
काठमाडौं– सरकारले अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । मानव तस्करी र श्रम शोषणको आरोपमा मुछिएकी शेर्पालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।
मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेको थियो । उनको लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले छानबिन समितिनै बनाएको थियो । छानबिन समितिले उनलाई राजदूतमा निरन्तरता दिन नसकिने ठहरसहितको प्रतिवेदन बुझाएपछि उनी बर्खास्तीमा परेकी हुन् । यद्यपी बर्खास्तीमा पर्ने थाहा पाएसँगै आफ्नो पद जोगाउनको लागि तीब्र दौडधूप गरेपनि त्यो फलदायी हुन सकेन ।
शेर्पामाथि उनकै पूर्वसहयोगी तथा सवारी चालक वाङ्छु शेर्पाले श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । सोलुखुम्बुका वाङ्छुलाई शेर्पाले नै सहयोगीका रुपमा अस्ट्रेलिया लगेको भएपनि पछि शेर्पाको कर्तुत पर्दाफास गरिदिएका थिए ।
वाङ्छुले राजदूतको सहयोगी बन्न आफूले ३३ लाख रुपैयाँ बुझाएको दाबी समेत गरेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले शेर्पालाई तत्कालीन माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो ।
विवादमा तानिएसँगै शेर्पालाई बर्खास्त गर्न सरकारमाथि दवाव बढेको थियो ।