
बिहार– भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छन् ।
रिन्की कुमारीको बब्लु कुमारसँग शनिवार विवाह गर्नेगरी तय भएको थियो ।
छोरीका बाबु त्रिभुवन साहले भने, 'बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।'
नातेदारहरूका अनुसार बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरू संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर बेहुलीले मण्डप छाडेर भागिन् ।'
दुवै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए तर उनी सहमत भइनन् ।
अन्त्यमा गाउँलेहरूले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन् ।
भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्सेनि अवैध मदिरा सेवनबाट मानिसहरूको मृत्यु समेत हुने गरेको छ ।