
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
खड्काले पदमा रहँदा अवैध रुपमा १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ आर्जन गरेको भन्दै अख्तियारले सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले खड्कासँग १८ करोड १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ बिगो तथा जरिवाना असुल र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को (२) अनुसार २ वर्ष कैद माग गरेको विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
अख्तियारद्वारा विशेष अदालतमा दायर भएको अभियोगपत्रमा खड्काले गैरकानूनी रुपमा सम्पत्ति गरी अमिल्दो र अस्वभाविक रुपमा जीवनयापन गरेको दावी पनि गरेको छ ।
आयल निगमको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त हुँदादेखि नै विवादित बनेका खड्का पछि देशका विभिन्न ठाउँमा इन्धन भन्डारण निर्माण गर्ने नाममा जग्गा खरिद गरेर अनियमितता गरेको भन्दै चर्चामा आएका थिए । संसदीय समितिले आयल निगमको जग्गा खरिदमा आर्थिक चलखेल भएको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले उक्त प्रकरणको छानबिन थालेकाे थियो ।
जग्गा खरिद प्रकरणमा संलग्नता देखिएपछि खड्कालाई सरकारले जिम्मेवारीविहीन बनाएर मन्त्रालय तानेको थियो । मन्त्रालयमा हाजिर मात्रै लगाउँदै आएका खड्काले गत जेठ २४ गते पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।