
काठमाडौं– साझा विवेकशील पार्टी फुटाएर संयोजक उज्वजल बहादुर थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिवेदन दिएको खबरले आफूहरु आश्चर्यचकित भएको अर्का संयोजक रवीन्द्र मिश्रले जनाएका छन् ।
शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले केही समययता पार्टीभित्र मतभिन्नता रहेको स्वीकार्दै सो विषयमा सम्बोधनको प्रयास हुँदाहुँदै एकाएक विभाजन गरिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
‘निश्चयनै विगत केही समयदेखि पार्टीमा कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु थिए। पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको पनि थियो। नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमा रहेका यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको थियो।’
पार्टी विभाजनबाट वैकल्पिक पार्टी निर्माणको पवित्र उदेश्यलाई घात मात्रनभई स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यद्यपी पार्टी विभाजनपछि पनि अविचलित रुपमा अघि बढ्ने भन्दै निराश नहुन नेता कार्यकर्तालाई अनुरोध गरिएको छ । ‘हामीलाई विश्वास छ, सम्पूर्ण शुभेच्छुकहरू पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहनुहुनेछ, संपूर्ण पार्टी सदस्यहरु, पार्टी अभियानकर्ताहरू तथा संपूर्ण पार्टी संगठनहरु नियमित रुपमा क्रियाशील रहनेछन्। यस्तो क्रियाशीलता अझ सुदृढ र एकताबद्ध हुनेछ भन्ने हाम्रो विश्वास छ’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै आचार्यको विज्ञप्तिमा पार्टी विभाजन गर्ने थापा र उनको समूहलाई शुभकामना पनि दिएको छ ।
३८ सदस्सीय केन्द्रीय समिति रहेको विवेकशील साझा पार्टीका ४० प्रतिशत बढी केन्द्ीय सदस्य थापा समूहमा लागेको बताइएको छ ।
प्रेस विज्ञप्ति
विवेकशील साझा पार्टीका ३८ जना केन्द्रीय सदस्यहरुमध्ये केही केन्द्रिय सदस्यहरुलाई लिएर संयोजक उज्वलबहादुर थापाले आज पौष २७ गते निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिनुभएको खबरले हामीलाई आश्चर्यचकित पारेको छ।
विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील हुनुहुन्छ।
निश्चयनै विगत केही समयदेखि पार्टीमा कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु थिए। पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको पनि थियो। नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो।
पार्टीमा रहेका यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको थियो। हामीलाई आशा एवं विश्वास थियो – आगामी बैठकमा संयोजक थापा लगायत केन्द्रिय सदस्यहरुले आफ्ना भनाईहरु राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ। र, केन्द्रिय समितिको बैठकमा संपूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ। तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो।
पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उदेश्यलाई घात मात्र भएको छैन, स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको छ। उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ।
यात्राको दौरानमा अवरोधहरु आउँछन्। तर अवरोधहरू खुलेपछि यात्राको गति स्वतः तिव्र हुन्छ। यही विश्वासका साथ पार्टीले पौष ३० गते केन्द्रिय समितिको बैठकको तयारी गरेको छ। सोही बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्नेछ।
हामीलाई विश्वास छ, सम्पूर्ण शुभेच्छुकहरू पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहनुहुनेछ, संपूर्ण पार्टी सदस्यहरु, पार्टी अभियानकर्ताहरू तथा संपूर्ण पार्टी संगठनहरु नियमित रुपमा क्रियाशील रहनेछन्। यस्तो क्रियाशीलता अझ सुदृढ र एकताबद्ध हुनेछ भन्ने हाम्रो विश्वास छ।
विवेकशील साझा पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गरी देशको नेतृत्वदायी भूमिकामा पुर्याउने कुरामा हामी दृढ संकल्पिक छौं। हामीलाई संधैझैं माया गर्ने मतदाता, सुभेच्छुक सुभचिन्तक तथा आम सदस्यहरुसंग निरन्तर सहयोग र समर्थनको अपेक्षा गर्दछौं। विवेकशील साझा पार्टीलाई मूल्य–मान्यतायुक्त लोकतान्त्रिक वैकल्पिक पार्टी बनाउने अभियानमा हामी अविचलीत रहने छौँ। नयाँ दल दर्ताका लागि निवेदन दिनुभएका सबै साथीहरूप्रति शुभकामना व्यक्त गर्न चाहान्छौ।
डा. सूर्यराज आचार्य
प्रवक्ता, विवेकशील साझा पार्टी
मितिः २७ पौष २०७५