काठमाडौं - नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले मेलम्ची आयोजनालाई लिएर खानेपानी मन्त्री बीना मगर र हालै सरुवामा परेका सचिव गजेन्द्र ठाकुरबीचको आरोप प्रत्यारोपका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसमा भ्रस्टाचारको गन्ध छ भन्ने कुरा आरोप प्रत्यारोपबाट पुष्टि भएको भन्दै उनले दुईमध्ये दोषी को हो भन्ने पहिचान गरी कारवाही गर्न माग गरे ।
'मन्त्री र सचिवमा एउटा त दोषी छ, छ । एकजना त कमिसनको लोभमा फसेको, फसाइएकै छ,' राष्ट्रिय सभाको आइतवारको बैठकको विशेष समयमा बोल्दै उनले भने, 'त्यसबाहिर पनि ठूला माछा कोही छन् भने सार्वजनिक हुनुपर्छ । जनता त्यही चाहन्छन् । सदन त्यही चाहन्छ ।'
आयोजनामा कसै न कसैबाट गम्भीर अपराध भएको भन्दै उनले अपराधीलाई न्यायको कठघरामा उभ्याउन माग गरे ।
ठेकेदार कम्पनी अदालत गएमा नयाँ ठेक्का सम्झौता गर्न पनि नपाइने र काम पनि रोकिने भन्दै उनले त्यस्तो अवस्था आउन नदिन पनि माग गरे ।
काम रोकिँदा पछि लागत पनि बढ्ने र मुद्दा हारेमा नेपालले १५ अर्ब बराबर क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आउन सक्ने उनको चिन्ता छ ।