
सप्तरी, २४ फागुन-मधेशी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको सप्तरीस्थित घर तोडफोड गरेका छन् । सप्तरीे प्रहरी कार्यालय नजिकै रहेको यादवको घर मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
आन्दोलनमा उत्रिएका मोर्चाका कार्यकर्ताले स्थानीय एमाले नेता सुमन प्याकुरेलको घरमा समेत तोडफोड गरेका छन् । साथै उनीहरुले सप्तरी जिल्ला निर्वाचन कार्यालयको बोर्ड झिकेर एमाले पार्टी कार्यालय नजिकै लगेर जलाएका सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम कुमार उपाध्यायले लोकान्तरलाई जानकारी दिए । आन्दोलनकारीले निर्वाचन कार्यलयमा पनि तोडफोड गरेका छन् ।
उपाध्यका अनुसार मोर्चाको आन्दोलन आज पनि हिंसात्मक रुपमा अघि बढेको छ । उनका अनुसार मोर्चाका कार्यकर्ताले सडकमा टायर बाल्ने, तोडफोड गर्ने लगायतका गतिविधी गरिरहेका छन् ।
मोर्चाका कार्यकर्ताले सप्तरीमा क्रियाशील एमाले नेता कार्यकर्तालाई धम्की दिएका छन् । मोर्चाको धम्कीको कारणले केही एमाले नेता सदरमुकाम राजविराजमा बसेका छन् भने ग्रामिण क्षेत्रका एमाले नेता कार्यकर्ता घरबाट बाहिर निस्कन सकेका छैनन् ।
सोमबार नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरीमा आयोजित कार्यक्रम विथोल्न खोज्ने मोर्चा कार्यकर्तालाई रोक्ने क्रममा प्रहरीको गोली लागेर चार मधेशीको मृत्यु भएपछि सप्तरीको अवस्था तनावग्रस्त छ ।