काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी सडक विभागको बा २ झ १७०४ नम्बरको गाडी चढ्छन् । २०७२ सालमा खरिद गरिएको उक्त गाडीको मूल्य १ करोड ७ लाख १९ हजार ६३३ रुपैयाँ छ ।
यसका अलावा सचिव अधिकारीले अर्को गाडी पनि चढ्ने गरेका छन् । बा ९ च ५७९५ नम्बरको उक्त गाडी काठमाडौं–तराई द्रुत मार्गको हो । मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा सो गाडी रातो नम्बर प्लेटमा रहेको उल्लेख छ ।
सचिवको दोस्रो गाडीबारे बुझ्न उनको सचिवालयमा सम्पर्क गर्दा अनविज्ञता भयो । ‘सचिवज्यूले १७०४ नम्बरको गाडी चढ्नुहुन्छ, अर्को गाडीबारे थाहा छैन,’ सचिव अधिकारीको सचिवालयमा रहेका शाखा अधिकृत विनोद गौतमले भने ।
यद्यपि मन्त्रालयले उपलब्ध गराएको विवरणमा उक्त गाडी सचिवले नै रातो नम्बर प्लेट राखेर चढ्ने गरेको देखिन्छ ।
सचिवको सचिवालयलाई गाडी र मोटरसाइकल
सचिवको सचिवालयमा रहेका शाखा अधिकृत विनोद गौतमले बा १ ञ १४४३ नम्बरको गाडी चढ्छन् । यस्तै सचिवालयकै लागि भनेर बा १ व ९०१० नम्बरको मोटरसाइकल पनि प्रयोग भइरहेको देखिन्छ ।मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार सचिवको निजी सचिवालयमा शाखा अधिकृत गौतम र कम्प्युटर अपरेटर अम्बुजकुमार झा छन् ।
अधिकांश गाडी सडक विभागका
मन्त्रालयमा प्रयोग हुँदै आएका अधिकांश गाडी सडक विभागले उपलब्ध गराएको देखिन्छ । मन्त्रालयमा कुल प्रयोग भइरहेका १९ वडा गाडीमध्ये १२ वटा गाडी सडक विभागले उपलब्ध गराएका हुन् ।
मन्त्रीका लागि एउटा गाडी गृहमन्त्रालयले उपलब्ध गराएको देखिन्छ भने फास्ट ट्र्याकको एउटा र भारतीय सहयोगमा प्राप्त दुई गाडी मन्त्रालयमा छन् ।
हेर्नुहोस्, मन्त्रालयमा रहेका गाडी र प्रयोगकर्ताहरूको विवरण :
मन्त्रीलाई २०७ र सचिवलाई १०० लिटर इन्धन
मन्त्री रघुवीर महासेठले बा १ झ ४०२९ र बा २ झ १०८९ नम्बरको गाडी चढ्छन् । मन्त्रालयले हामीलाई उपलब्ध गराएको विवरणमा ती गाडीका लागि मन्त्रीले कति इन्धन लिन्छन् भन्ने उल्लेख छैन ।
यसबारे मन्त्रालयमा बुझ्दा मन्त्री महासेठले मासिक २०७ लिटर इन्धन बुझ्ने गरेको बताइयो । यस्तै सचिवले १०० लिटर र अन्य चार पांग्रे सवारी प्रयोगकर्ताले ७० देखि ६५ लिटरसम्म इन्धन मासिक लिने गरेका छन् । दुई पांग्रे सवारी प्रयोगकर्ताले भने मासिक १० लिटर इन्धन लिने गरेका छन् ।
प्रयोग नै नभएका गाडीलाई पनि इन्धन !
बा १ झ ८९६८ र बा १ झ ६७१३ नम्बरको गाडी चालु अवस्थामा नै रहेको देखिन्छ, तर प्रयोग गर्ने व्यक्तिको नाम खुलाइएको छैन । अचम्म त के भने ती गाडीका लागि भनेर मासिक ६५/६५ लिटर इन्धन प्रयोग भइरहेको छ ।
‘प्रयोग नभएको गाडीमा पनि इन्धन खर्च कसरी ?’ यही प्रश्न आन्तरिक व्यवस्थापन शाखाका उपसचिव युवराज अधिकारीलाई सोध्दा उनले यी गाडी पूल (जगेडा)मा रहेको बताए ।
‘ती गाडीका प्रयोगकर्ताहरूको सरुवा भएकाले अहिले गाडी पूलमा छ । मन्त्रालयमा विभिन्न काम पर्दा प्रयोग हुने भएकाले त्यसमा इन्धन खर्च भएको हो,’ अधिकारीले लोकान्तरसँग भने ।
पद नखुलेका प्रयोगकर्ता को हुन् ?
मन्त्रालयले उपलब्ध गराएको विवरणमा ३० जनाले दुई पांग्रे सवारी प्रयोग गर्दै आएको देखिन्छ । त्यसमा नाम उल्लेख रहेका १० प्रयोगकर्ताको भने पदीय जिम्मेवारी खुलाइएको छैन ।
को हुन् त ती १० प्रयोगकर्ता ? उपसचिव अधिकारीले तीमध्ये अधिकांश कार्यलय सहायक रहेको बताए । ‘सञ्जित मण्डल नाम गरेका एकजना चाहिँ मन्त्रीज्यूको सचिवालयमा हुनुहुन्छ, बाँकी अधिकांश कार्यालय सहायक हुन्,’ उनले लोकान्तरसँग भने ।
यस्तै सूचना अधिकारी लेखनाथ ज्ञवालीले पनि पद उल्लेख नभएका व्यक्तिहरू कार्यालय सहायक र सवारी चालकहरू रहेको बताए ।
हेर्नुहोस्, दुई पांग्रे सवारी प्रयोगकर्ताको विवरण :
पढ्नुहोस्, यस श्रृंखलाअन्तर्गत अघिल्ला ३ भाग :
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
रामचन्द्र भण्डारी / नारायण अर्याल