परिवारसँग बसेर हेर्न नमिल्ने महोत्सव : मौलिकताभन्दा विकृतिको केन्द्र !

विपिन आचार्य
विपिन आचार्य

नेकपाको युवा संगठनमा आवद्ध आचार्य समसामयिक विषयमा लेख्छन् ।

काठमाडौं - ठूला-ठूला मेला वा उत्सवलाई महोत्सवका रूपमा परिभाषित गरिएको छ । यद्यपि हाट बजारको विकसित रूप नै महोत्सवलाई हो भन्ने पनि मत छ । औद्योगिक व्यापार मेला, पर्यटन, कृषि, खेलखुद, खाद्यान्न, कला साहित्य र स्थानीय जाति विशेष महोत्सव हुने गरेका छन् । मुख्यत: लगानीका हिसाबले धेरै हुने भएकाले व्यापारिक महोत्सवलाई नै प्रधान मानिन्छ । समृद्ध मुलुक बनाउन यस्ता किसिमका आयोजनले पनि सहयोग गर्दछन् ।

अहिले बजारमा व्यापारिक महोत्सव कुनै सन्दर्भ विशेषमा सधैँ हुने गर्छन् । नेपाली नयाँ वर्ष, अंग्रेजी नयाँ वर्ष र हिउँद महिनामा नेपालका प्रमुख शहरमा व्यपारिक महोत्सव हुने गर्दछन् । दैनिक प्रयोग र प्रचलनमा आएका समानहरू महोत्सवका आकर्षणका रूपमा राखिएको हुन्छ । महोत्वलाई नयाँपन दिने उद्देश्यले स्थानीय विशेष पनि हुने गरेका छन् । व्यापारिक महोत्सवमा आफूले उत्पादन गरेका सामानको प्रदर्शन गर्ने, तिनैबाट आम्दानी गर्ने उद्दश्यले स्टलहरू निर्माण भएका हुन्छन् । अर्कोतर्फ महोत्सवले रोजगारी पनि दिएको हुन्छ । महोत्सव आयोजनाले नेपालको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको छ ।


Advertisement

नेपालका ठूला शहरमा दैनिकजस्तै महोत्सव हुने गरेका छन् । आजकल गाउँमा पनि शहरको प्रभावले सन्दर्भ विशेष महोत्सव हुने गरेका छन् । गाउँमा हुने महोत्सव शहरको जस्तो धेरै तामझाम भने हुँदैन । गाउँमा हुने महोत्सवमा स्थानीय जनताको लगानी र मेहनतमा सञ्चालन हुन्छन् । यस्तो लाग्छ, गाउँमा हुने मेला अर्ग्यानिक महोत्सव हुन् ।

महोत्सवबाट पुराना आम्दानीका स्रोतहरू नयाँ पुस्ताले थाहा पाउने अवसर आयोजकले दिनु सकारात्मक हो । यसले लोप हुँदै गएका घट्ट, डिकी, जाँतो, माटाका भाँडा र ठेकाको महत्त्व बोध गराएको छ । झाँकीहरू प्रदर्शनले संस्कृति संरक्षण योगदान पुर्‍याएका हुन् ।


Advertisement

महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रबद्धन गरेका हुन्छन् । विदेशी पर्यटकहरू नेपाली स्थानीय मौलिकता हेर्नका निम्ति टाढाबाट आएका हुन्छन् । महोत्सवले पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुगेको छ ।

महोत्सव समाजको अध्ययन गर्ने अवसर पनि हो । महोत्सव उद्घाटनको दिनमा लोप हुन लागेका भाषा, संस्कार, संस्कृति प्रदर्शन हुने गर्दछन् । शिष्ट, सभ्य र भव्य कार्यक्रमले मनोरञ्जन तुल्याउने अपेक्षा आयोजकको हुन्छ । यद्यपि अहिले महोत्सव आयोजकले भनेजस्तो अन्य दिनमा देख्न पाइँदैन ।

