
काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकासँगको निःशस्त्रीकरण वार्ता तोडेर क्षेप्यास्त्र तथा आणविक परीक्षण गर्नसक्ने एक वरिष्ठ अधिकारीले बताएका छन् ।
परराष्ट्र राज्यमन्त्री चोए सुन–हुईले राष्ट्रपति ट्रम्प र नेता किमबीच हालै भएको वार्तामा अमेरिकाले सुनौलो अवसर गुमाएको विदेशी कूटनीतिज्ञहरूलाई बताइन् ।
उत्तर कोरियाले आफ्ना सबै आणविक स्थलहरू नष्ट नगरेसम्म प्रतिबन्ध हटाउन ट्रम्पले अस्वीकार गरेपछि शिखरवार्ता विनानिष्कर्ष टुंगिएको थियो ।
उत्तर कोरियाले आफ्नो प्रमुख योङब्योन आणविक भट्टी नष्ट गर्ने प्रस्ताव गरेको थियो ।
‘हामीहरू कुनै पनि अमेरिकी मागमा झुक्दैनौं र यस्ता किसिमका कुनै पनि सम्झौता गर्दैनौं,’ चोएले रुसको तास समाचार संस्थालाई बताइन् ।
किमले अमेरिकासँग भविष्यमा हुने वार्ताका विषयमा आधिकारिक घोषणा किमले गर्न बाँकी रहेको चोएले बताइन् ।
हनोईमा भएको शिखरवार्तापछि एक पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले तेस्रो शिखरवार्ताको कुनै योजना नबनेको बताउँदै भविष्यमा राम्रो परिणामका विषयमा आशा चाहिँ व्यक्त गरे ।
बीबीसीबाट