
रुकुम - जिल्ला सदरमुकामका विषयमा शुरू भएको तनाव बढ्दै जाँदा स्थानीय प्रशासनले पूर्वी रुकुमको रुकुमकोटमा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रदेश विभाजनका क्रममा टुक्रिएर बनेको नयाँ जिल्ला पूर्वी रुकुमको सदरमुकाम हाल रुकुमकोटमा छ ।
शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका स्थित गोलखाडामा सार्ने निर्णय गरेको थियो ।
यद्यपि उक्त विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले सदरमुकाम रुकुमकोटबाट सरेको छैन ।
पूर्ववर्ती सरकारको निर्णयअनुसार गोलखाडामै सदरमुकाम सर्नुपर्ने मागसहित सोमवार रुकुमकोटमा प्रदर्शनको तयारी भएपछि स्थानीय प्रशासनले अनिश्चित कालका लागि कर्फ्यू लगाएको हो ।
सम्भावित झडपलाई मध्यनजर गर्दै कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।