२६ जेठ २०८३, मंगलबार

विद्यालय प्रांगण बाख्राको चरणस्थल बनेपछि सभामुखसँग गुनासो- प्रदेश सरकारलाई खबर पुर्‍याइदिनुस्

चैत २९, २०७५
विद्यालय प्रांगण बाख्राको चरणस्थल बनेपछि सभामुखसँग गुनासो- प्रदेश सरकारलाई खबर पुर्‍याइदिनुस्

सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ११ मा पर्ने विकट बस्ती ताउलेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रांगण बाख्राको चरण क्षेत्रमा परिणत भएको छ ।

विहीबार विद्यालय हातामा पुग्दा बाख्रा चरिरहेका थिए । ‘दश/बाह्रवटा बाख्रा त यहाँ आउनु सामान्य नै हो,’ स्थानीय गोरख भण्डारीले भने, ‘कुइनेमा बन्न लागेको पक्की पुलका मजदूरहरूको रमाइलो गर्ने स्थानको रूपमा पनि विद्यालय प्रांगण दुरूपयोग हुँदै आएको छ ।'

यतिमात्र होइन मदिरापान गरेर होहल्ला गर्नेहरूलाई पनि लखेट्न विद्यालय प्रशासनलाई हम्मेहम्मे पर्ने गरेको उनको भनाइ छ । 

विद्यालयमा तारबार नहुँदा प्रांगण बाख्रा चरनस्थल बनेको गुनासो प्रधानाध्यापक डबलसिंह विकले बताए ।

करीब १० बिगाह क्षेत्रफलमा फैलिएको विद्यालयमा करीब ३५० विद्यार्थी र ७ शिक्षक छन् । दुई शिक्षकको स्थायी दरबन्दी रहेको विद्यालयमा एक राहत र ४ निजी स्रोतका शिक्षक छन् । 

कक्षा आठसम्म अध्यापन हुने उक्त विद्यालयसँगै सरस्वती मन्दिर निर्माण गर्न भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ५ लाख बजेट विनियोजन गरेको थियो ।

‘मन्दिर निर्माणका लागि विनियोजन गरिएको पाँच लाख बजेट रकमान्तर गरेर भए पनि घेराबार योजनामा रूपान्तरण गरिदिएको भए हामी आभारी हुने थियौं,’ प्रअ विकले भने, ‘कम्तिमा विद्यार्थी पढिरहेका बेला बाख्राभित्र आउने थिएनन् । विद्यालयको सुरक्षा हुने थियो ।’

प्रदेश सभा सभामुख राजबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै ताउलेवासीले प्रदेश सरकारसँग ठूलो आशा र भरोसा रहेको खबर पुर्‍याइदिन आग्रह गरे ।

सो अवसरमा सभामुख शाहीले ताउले क्षेत्रलाई कर्णाली र सुदूरपश्चिम प्रदेशको गेटवेको विकास गर्नुपर्ने बताए ।

ताउले क्षेत्र कर्णाली चिसापानी हुँदै हिल्सा नाकासम्म जाने सडकको अध्ययन भएअनुसार निर्माण गर्न सकिए यो क्षेत्र स्वर्ग बन्ने उनको भनाइ छ ।

‘यस क्षेत्रसँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ,’ विगत स्मरण गर्दै उनले भने, ‘यहाँका माननीय सबैसँग सल्लाह गरेर के गर्न सकिन्छ पहल गरौंला ।’

salt training

कमेन्ट गर्नुहोस्