
सुर्खेत – कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदी रहेको पाइएको छ ।
२०३२ सालमा निर्माण गरिएको जिल्ला कारागार भवनमा ७५ जना कैदी अट्ने क्षमता भएपनि २ सय ४४ जना कैदीले कोचिएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
‘क्षमताभन्दा दोब्बर बढी कैदी कारागारमा भएका कारण बस्न समस्या भएको छ,’ कारागारका नाइके नवराज देवकोटाले भने, ‘कम्तिमा राम्रोसँग बस्ने ठाउँ समेत अभाव भएको छ । कैदीबन्दीलाई जाडोयाममा असाध्यै समस्या भएको छ ।’
जाडोयाम शुरू भइसकेका कारण बाहिर बस्न नमिल्ने, कोठामा खुट्टा राख्ने ठाउँ नै नहुने बाध्यताबीच कैदीले कैद सजाय काटिरहेको उनले बताए । ‘कैदीले कोच्चिएर बस्नुपर्ने बाध्यता आइलागेको छ,’ उनले भने, ‘पर्याप्त कोठा नहुँदा हामीलाई सुत्न र बस्न गाह्रो भइरहेको छ ।’
सुर्खेत जिल्ला कारागारमा हाल सबैभन्दा बढी जबर्जस्तीकरणी मुद्दाका कैदी सजाय भोगिरहेका छन् । जबर्जस्तीकरणी गरेको आरोपमा २४ जना थुनुवा रहेका छन् । कारागारमा ४६ जना पुरुष र १ जना महिलाले जबर्जस्तीकरणीमा सघाएको मुद्दामा जेल सजाय भोगिरहेका छन् ।
कर्तव्यज्यान मुद्दा अन्र्तगत ११ जना थुनुवा पुरुष कैदी छन् भने ३७ जना पुरुष कैदीले सजाय काटिरहेका छन् । ६ जना महिलाले मुद्दामा सजाय भोगिरहेका छन् ।
लागूऔषध मुद्दामा १३ जना पुरुष र १ महिला थुनुवा छन् भने ३१ जना पुरुष र ४ जना महिलाले जेल जीवन बिताइरहेका छन् ।
अदालतमा बहुविवाह तथा बालविवाहको मुद्दामा ६ जना पुरुष र १ जना महिला थुनुवा छन् भने १० जना पुरुष र ५ जना महिला कैदी छन् । कारागारमा सवारी ज्यान मुद्दामा ५ जना, ज्यान मार्ने उद्योगमा ८ जना, जबर्जस्तीकरणी उद्योगमा १ जना, अपहरण तथा शरीर बन्धकमा २ जना, चेलिबेटी बेचबिखन मुद्दामा ८ जना कैदी छन् ।
सार्वजनिक अपराध मुद्दामा ४ जना, डाँकाचोरी मुद्दामा ५ जना, कीर्ते मुद्दामा ६ जना, खोटा चलन अंगभंग मुद्दामा २ जना र विविध मुद्दा अन्तर्गतमा १ जनाले कारागारमा बिताइरहेका छन् ।
कारागारमा ७४ पुरुष र ४ महिला गरी ७८ जना थुनुवा छन् । कैदीतर्फ १ सय ४८ पुरुष र १६ महिला गरी १ सय ६४ जना कारागारमा छन् । कारागारमा २ सय २२ पुरुष तथा २० महिला गरी २ सय ४२ जना र २ आश्रित बालबालिका गरी २ सय ४४ जना रहेका जनाइएको छ ।