२७ जेठ २०८३, बुधबार

महिला अधिकारका लागि संविधान संशोधन गर्नुपर्छ : डा. भट्टराई

फागुन २४, २०७५
महिला अधिकारका लागि संविधान संशोधन गर्नुपर्छ : डा. भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले महिला अधिकार प्राप्तिका निम्ति अहिलेको संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।  

महिला शक्ति महासंघ नेपालद्वारा १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित 'लैंगिक विभेदरहित समाज निर्माण' विषयक अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् ।  

संयोजक भट्टराईले आमाको नामबाट पनि सहज रूपमा नागरिकता पाउने अवस्था सिर्जना गर्न कानून बनाएर मात्र नहुने बताउँदै संविधानमा भएका विभेदकारी व्यवस्थाहरू नै संशोधन गर्नुपर्ने बताए । 

'अन्तर्राष्ट्रिय महिला दिवसलाई एक कर्मकाण्ड हैन, साँच्चै तीनवटै लिंगीको सबै क्षेत्रमा बराबरी हक र सम्मानको प्रत्याभूति गर्ने अभियानको बिम्बको रूपमा ग्रहण गरौं,' उनले भने, ''तत्काल संविधानको धारा ११ र कानूनमा रहेको नागरिकता सम्बन्धी लैंगिक विभेद अन्त्य गर्नुपर्छ ।' 

संयोजक भट्टराईले महिलालाई समानरुपले अगाडि बढ्न सांस्कृतिक र आर्थिक रूपले समेत बाधा पारेकोले पुरातनवादी संस्कृतिको ठाउँमा नयाँ लोकतान्त्रिक संस्कृति स्थापित गर्नुपर्ने बताए । उनले महिलालाई आर्थिक रूपले समान अधिकार नदिएसम्म समानताको पाइला अगाडि नबढ्ने धारणा राखे । 

उनले नयाँ शक्ति पुराना शक्तिको हाँगा नभएको र यो अवसर नपाएका असन्तुष्ट समूह नभई नयाँ विचारसहितको शक्ति भएको बताए । 

कार्यक्रममा बन्दना ढकालले मिडियामा महिलाहरूका विषय राम्ररी नसमेटिएको बताउँदै सम्पादकहरूमा महिला नभएसम्म महिलाहरूको मर्म बुझ्ने गरी पत्रपत्रिकामा समाचार आउन नसक्ने बताइन् । उनले पत्रकारहरूले महिलाको विषयमा समाचार लेख्दा लिंगीय संवेदनशीलतालाई समेत ख्याल गर्नुपर्नेमा जोड दिइन् । 

त्यसैगरी, नयाँ शक्ति पार्टी काठमाडौंका संयोजक मानुषी यामीले महिलाहरूलाई हरेक क्षेत्रमा हतोत्साहित गर्ने संस्कृति रहेको बताउँदै कतिपय अवस्थामा आफूसमेत त्यसबाट पीडित बन्नुपरेको बताइन् ।  

salt training

कमेन्ट गर्नुहोस्