२६ जेठ २०८३, मंगलबार

अरुणाचल र ताइवान नदेखाउने ३० हजार नक्सा चीनले गर्‍यो नष्ट

अरुणाचल र ताइवान नदेखाउने ३० हजार नक्सा चीनले गर्‍यो नष्ट

काठमाडौं – चीनको भन्सार विभागले अरुणाचल प्रदेश र ताइवानलाई आफू अधीनस्थ क्षेत्र नदेखाउने ३० हजार नक्सा चीनले नष्ट गरेको छ । ती नक्साहरू चीनमै छापिएका हुन् । 

चीनको कम्युनिस्ट पार्टी निकटस्थ पत्रिका ग्लोबल टाइम्सले सबै नक्सा कुनै अज्ञात देशमा पठाइन लागेको लेखेको छ । 

भारतको पूर्वोत्तरमा रहेको अरुणाचल प्रदेशलाई चीनले दक्षिण तिब्बत भन्दै आएको छ । भारतीय राजनेताहरू त्यो प्रदेशमा जाँदा पनि चीनले आपत्ति व्यक्त गर्ने गरेको छ । 

केही समयअघि दलाई लामाले अरुणाचल भ्रमण गर्दा चीनले विरोध गरेको थियो । दलाई त्यहाँ पुगेपछि नौवटा स्थानको नाम बदलिएको थियो । 

अरुणाचलसँग जोडिएको ३४ सय ८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखाका विषयमा भारत र चीनबीच लामो समयदेखि विवाद चलिरहेको छ । दुवै देशले यस विषयमा २१ चरणको वार्ता गरिसकेका छन् तर कुनै समाधान निस्कन सकेको छैन । 

ताइवानलाई पनि चीनले फरक देशको मान्यता दिएको छैन । ताइवान आफ्नै एक भाग हो भन्ने चीनको मान्यता छ । तर वैश्विक मञ्चहरूमा ताइवानले आफ्नो स्वायत्तताका लागि निरन्तर आवाज उठाउँदै आएको छ । 

चाइना फरेन अफेयर्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक ली वेनजाङले नक्सा नष्ट गर्ने सही कदम भएको बताएका छन् । अन्तर्राष्ट्रिय कानूनबमोजिम ताइवान र दक्षिणी तिब्बत चीनकै अभिन्न अंग भएको उनको भनाइ छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्