२६ जेठ २०८३, मंगलबार

फोहोर व्यवस्थापनमा विराटनगर महानगरले थाल्यो पहल, छिमेकी पालिका पनि उत्सुक

फागुन २६, २०७५
फोहोर व्यवस्थापनमा विराटनगर महानगरले थाल्यो पहल, छिमेकी पालिका पनि उत्सुक

विराटनगर- फोहरलाई विद्युतमा परिणत गरी नेपालमै पहिलो र आधुनिक फोहर व्यवस्थापन केन्द्र बनाउने अभियानमा विराटनगर महानगरपालिका लागेको छ । यसका लागि विराटनगर महानगरले फोहरमैला व्यवस्थापनका विषयमा छिमेकी स्थानिय तहका जनप्रतिनिधिसँगको छलफललाई तीव्रता दिएको छ ।

चीनको 'कोच भेन्चर होल्डिङ प्रालि'ले विराटनगर सहित आसपासका क्षेत्रमा फोहर व्यवस्थापनका लागि आधुनिक मेसिन, उपकरण र पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै महानगरले यसको पहलकदमी थालेको हो । केही समय अगाडि विराटनगर महानगरका मेयर भीम पराजुली सहितको टोलीले चिनको आनहुइ प्रदेशमा फोहर व्यवस्थापनको विषयमा अध्ययन भ्रमण गरेका थियो ।

सोही क्रममा चीनको कोच भेन्चर होल्डिङ् प्रालिले विराटनगर सहित आसपासका क्षेत्रलाई फोहर व्यवस्थापनका लागि आधुनिक मेसिनसहित आवश्यक उपकरण र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । चीनको तर्फबाट आएको प्रतिबद्धतासँगै विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनमा तदारुकता देखाएको हो ।

स्थानीय तहको फोहरमैला व्यवस्थापनका लागि साझेदारी सम्बन्धमा महानगरले अन्तरक्रिया गरेको छ । आईतवार भएको अन्तरक्रियामा विराटनगर महानगरका प्रमुख पराजुलीले सम्भव भएसम्मका स्थानीय तहहरुको समन्वयमा फोहरमैला व्यवस्थापन गरौँ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले फोहरलाई मोहरमा परिणत गर्ने कुरामा सबै स्थानीय तहको समन्वय आवश्यक भएको बताए । उनले कुनै पायक स्थान छनौट गरी फोहर व्यवस्थापन केन्द्र बनाउने अभियानमा जुट्न समेत सबै स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे ।

कार्यक्रममा दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले फोहरको समस्या सबै ठाउँका शहरहरुको टाउको दुखाइको विषय भएकाले यसको व्यवस्थापन आवश्यक भएको बताइन् । उनले महानगरले थालेको पहलमा आफूहरूको सहयोग रहने बताइन् ।

यस्तै पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राईले फोहर व्यवस्थापनसँगै जनताले पाउने लाभ बढी भएकाले यसखालको आयोजना सफल बनाउन आवश्यक रहेको उल्लेख गरे । छलफलमा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, इटहरी उप–महानगरपालिका प्रमुख द्धारिकलाल चौधरी, बुढीगंगा गाँउपालिका प्रमुख बालचन्द्र माझी, जहदा गाउँपालिका अध्यक्ष कैलाशप्रसाद मण्डल, कटहरी गाउँपालिका प्रमुख रामकुमार कामत लगायतका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी थिए ।

कार्यक्रममा इन्जीनियर घनश्याम काफ्लेले चीनले गरेको फोहर व्यवस्थापन केन्द्र र नेपालमा बनाइने डिजाइनका बारेमा जानकारी दिएका थिए । आधुनिक फोहर व्यवस्थापन केन्द्रबाट फोहर गन्ध नआउने स्थानीय बासिन्दा र क्षेत्रमा कुनै असर नपर्ने जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्