धान उत्पादन अहिलेसम्मकै उच्च, खाने भुँडी बढ्दा चामलको आयात बढ्यो

काठमाडौं – कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले खाने भुँडी बढेका कारण चामल तथा अन्य खाद्यान्नको आयात बढेको बताएको छ ।

मन्त्रालयले यस वर्षको धान उत्पादनको तथ्याङ्क सार्वजनिक गर्दै धानको उत्पादन बढेको र खाने भुँडी बढेका कारण आयात समेत नरोकिएको बताएको हो ।


Advertisement

यस वर्ष धानको उत्पादन अहिलेसम्मकै बढि रहेको जानकारी मन्त्रालयले  दिएको छ ।

मन्त्रालयका सचिव युवकध्वज जिसिका अनुसार यसवर्ष धानको उत्पादन ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको छ ।


Advertisement

यो उत्पादन गत वर्षको तुलनामा ८ दशमलव ८९ प्रतिशतले भएके वृद्धि हो ।

गत वर्ष धानको उत्पादन ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धानक उत्पादन भएको थियो ।

तर, चालु आर्थिक वर्षको पहिलो चार महिनामै ९ अर्ब रुपैयाँ बढिको चामल आयात भएको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ ।

धानको उत्पादन निरन्तर बढिरहेको भएपनि आयात किन घट्न सकिएन भन्ने पत्रकारको जिज्ञासामा सचिव जिसिले खाने मुख र भुँडी बढेका कारण आयात झन बढ्दै गएको बताए । ‘नेपालले धान निर्यात गर्दा नेपालमा धानको उत्पादन १० लाख मेट्रिक टन थियो’ उनले भने, ‘त्यतिबेला खाने मुख पनि १ करोड मात्रै थिए । अहिले खाने मुख र खाने भुँडी तीन करोड पुगिसक्यो, ।’

त्यस्तै उनले नेपालीहरुले खाने कुरा देखि लाउने कपडा सम्ममा अन्तर्राष्ट्रियकरण गरेका कारण आयातमा झन मदत पुगेको समेत बताए ।

नेपालीहरुले यही उत्पादन भएको चामल खान नरुचाउने भएका कारण पनि चामलको आयात बढेको उनको भनाई थियो । ‘यही उत्पादन भएको मोटो चामलको खाँदा नेपालीले चालमको आयात गर्नु पर्दैन थियो’ उनले थपे, ‘हामीले खाने कुरा देखि लाउने सबै कुरामा ग्लोब्लाइजेसन भइसकेको छ, ।’

मन्त्रालयका अनुसार यस वर्ष धानको रोपाई हुने क्षेत्रफल पनि बढेको छ । यस वर्ष मुलकभरि कुल  १४ लाख ९१ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा रोपाई गरिएको थियो ।

यो रोपाई गत वर्षको तुलनामा ७ दशमलव २७ प्रतिशतले बढेको  मन्त्रालयले जानकारी दिएको छ ।

गत वर्ष मुलुकभरि कुल १४ लाख ६९ हजार ५ सय ४५ हेक्टर क्षेत्रफलमा रोपाई भएको मन्त्रालयको तथ्याङ्क रहेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार सबै भन्दा बढि रोपाई दुई नम्बर प्रदेशमा भएको छ । दुई नम्बर प्रदेशमा ४ लाख १९ हजार ६ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ ।

सो प्रदेशमा १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादन भएको छ ।

सबै भन्दा कम कर्णाली प्रदेशमा रोपाई भएको छ । कर्णाली प्रदेशमा कुल ३८ हजार २ सय ५७ हेक्टर क्षेत्रफमा धान रोपाई गरिएको छ ।

कर्णाली प्रदेशमा यस वर्षको धानको उत्पादन १ लाख ३३ हजार ५ सय ७९ मेट्रिक टन धान उत्पादन भएको छ ।

यस वर्ष समयमै पानी परेको तथा प्राकृतिक प्रकोप समेत नआएकोले धानको उत्पादनमा निकै मदत पुगेका मन्त्रालयका अधिकारीहरुको भनाई थियो ।

कृषि विकास मन्त्रलायले हालको आधारले प्रक्ष्येपण गर्दा नेपाललाई वार्षिक ६१ लाख मेट्रिक टन धान आवश्यक रहेको जानकारी गराएको छ 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्