त्यो जनआन्दोलन : पोखरा रणमैदान बन्दा सेनाको गोलीबाट भीमसेन बने पहिलो शहीद !

नरहरि पौड्याल
नरहरि पौड्याल

पौड्याल लोकान्तरका लागि गण्डकी प्रदेशका प्रतिनिधि हुन् ।

पोखरा – तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध नागरिक समाज र ७ दलले जनआन्दोलन घोषणा गरेपछि देशभर प्रदर्शन भयो । जनआन्दोलन चर्काउने शहरमा पोखरा पनि थियो ।

राजनीतिक दलको घोषणापछि आन्दोलन चर्किएको माओवादीका नेता तथा तत्कालीन जनआन्दोलनका अगुवा विश्वप्रकाश लामिछानेले बताउँछन् । ‘७ दलबीच सहमति भएपछि आन्दोलनको आह्वान हुँदा जनता सडकमा उत्रिएका हुन्,’ उनी भन्छन् । 


Advertisement

दलहरूको अगुवाइमा पोखराका चोकचोकबाट र्‍याली लिकालिँदै गए । आन्दोलनले क्रमिकरुमा उग्ररुप लिन थाल्यो । तोडफोड र ध्वंशसँगै प्रहरीले जनतामाथि अश्रुग्यास, लाठी र गोली बर्साउन थाल्यो । प्रहरी दमनबाट सयौं पोखरेली घाइते भए ।

चैत २६ गते पोखरामा प्रहरी दमन झनै बढ्यो । पोखराका अस्पतालमा घाइतेले भरिए । बिहान पीएन क्याम्पसदेखि राजनीतिक दल र विद्यार्थीको र्‍याली महेन्द्रपुलतिर आउँदै थियो । महेन्द्रपुल चोकमा चारैतिरबाट आन्दोलनकारी भेला हुँदै थिए । नेपाल टेलिकम कार्यालय भवनको छतमा रहेका सेनाको टोलीले महेन्द्रपुल चोकबाट आन्दोलनकारीलाई अगाडि बढ्न दिएन । एकाएक भीड आक्रोशित भयो । आन्दोलनकारीले टेलिकमको भवनतिर ढुंगा प्रहार गरे । टेलिकमका सीसा फुटे, उताबाट सेनाले गोली चलायो ।

आन्दोलनमा मिसिने तयारीमा रहेका १ जना आन्दोलनकारीलाई गोली लाग्यो । भीड तिरवितर भयो । सेनाको गोली लागेर भीमसेन दाहाल भुइँमा ढले । उनको घटनास्थलमै ज्यान गयो । २०६२ चैत २६ गते भीमसेन दोस्रो जनआन्दोलनको पहिलो शहीद बने । दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो व्यक्ति भीमसेन दाहाल काभ्रेबाट व्यवसाय सञ्चालन गर्न पोखरा आएका थिए । दाहालले सभागृहचोक होटल आनन्दको भवनमा साइबर व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

भीमसेनलाई गोली हानी हत्या गरिएपछि भोलिपल्ट चैत्र २७ गते पोखराका चोकचोकबाट हजारौंको सहभागितामा र्‍याली निस्कियो । दाहालको हत्याले आक्रोशित बनेका आन्दोलनकारी र प्रहरीबीच पोखराका आधा दर्जन ठाउँमा झडप भयो । प्रहरीले सभागृह चोक र तालचोकमा अश्रुग्यास र गोली नै चलायो । पार्वती पौडेल, मेघराज आचार्य लगायत दर्जनौं घाइते भए । केहीको खुट्टामा त कोहीको छातीमा गोली लाग्यो ।

कसरी गोलीको निशानामा परे मेघराज ?

भीमसेन दाहालको मृत्यु भएपछि पोखरेलीको आक्रोश बढ्दो थियो । भोलिपल्ट सरकारलाई ठूलै झड्का दिने गरी योजना बनाएका थिए उनीहरूले । लेखनाथको मुख्यचोक तालचोकमा त्यसक्षेत्रका आन्दोलनकारी भेला भइरहेका थिए । त्यहाँ प्रशासनिक कार्यालय रहेका कारण आन्दोलनकारीबाट तोडफोड हुने सूचनाका आधारमा सुरक्षा सतर्कता बढाइएको थियो ।

आक्रामक देखिएका आन्दोलनकारीले कार्यालयमा तोडफोडको प्रयास गरिरहेका थिए । त्यो भीडको अग्रभागमा थिए मेघराज आचार्य । उनले प्रहरी र आन्दोलनकारीबीच समन्वयनको भूमिका खेलिरहेका थिए । त्यसदिन पनि उनले प्रहरीसमक्ष आन्दोलनकारीलाई शान्तिपूर्ण कार्यक्रम गर्न दिन आग्रह गर्दै थिए । उनले प्रहरीसँग भलाकुसारी गरिरहेकै बेला प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्‍यो । तर पनि भीड तितरवितर नभएपछि प्रहरीले गोली नै प्रहार गर्‍यो ।

