२७ जेठ २०८३, बुधबार

संसारभरि केबलकार लोकप्रिय हुँदै गइरहेको छ, किन ?

संसारभरि केबलकार लोकप्रिय हुँदै गइरहेको छ, किन ?

काठमाडौं — संसारभरिका शहरमा जनसंख्या बढिरहेको छ । सडकमा हिँड्नै मुश्किल परिरहेको छ । घन्टौंसम्म जाम हुने गरेको छ । ट्राफिक कम गर्नका लागि जोरबिजोर लगायतका सूत्र लगाइने गरेको छ । 

त्यसैले शहरहरूमा अचेल आवागमनका लागि केबलकारको चलन बढेर गएको छ । 

सन् २००४ मा दक्षिण अमेरिकी देश कोलम्बियाको मेडेलिन शहर पूरै केबलकार र मेट्रोमा आधारित परिवहनयुक्त शहर बनेको थियो । शहरमा मेट्रो सेवाहरू केबलकारसँग जोडिएका थिए । 

त्यतिखेरदेखि संसारका अन्य शहरमा समेत शहरी यातायातका रूपमा केबलकारलाई प्रोत्साहन दिने गरिएको छ । यसलाई दुर्गम क्षेत्रसँग जोड्ने काम पनि भइरहेको छ । 

केबलकारहरू वातावरणको हिसाबमा अन्य सवारीसाधनभन्दा गतिलो छ । यसलाई सेटअप गर्न समेत कम खर्च लाग्छ । 

सबभन्दा पहिले मेडेलिन शहरको कुरा गरौं । यो कोलम्बियाको दोस्रो ठूलो शहर हो । मेडेलिन दशकौंसम्म हिंस्रक अपराधका लागि बदनाम थियो । शहरको बाहिरी र पहाडी इलाकासम्म पुग्न गाह्रो थियो । 

धेरै मानिसलाई जागिर खानका लागि शहरको केन्द्रमा आउन पनि गाह्रो थियो । 

तर सन् २००४ मा शहरले केबलकारहरूमा भारी लगानी गरेर पहाडी बस्तीहरूलाई शहरसँग जोड्यो । 

मेडेलिनको मेट्रो केबल प्रणाली संसारमै आफ्नै किसिमको परिवहन व्यवस्था हो । यसले गर्दा शहरमा अपराध पनि घटेको छ । 

यसको सफलतापछि रुस र अमेरिकामा पनि केबलकारमा आधारित ट्रान्सपोर्ट सिस्टम विकसित गरिएको छ । 

केबलकारका अनेकौं फाइदा छन् । यसले वायु प्रदूषण गर्दैन । अनि रेलमार्ग, सडक वा पुल बनाउनुभन्दा केबलकारको व्यवस्था सस्तो पर्छ । 

सबभन्दा राम्रो कुरा त यसले पहाडी क्षेत्र वा दुर्गम बस्तीलाई मुख्य शहरसँग जोड्न सहायता गर्छ । मेट्रो वा रेलमार्गको खर्चको बोझ उठाउन नसक्ने मानिसका लागि केबलकार राम्रो विकल्प हो । 

यो यात्रामा दृश्यावलोक गर्न पाउनु अर्को रमाइलो पक्ष हो । 

विश्व बैंकको एक अध्ययनअनुसार, केबलकारले तय गर्ने दूरीको वैश्विक औसत लगभग २.७ किलोमिटर छ । यी लाइनहरूमा ८०० मिटरको दूरीमा स्टेसन हुन्छन् । यिनीहरूको औसत गति १० देखि २० किलोमिटर प्रतिघन्टा हुन्छ ।
हरेक घन्टा केबलकारबाट लगभग दुईहजार मानिस एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन् । 

दिनभरि एउटा केबलकार सिस्टमबाट २० हजारभन्दा बढी मानिसले यात्रा गर्छन् । दक्षिण अमेरिकी देश बोलिभियाको राजधानी ला पाजमा केबलकारहरूले २४ घन्टामा ६५ हजार मानिसलाई उनीहरूको गन्तव्यमा पु–याइदिन्छन् । 

शहरमा ठड्याइएका केबलकारहरू खम्बामा तार राखेर दौडाइन्छन् । 

एउटै खम्बामा दुवैतर्फको यात्राका लागि तारमार्फत केबलकार वा गोन्डोलालाई दौडाउन सकिन्छ । 

स्टेसनमा पुगेर केबलकार अडिन्छ र यात्रुलाई उतार्छन् । अनि घुमेर फेरि जान्छ । 

विश्वका धेरै शहरले उत्साहपूर्वक केबलकार अपनाइरहेका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्