परराष्ट्र सम्बन्धका परिवर्तित आयाम

‘नेपालप्रति विश्वास बढेको छ, नेपालप्रतिको आकर्षण बढेको छ’। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हिजो आइतवार सम्पादकहरूको एक समूहसितको अन्तर्क्रियाको क्रममा वर्तमान सरकारको पहिलो १० महिनामा आफूले जिम्मा लिएको मन्त्रालय मातहतका काम-कारवाहीको मूल्याङ्कन सुनाउनुभएको हो । समीक्षाको यो निचोड दिँदा मन्त्री महोदयबाट आफ्नो कथनको पुष्टिमा केही सूचना, बुँदा र विवरण आएका छन्‌ जसको आधिकारिकताबारे सन्देह गर्नु परेन ।

विवेच्य अवधिमा परराष्ट्र सम्बन्धतर्फ सरकारले गरेका कतिपय पहल सार्थक हुने अनुमान गर्न सकिन्छ पनि । प्राथमिकतामा क्रमश: छिमेक, विकास साझेदार, श्रम-गन्तव्य मुलुक र बहुपक्षीय महत्त्व राख्ने देशहरू पारेर तदनुरूप सन्तुलित ढङ्गले सम्बन्ध विकास गर्ने प्रयत्नको वचनबद्धता मन्त्री ज्ञवालीले सात महिनापहिले आइतवारकै जस्तो जमघटमा जनाउनुभएको थियो ।


Advertisement

राजनीतिक भूगोलले नेपाललाई विशिष्ट स्थानमा राखिदिएको हुनाले यहाँ जे-जस्तो पृष्ठभूमिको सरकार स्थापित भए पनि भारत र चीनसँगको सम्बन्ध निकट एवं सन्तुलित तहमा राखेकै हुन्छन् । यसमा राजतन्त्र वा गणतन्त्र भन्ने कुरा आएन । आधुनिक नेपालको जग बसाल्ने राजा पृथ्वीनारायण शाहले दुई ढुङ्गाबीचको तरुलको उपमा दिँदा पनि दुवैतर्फ समझदारी राख्ने मार्गदर्शन गरेका हुन् ।


Advertisement

२००७ सालपछिको नेपालको परराष्ट्र सम्बन्धबारे गहन अध्ययन गर्ने र भारत र चीन दुवै देशमा राजदूतको जिम्मेवारी सम्हाल्ने विद्वान् प्रोफेसर यदुनाथ खनालको पुस्तकमा पनि सँधियार मुलुकसितको सम्बन्धलाई बलियो टेको दिने काम नेपाल आफैंले गर्नुपर्छ, अरूको राय-सल्लाहबाट बहकिनुहुँदैन भनेर लेखिएको छ । मन्त्री ज्ञवाली यस्ता मूलभूत पक्षबारे पक्कै पनि जानकार हुनुहुन्छ ।
 
छिमेकीसितको सन्धि-सर्पन मिलाउने विषयले परराष्ट्रमन्त्री तथा मन्त्रालयको श्रम, समय र स्रोत बढी खपत गराउने यथार्थलाई यथोचित महत्त्व दिँदै नेपालले सार्क, बिमस्टेक, शाङघाइ कोअपरेसन जस्ता क्षेत्रीय प्रयासहरूमा आफ्नो सहभागिता बढाउँदै जानु उपयुक्त नै हुन्छ ।

संयुक्त राष्ट्रसंघ र शान्ति स्थापना लगायतका अन्य अन्तर्राष्ट्रिय कृयाकलापमा सुहाउँदो संलग्नता पनि वाञ्छनीय नै हो यद्यपि राष्ट्रसंघको बडापत्र (चार्टर) का कतिपय प्रावधान समय-सापेक्ष नभएको तथ्यलाई नेपालले उपेक्षा गरिरहन सक्दैन । सुरक्षा परिषद्को अस्थायी सदस्य भएर दुईपल्ट काम गरिसकेको नेपालले त्यसका पाँच स्थायी सदस्य सम्बन्धको हालको व्यवस्था परिवर्तित सन्दर्भमा अपर्याप्त छ भन्ने कतिपय सदस्य-राष्ट्रको अवधारणा एउटा यस्तै दृष्टान्त हो । त्यस्तै, भूपरिवेष्टित राष्ट्रका समस्याबारे नेपालको मान्यता भारत र चीनको भन्दा बेग्लै हुनजान्छ ।
 
विद्यमान सम्बन्धलाई तिनका आयाम अनुकूल सञ्चालन गर्दै नेपालको आर्थिक प्रगतिलाई सही दिशामा डोञ्याउन परराष्ट्र मन्त्रालयले समय-सुहाउँदा संयन्त्र निर्माण गरी क्रियाशील तुल्याउनु आवश्यक छ । योग्य र दक्ष कूटनीतिक जनशक्ति उपलब्ध नभैकन इच्छित नतीजा वा प्रतिफल प्राप्त हुन सक्दैन । वास्तवमा नेपालका कूटनीतिक सेवाका कर्मचारीको सोच र योजना छिमेकका तिनका समकक्षीको भन्दा छिटो र छरितो हुनु जरूरी छ । तर यस दिशामा वर्तमान सरकारले अग्राधिकारका परियोजना सञ्चालन गरेको देखिएको छैन ।
 
ओली सरकारको समग्र कार्यप्रगतिका सूचक विवादास्पद र कमजोर रहेको परिप्रेक्ष्यमा यसको परराष्ट्र सम्बन्ध फाँट मात्र सक्रिय वा सबल भएर पुग्दैन । त्यसो हुनाले मन्त्री ज्ञवालीका दाबी र पहललाई यस बृहत् सन्दर्भ बाहिर राखेर हेर्न मिल्दैन, धेरै हौसिन पनि सकिँदैन ।

कमेन्ट गर्नुहोस्