फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
जनकपुरधाम – सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ जीतपुरका राजकिन अधिकारीका बुवा रामबाबु अधिकारीको शुक्रबार राति निधन भयो । जन्ती फर्किरहेको बसमा ११ हजार भोल्टको करेन्ट लाग्दा राजकिन आफैं पनि घाइते भए । उनको जनकपुरधामस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनी अहिले सामान्य अवस्थामा छन्, तर बुवा गुमाउनुको पीडाले भाव विह्वल छन् ।
उनलाई मोबाइलमा आफन्तको फोन आउने गर्छ । उनी बुवा बित्नुभयो छिटो आउनुस् भन्दै अस्पतालको शय्याबाट भक्कानिँदै फोनमा आफन्त गुहार्दैछन् । ‘मेरो बुवा आफ्नो ज्यान जोगाउन पनि सक्नुहुन्थ्यो तर बसमा सवार थुप्रै बच्चाहरूलाई पहिले जोगाउनुपर्छ भन्दै बच्चाहरूलाई बसबाट ओराल्न लाग्दा उहाँको मृत्यु भयो,’ अस्पतालको शय्यामै भेटिएका उनले लोकान्तरसँग भने ।
उनले थपे– बुवा गाउँमा पनि सबैको काममा सहयोग गरिरहनुहुन्थ्यो, जो कसैको पनि मद्दत गर्न कहिल्यै पछि पर्नुहुन्नथ्यो । आज पनि अरूको ज्यान जोगाउन नै उहाँले बढी प्राथमिकता दिनुभयो । आफ्नो ज्यानको परबाह नै गर्नुभएन, रुँदै राजले भने, ‘बस चालकले रक्सी खाएको थियो कि के हो भन्न सकिन्न तर बस माथि रहेको ११ हजार भोल्ट करेन्टको तार छुने बित्तिकै बसलाई अगाडि वा पछाडि धकेलेको भए सबैका ज्यान बँच्थ्यो ।’
त्यही गाउँका महेन्द्र अधिकारीलाई पनि करेन्ट लाग्यो । उनी घाइते भए । अहिले उनी पनि सामान्य छन् । जनकपुर अञ्चल अस्पतालमा उनको पनि अहिले उपचार भइरहेको छ । तर उनले आफ्नै आँखाका अगाडि १५ वर्षीया छोरी लीलालाई बचाउन नसकेकोमा पछुताइरहेका छन् । छोरी नांगै खुट्टाले बसबाट झरेकी थिइन्, तर दुर्भाग्य कस्तो भने भुइँमा पानी रहेछ, त्यसैमा उनलाई करेन्ट लागिरह्यो । उनी भन्छन्, ‘बरु म मरेको भए पनि हुन्थ्यो, तर मेरो छोरीचाहिँ बाँच्नुपथ्र्यो । भगवानले मेरो एक्ली छोरीलाई लिएर गयो ।’
भावविह्वल हुँदै उनले थपे– ‘आफ्नो आँखा अगाडि नै छोरीलाई करेन्ट लागेको थियो । मैले आफ्नो खुट्टामा जुत्ता लगाएका कारण मलाई भुइँमा करेन्ट लागेन, तर छोरीले अय्या पनि भन्न नपाइ यो दुनियाबाट गइन् । अब जिन्दगीभर छोरीलाई बचाउन नसकेकोमा पश्चाताप भइरहन्छ ।’
तीन दाजुभाइकी एक्ली बहिनी लीला ११ कक्षामा पढ्दै थिइन् । ‘एसईई पास गरेर ११ मा पढ्न थालेकाले मैले उनको बिहे गरौँ भनेर सोचेको थिएँ, तर उनकी आमाले अहिले छोरी कलिलै छिन्, बिहे नगरौं भनेपछि बिहे नगरेको,’ उनले रुँदै भने ।
हुन त उनले छोरीलाई जन्ती नजान पनि भनेकै थिए, तर उनका साथीहरू पनि जन्तीमा आउने भएपछि लीलाले जन्ती जान मन गरिन् । आमासँग पैसा मागेर घरबाट निस्केकी थिइन् उनी । महेन्द्रले रुँदै भने, ‘कहिल्यै नफर्किने गरी गइन् । सिलाइ सिकेकी थिइन् । घरमा अफ्नी आमालाई राम्रै सघाउने गरेकी थिइन् । पढ्नमा पनि राम्रो, सबैले माया गर्थे ।’
‘बरु मेरो जिन्दगी त अब कति थियो र म मरेको भएपनि हुन्थ्यो, तर छोरीले त अहिले पुरै जिन्दगी जिउन बाँकी नै थियो, छोरी बाँच्नुपर्ने थियो,’ भन्दै उनले बिलाप गरे । बिलाप गर्दै महेन्द्रले थपे, ‘गाउँमा उसको आमा पनि बेहोश भएकी छन् । डाक्टरले स्लाइन पानी चढाएको छ । मैले उसलाई घर गएर अब के जवाफ दिने ?’