स्थानीय स्तरमा उत्पादित वस्तुको प्रचार पनि कमै देख्न पाइन्छ । यस्ता किसिमका कार्यले महोत्सवको गरिमामाथि बारम्बार प्रश्न उठ्ने गर्छ । आजकल महोत्सवमा भद्दा किसिमका कार्यक्रम प्रदर्शन हुने गरेका छन् । स्टेज कार्यक्रममा रफ बोल्ने, गलत आशय लाग्ने शब्द उच्चारणले महोत्सवको आयोजनाको राम्रो उद्देश्यले भए पनि सकारात्मक सन्देश दिनै सक्दैन ।

साझँको पप कन्सर्ट नभई रफ कन्सर्टमा परिणत हुँदैछ । दिउँसो अर्धनग्न प्रस्तुति हुन्छन् । कतिपय स्टेज कार्यक्रम परिवारसँगै बसेर हेर्न मिल्दैन । यस्ता पात्रलाई सञ्चार माध्यम र आयोजकले स्थान दिनु हुँदैन । यस्ता किसिमका गतिविधिले महोत्सवको गरिमाको उपहास मात्र भएको छ । यस्ता गतिविधिले सिङ्गो नेपाली मौलिक संस्कारमाथि नै आँच पुर्‍याएको छ । यसप्रति आगामी दिनहरूमा आयोजक गम्भीर हुन आवश्यक छ ।

अर्कोतर्फ व्यापारिक महोत्सव हेर्न आउने दर्शकलाई बाहिर उत्पादन भएका कम मूल्यमा पाइने सामानलाई महङ्गोमा बेच्ने गरिन्छ । खासमा औद्योगिक व्यापार मेलाको उद्देश्य सुपथ मूल्य सम्पूर्ण सामन उपलब्ध गराउने हो । महोत्सवमा आउने व्यक्तिले व्यस्थ खर्च गरेको महसूस गराउनेभन्दा स्वतस्फुर्त गराउनेतर्फ आयोजकको ध्यान हुनुपर्छ ।

अर्कोतर्फ महोत्सवमा ध्वनि प्रदूषण व्याप्त छ । मतिष्क नै खल्बल्याउने गरी पर्दशन केन्द्र वरिपरीका सार्वजनिक स्थान, बाटो, प्रतिक्षालय शान्त वातावरण हुँदैन । घरमा बच्चादेखि वृद्धसम्मलाई प्रत्यक्ष असर परेको हुन्छ । यसतर्फ आयोजकले कमै ध्यान दिएको देखिन्छ ।

समाजलाई सही दिशाबोध गराउने महोत्सवमा स्टेज कार्यक्रम गर्नु पर्दछ । महोत्सव समाजको ऐना हुनुपर्ने हो । तर अहिले विकृति र विसंगतिको प्रदर्शन बन्न खोजेजस्तो देखिन्छ । यसैकारण वर्तमान समयमा महोत्सवको क्रेज दैनिक घट्दो क्रममा छ । यस्ता क्रियाकलापले सिङ्गो नेपाली मौलिक संस्कारमाथि गहिरो असर पर्दैछ । अधिकांश युवामा नकारात्मक प्रभाव पर्ने सम्भावना छ ।

महोत्सव आयोजनमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ । परन्तु धेरै आम्दानी गर्ने उद्देश्यका कारणले आयोजकले मौलिक संस्कार, संस्कृति र स्वदेशी उत्पादनलाई थोरै प्रथामिकता दिएका छन् । यस्तो अवस्थामा महोत्सवबारे सरकारले कडा नीति बनाउन जरुरी देखिन्छ ।

आगामी दिनमा युवालाई सचेतनामूलक शिक्षा दिने कार्यक्रमतर्फ महोत्सवका आयोजकहरू गम्भीर हुन जरूरी छ । महोत्सवहरू पश्चिमा वा पूर्वी देशका प्रभावमा नभई नेपालको आफ्नो मौलिकतामा गर्नु पर्दछ । यस्ता किसिमका महोत्सवले मात्र आफ्नै पहिचान संरक्षण हुन्छ ।

विपिन आचार्य
विपिन आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्