
काठमाडौं – दुई नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा आएका छन् । ती चलचित्र हुन्, ‘जय श्री दाम’ र ‘जे सुकै होस्’ ।
निर्माण युनिटका अनुसार ‘जय श्री दाम’ सोसियल कमेडी चलचित्र हो । आर्थिक स्थिति कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटो र यसक्रममा एक ढोंगी बाबासँगको भेटपछि उत्पन्न हुने परिस्थिति वरिपरि चलचित्र घुमेको निर्माण टीमको भनाइ छ ।
विप्लव उप्रेतीको निर्देशनमा बनेको चलचित्रमा अमृत ढुंगाना, जेबिका कार्की, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटालगायत लिड रोलमा छन् ।
चलचित्रको निर्माता लामो समयदेखि सम्पादनमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका मित्र डी. गुरुङ रहेका छन् । सिनेमाटोग्राफर रविन आचार्य सह–निर्माता छन् ।
चलचित्रमा निर्देशक उप्रेतीसँगै अमरद्वीप सापकोटाको पटकथा रहेको छ । चलचित्रको कार्यकारी निर्माता पृथ्वी उप्रेती र मनोज उप्रेती हुन् ।
आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो, ‘जे सुकै होस्’ कुलतमा फसेका युवाको दैनिकीको कथामा बनेको चलचित्र हो । केही दिनअघि सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा दुईअर्थी संवादलाई प्राथमिकता दिइएको थियो ।
उमेश गुरुङ निर्देशित चलचित्रमा चन्दा ढकाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, ए.बी अञ्जानन लगायतका कलाकारको अभिनय छ ।
नवराजजंग थापा (जंगे) ले चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा निर्देशक स्वयं प्रमुख भूमिकामा छन् । सरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डी.आर अटुको संगीत रहेको चलचित्रका गीतमा राजेशपायल राई, मेलिना राई, मिना निरौला, सुधा रत्न, रूपक श्रेष्ठ र विनोद राईले स्वर भरेका छन् ।
बनिश शाह र शालिक दुलालले सम्पादन गरेको चलचित्रमा निर्देशकको नै कोरियोग्राफी छ ।