काठमाडौं–संघीय संरचना अनुसार काँग्रेसको संशोधित विधान मस्यौदामाथि विहीबारबाट केन्द्रीय समितिमा छलफल शुरु हुँदैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ११ बजेबाट बैठक शुरु हुने भनिएपनि १ बज्दासम्म बैठक शुरु हुन सकेको छैन ।
पार्टी पदाधिकारीहरु गुटगत छलफलमा जुटेपछि निर्धारित समयमा बैठक शुरु हुन नसकेको काँग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमिति बैठकमा प्रस्तुत गरिने संशोधिन विधानको मस्यौदा अध्ययन गर्न केन्द्रीय सदस्यहरुलाई ३ दिनको समय दिइएको थियो ।
विधानमा रहेका असहमतिका विषयलाई केन्द्रीय कार्यसमितिमा छलफल गरि टुंग्याउने प्रयास बैठकले गर्नेछ ।
प्रस्तावित विधानमा पदाधिकारी बढाउने, सदस्यतासम्बन्धी व्यवस्था लगायतमा विवाद छ ।
यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टछुट्टै गुटगत भेला गरेका छन् ।
बुधबार देउवाले आफूपक्षधर पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफल गरेका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलाले आफू निकट पदाधिकारी र केन्द्रीयसदस्यहरुसँग छलफल गरेका थिए ।