
काठमाडौं – अमेरिकी सरकारले लुकाएका दस्तावेजहरू सार्वजनिक गरेर संसार हल्लाउने विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडर दूतावासबाट बिहीवार पक्राउ गरिएको छ ।
विगत सात वर्षदेखि उनले इक्वेडर दूतावासमा शरण लिएका थिए । यौन उत्पीडन मुद्दामा स्विडेनमा सुपूर्दगी गरिने भएपछि उनले इक्वेडर दूतावासमा शरण लिएका थिए ।
लन्डनको मेट्रोपोलिटन प्रहरीले अहिलेका लागि असान्जलाई हिरासतमा लिइएको र उनलाई वेस्टमिन्स्टर मजिस्ट्रेट कोर्टसमक्ष पेश गरिने जनाएको छ ।
असान्जले सन् २०१० मा ठूलो संख्यामा अमेरिकाका गोप्य दस्तावेज सार्वजनिक गरेका थिए । असान्जले स्विडेनमा सुपूर्दगी हुनबाट बच्नका लागि इक्वेडर दूतावासमा सन् २०१२ मा शरण लिएका थिए । पछि स्विडेनले उनीमाथिको यौन अपराध मुद्दामा सफाइ दिएको थियो ।
सफाइ पाएपछि पनि असान्ज दूतावासमा बसिरहे किनकि उनले अदालतमा आत्मसमर्पण गर्न मानिरहेका थिएनन् । लन्डन प्रहरीले पनि उनलाई आत्मसमर्पण नगरेकै कारण पक्राउ गरिएको जनाएको छ ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले असान्जबाट निरन्तर अन्तर्राष्ट्रिय महासन्धिको उल्लंघन भएकाले उनलाई शरण दिइरहन नसक्ने तर्क दिए ।
तर विकिलिक्सले ट्वीट गरेर असान्जलाई राजनीतिक शरण नदिएर इक्वेडरले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको तर्क दिएको छ ।
एजेन्सी