अश्रुग्यासको पीडाले रन्थनिएका मेघराजको छातीमा गोली लाग्यो । केही समय उनलाई गोली लागेको थाहै भएन । तर एकैछिनमा मेघराजले आफूलाई रगतले लत्पतिएको पाए । उनलाई बेहोस हुनु अघिसम्मको पीडा याद छ । करीब ८ घण्टा उनी सडक छेउमै बेवारिसे अवस्थामा ढलिरहे छन् । पछि स्थानीय र मानवअधिकारकर्मीले उनलाई त्यहाँबाट उठाएर अस्पताल पुर्‍याए ।

सुरक्षाकर्मीको गोली प्रहार र आन्दोलनकारीले कुल्चिएकाले मेरो मेरुदण्ड नै भाँचियो,’ मेघराज भन्छन् । छातीमा लागेको गोलीले मुटुमा समस्या निम्याएको छ ।’ डाक्टरले ३ वर्षअघि नै ज्यान जोखिममा रहेको बताइसकेका छन् ।’

घटनापछि मेघराज झण्डै ४ वर्ष अस्पतालमा बसे । तर उनको स्वास्थ्य अझै पनि ठीक छैन । छातीको शल्यक्रियाको लागि डाक्टरले उनलाई भारतमा रिफर गरिसकेका छन् । तर आर्थिक संकटले उनको शल्यक्रिया हुन सकेको छैन । यसअघि आफ्नो उपचारमा ६० लाखभन्दा बढी खर्च भइसकेको उनको दाबी छ । 

‘नेपालमा मेरो छातीको अप्रेसन हुन नसक्ने चिकित्सकले बताएका छन् । उपचारको लागि भारत जानुपर्ने अवस्था छ । भारतमा अप्रेसन गर्दा करीब २० लाख रुपैयाँ खर्च लाग्छ । मसँग त्यतिको रकम छैन । सहयोगको याचना गर्दै विभिन्न सरकारका पालामा मन्त्रालय धाएँ । झुलाउने काम मात्र भयो, सहयोग पाइएन,’ मेघराज भन्छन्, ‘उपचारको नाममा पोखराको मूल्यवान जग्गा समेत कौडीको मूल्यमा बेचिसके । राज्यले निराशाबाहेक केही दिएन ।’ 

जनआन्दोलन २०६२/०६३ का कमाण्डर एवं शहीद घाइते तथा अपाङ्ग परिवार सरोकार नागरिक समन्वय समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका आचार्यले आन्दोलनको बलमा स्थापित भएको गणतन्त्रमा नेताहरूले जनचाहना र जनभावना विपरीत कार्य गरेको आरोप लगाए । ‘मुलुकको समृद्धिको लागि हामीले छातीमा गोली थाप्यौं । कयौंले शहादत प्राप्त गरे । कयौं जीवन र मृत्युको दोसाँधमा छन् । कयौं घाइते र अपाङ्ग छन् तर उनीहरूलाई राज्यले हेर्दैन,’ उनले भने, ‘नेताहरूको कार्यशैलीले जनआन्दोलनप्रति पश्चाताप लागिरहेको छ ।’

आन्दोलनकै कारण लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर दलहरूले आन्दोलनका घाइतेको उचित उपचार र व्यवस्थापनमा चासो नदिँदा आफूलाई अचम्म लागेको उनी बताउँछन् ।

दलप्रति घाइते ढाकारामको आक्रोश

जनआन्दोलनका अर्का घाइते हुन् ढाकाराम पौडेलले । झट्ट हेर्दा उनी तन्दुरुस्त देखिन्छन् । अनुहारमा चमक छ । तर बाहिरबाट हेरेजस्तो छैन उनको शारीरिक अवस्था । आन्दोलनमा प्रहरीले बजारेको लाठी र अश्रुग्यासले घाइते बनेका पौडेल औषधिकै भरमा बाँचिरहेका छन् ।

शारीरिक पीडासँगै औषधिकै भरमा जीवन व्यतित गर्दै छन् पौडेल । अहिले उनी राजनैतिक पार्टी र नेताप्रति सन्तुष्ट छैनन् । आन्दोलनको आडमा गणतन्त्र र संघीयता आएपनि दलहरू जनआन्दोलनको मर्म र भावना अनुसार नचल्दा मन दुख्ने र पुरानो घाउँ बल्झिने गरेको उनको गुनासो छ ।

‘नेताहरूलाई सत्तामा पुर्‍याउन लाठी र गोली खाएका होइनौं,’ उनले भने, ‘मुलुकमा व्यवस्था परिवर्तन भयो, संविधान बन्यो तर पनि दलहरूले जनताको भावना र चाहना बुझ्न सकेनन् ।’

जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समिति कास्कीका पूर्वअध्यक्ष समेत रहेका पौडेलले राज्यको बेवास्ताका कारण घाइते तथा अपाङ्ग परिवारबाटै अपहेलित हुन थालेको बताए । ‘घाइतेको पीडाका कारण परिवारमा नै वैमनश्यता आउन थालेको छ,’ उनले भने, ‘परिवारले कसको लागि र केको लागि आन्दोलनमा गएको भन्दै उल्टै हप्काउन थालेका छन् । परिवारमा घाइतेले यो पीडा भयो भनेर भन्न नहुने अवस्था छ ।’

कमेन्ट गर्नुहोस्