काठमाडौं २५ फागुन–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीमा सोमवार भएको झडपमा ७ जनाको हत्या भएको दावी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधवार मोर्चाले बुझाएको ज्ञापनपत्रमा ७ जनाको हत्या भएको दाबी गरिएको छ । ‘२०७३ साल फाल्गुन २३ गते सप्तरीमा शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम गरिरहेका जनतामाथि सरकारले गोली हानेर ७ जनाको हत्या र दर्जनौं घाइते बनाएको छ र कयौंको गिरफ्तारी गरिएका घटनाले हामीले सरकारलाई दिएको समर्थनलाई यस्तो अवस्थामा निरन्तरता दिने अवस्था नरहेको समेत जानकारी गराउन चाहन्छौं’ मोर्चाको विज्ञप्तीमा लेखिएको छ ।
स्थानीय प्रशासन र प्रहरीले भने बुधवार थप एक जनाको समेतगरी चारजनाको मृत्यु भएको जनाएको छ । दुई दिनअगाडि प्रहरीको गोली लागेर घाइते भएका सप्तरी मलेठ–२ का २२ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको सरकारी समाचार संस्था राससले जनाएको छ ।
तस्वीरः एफपी