काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले तराई, मधेश र थरुहट आन्दोलनका क्रममा भएको दमनवारे छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठन भएको आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ ।
राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकको विषेश समयमा राजपाका वृषेसचन्द्र लालले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले सत्यलाई लुकाउन खोजेको आरोप लगाएका हुन् । ३ हजार २ सय ६४ उजुरीको स्थलगत अध्ययन समेत गरी आयोगले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २०७४ मंसिर २९ गते प्रतिवेदन बुझाएको थियो ।
‘आजसम्म यो प्रतिवेदन सार्वजनिक गरिएको छैन, प्रष्ट छ मधेस आन्दोलनका क्रममा राज्यबाट गरिएका दमनको सत्य सत्य अधिकार लुकाएर तराई मधेश र थरुहटका जनताको अधिकार खोस्दैछ’ सांसद लालले भने, ‘सत्यलाई लुकाउन खोजेको छ, बास्तविकता खुल्ने डरले ।’
राज्यले तराइ मधेश र थरुहटका जनताप्रति विभेदपूर्ण र दमनको नीति लिएको भन्दै उनले घटनाको बास्तविकताबारे जानकारी गराउन लाल आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरे ।