
काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा प्रदेश नम्बर १ स्थित मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नम्बर–७ मा शाखा कार्यालय स्थापना गरेको छ ।
माघ १० गते आफ्नो ६४ औं शाखा कार्यालयको रुपमा उर्लाबारीबाट कारोबार शुभारम्भ गरेको छ ।
बैंकका सञ्चालक बलराम बराल तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।
शुभारम्भ कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृतले शाखा प्रदेश नम्बर १ को लागि पहिलोे भएको र बैंकले प्रदेश नम्बर १, २ र ५ का विभिन्न शहर तथा ग्रामीण इलाकामा २० वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरी २३ वटा शाखाको निर्माण कार्य भइरहेको र अन्य क्षेत्रमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भइरहेकोे बताए ।
काठमाडौं–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत् ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
बैंकले एबीबीएस, एसएमसी बैंकिङ, मोबाइल बैंकिङ, सी आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना छ ।