उनका भतिज सुरभ अधिकारी र भाञ्जाको छोरा आक्रोश कुमारको निधन भएको छ ।
त्यसैगरी सोही बसमा सवार फूलकुमारी अधिकारी पनि घाइते भइन् । उनको माइती धनुषाको सबैला नगरपालिकाको बल्तिया भन्ने गाउँमा छ । ससुराली भने सिन्धुलीको दुधौली नगरपालिका हो । माइती र ससुराली दुवै पक्ष आफन्त भएपछि बिहेमा निम्तो मानेर उनी मइती आएकी रहिछन् । बिहे सकिएपछि जन्ती फर्किने बसमै चढेर जन्तीसंगै घर फिर्ता भइरहेकी थिइन्, उनी । फर्किने बेला उनले आफ्नो आमा केसमदेवी कुँवरलाई पनि लगिरहेकी थिइन् । त्रिवेणी मेला हेरौं भन्दै आमालाई कर गरेर लगिरहेकी थिइन् । तर, उनको आमाको पनि करेन्टले ज्यान लियो ।
जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी फूलकुमारीले भनिन्, ‘मैले आफ्नो श्रीमानलाई धक्का दिएर बसबाट झार्न सफल भएँ । आफू र आफ्नो बच्चालाई पनि बसको झ्यालबाट निकाल्न सफल भएँ । तर आमा बसको ढोकाबाट तल झरिरहेको बेला आगोको झिल्को उनको जिउमै खस्दा निधन भयो ।’
यसरी हेर्ने हो भने बुहारी लिन गएको दुधौली नगरपालिकाको जितपुर गाउँको खुसियाली शोकमा परिणत भएको छ । रामवरण अधिकारीको बिहे थियो । धनुषाको बल्टियाका राम भरोस कुँवरको छोरीसँग बिहे भयो । दिनमा धुमधाम साथ बिहे भयो । बेहुला र बेहुली जीपमा फर्किँदै थिए । जन्तीहरू दुईवटा बसमा फर्किरहेका थिए । एउटा बस अगाडि गइसकेको थियो । दोस्रो बस फर्किन लाग्दा बसमाथि रहेको बाकसमा ११ हजार भोल्टको करेन्ट लाग्यो ।
तारलाई बाँसको भाटाले हटाउनका लागि सहचालक पवन परियार छतमा चढेका पनि थिए । उनले बस रोक्न पनि भने तर चालकले सुनेनन् । आफैं घाइते भएको र छोरी गुमाएको पीडामा रहेका महेन्द्रले भने, ‘बसमा करेन्ट लाग्नेवित्तिकै चालक गाडी रोकेर भाग्यो । उसले रक्सी खाएको थियो क्यारे, बसलाई नरोकेर अगाडि वा पछाडि गरेको भए कोइ पनि मर्दैन्थ्यो । पूरापूर लापरवाही चालककै हो ।’
बुवा गुमाएका राजकिनले रुँदै भने, ‘बसमा नै बसेको भए कसैको पनि मृत्यु हुँदैनथ्यो होला तर, अतालिएर सबै बसबाट ओर्लिन थाल्दा बसको ढोकाको ह्यान्डलमा छुने बित्तिकै करेन्ट लाग्ने गर्दथ्यो । जो ह्यान्डल नछोई बसबाट ओर्लिन सफल भयो त्यो बाँच्यो, जसले छोयो त्यो मर्यो ।’
मृतक ६ जनाको शनाखत
धनुषाको सबैला नगरपालिकामा जन्ती बसमा ११ हजार भोल्टको करेन्ट लाग्दा मृत्यु भएका ६ जनाको शनाखत भएको छ । सबैला नगरपालिका ४ बाल्टियामा जन्ती बोकेर फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा शुक्रबार साँझ करेन्ट लागेको थियो ।
करेन्ट लागेर मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका ४ का ९ वर्षीय बालक आक्रोश कुँवर, २० वर्षीय पूजा अधिकारी, १६ वर्षिया लीला अधिकारी रहेका छन् । यसैगरी धनुषा सबैला नगरपालिका ४ की केशमदेवी कुँवर, अन्दाजी ९ वर्षका बालक सुरज अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै गम्भीर घाइते दुधौली नगरपालिका वडा नम्बर ९ का रामबाबु अधिकारी दनुवारलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनामा जलेर घाइते भएकामध्ये केहीको अवस्था अझै पनि गम्भीर छ । घाइते सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । घाइते १० जनामा तीन बालबालिका, पाँचजना पुरुष र दुई महिला रहेका छन् ।
बसका सहचालक उदयपुर कटारीका पवन परियार गम्भीर घाइते भएका छन् । उनी बसमाथि तार हटाउन बाँस लिएर गएका कारण उनलाई बढी करेन्ट लागेको छ । जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धरान पठाइएको छ ।
जन्तीमध्येबाट नै पछि एक जनाले सुकेको बाँसको ठूलो भाटाले तारमा हिर्काएपछि करेन्ट प्रवाह हुन रोकिएको थियो । शुक्रवार साँझ करीब ६ बजेतिर उक्त घटना भएको थियो । करीब ३ मिनेटसम्म बसमा आगोको झिल्का देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
घटनालगत्तै धनुषाका प्रहरी घटनास्थल पुगेका थिए । घाइते र मृतकलाई एम्बुलेन्समार्फत् जनकपुर अञ्चल अस्पताल ल्याइएको थियो । शुक्रवार राति नै सिन्धुली र धनुषाका प्रहरी उपरीक्षक, प्रमुख जिल्ला अधिकारी अस्पताल पुगेका थिए ।
सिन्धुलीको दुधौली नगरपालिका ४ का रामप्रसाद अधिकारीका छोरा रामवरणको धनुषाको सबैला नगरपालिका ४ बल्टियामा विवाहको लागि जन्ती आएको बस फर्किने बेला दुर्घटना भएको हो । विवाह भएका बेहुला र बेहुली अर्कै गाडीमा रहेकाले उनीहरू सकुशल रहेका छन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...