नसकेको आरोप लगाएका छन् । 

‘भेलामा बोल्ने धेरै जसो नेताहरुले वर्तमान नेतृत्व(शेरबहादुर देउवा) निकम्मा बनेको, गुट उपगुट खडा गरेको र कांग्रेसको भविष्य डामाडोल पार्न खोजेको बताइरहनु भएको छ’ केसीले भने । 

त्यस्तै पाल्पा जिल्लाका काँग्रेस सभापति वीर बहादुर रानाले भेला कुनै गुटको नभएको भन्दै पार्टीलाई सहीबाटो ल्याउने प्रयास आफूहरुले गरेको बताएका छन् ।

उनले पार्टीभित्र देखिएका असमझदारीहरूलाई एकमतले हल गर्ने दिशातर्फ छलफल केन्द्रीत भएको बताए । 

रानाले भने, ‘नेपाली काँग्रेस विधानसम्मत चलेको छैन, पार्टीलाई ट्रयाकमा ल्याउनको लागि हामीले सर्वसम्मत रूपमा विधान ल्याउन जरूरी छ, त्यो भन्दा बाहेक विधानको हुबहु कार्यान्वयन गर्ने मेकानिज्म बनाउन जरूरी छ, हामी त्यसमै केन्द्रीत भएर छलफलमा जुटेका छौं ।’

आजै (विहिबार) बाट चल्ने काँग्रेस केन्द्रीय समितिको बैठकमा प्रस्तावित विधान संशोधनको बारेमा दफावार छलफल चल्ने बताइएको छ । मुख्य विवादका रूपमा रहेका पार्टी सदस्यता, पदाधिकारी संख्या लगायतका विषयमा सहमति जुट्ने सम्भावना कम देखिएको छ । ‘यी विषयहरूलाई सही र सहज ढंगले हल गर्नको लागि हामीले जिल्ला सभापतिहरूको तर्फबाट केन्द्रीय समितिलाई सल्लाह र सुझाव दिनेछौं’ राना भन्छन् ‘भोलिको काँग्रेसलाई हामीले चलाउने हो, हामीलाई अमान्य हुने कुराहरू हामीले मान्दैनौं ।’

‘काँग्रेसभित्र गुट उपगुटको राजनीति मौलाइरहेको भन्दै त्यसलाई हल गर्नुपर्ने र हरेक निर्णय सर्वसम्मत ढंगबाट कार्यान्वयन गर्न जोड दिनुपर्ने जिल्ला सभापतिहरूको राय छ’ राना अगाडि थप्छन्, ‘हाम्रो यो भेला कुनै गुट–उपगुट नेता वा कुनै विचार समूह पक्षीय छैन । हामी नेपाली काँग्रेस विधान, नियमसम्मत ढंगबाट चल्नुपर्छ भन्नेमा दृढ छौं ।’ 

महाधिवेशनमा आफ्नो प्रभाव जनमाउनका लागि यस्ता भेला हुनु स्भाविक भएको रानाको मत छ । उनले भने,‘यो स्वाभाविक हो । नेपालको सबभन्दा ठूलो लोकतान्त्रिक पार्टीको नेतृत्वमा पुग्ने इच्छा जो कोहीलाई पनि हुने गर्दछ’  तर राना स्वीकार्छन, नेतृत्वमा पुग्ने प्रतिस्पर्धा चाहिं स्वस्थ हुनुपर्छ । यसले समग्र नेपाली काँग्रेसलाई कमजोर बनाउनु हुँदैन । 

भेलामा पार्टी सभापति शेरबहादुर देउवा पक्षीय जिल्ला सभापतिकोहरुको उपस्थित कम देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्