मेसिनजस्ता यातायात मजदूर: न थाक्छन्, न झुक्छन्

-सन्तोष सापकोटा 

काठमाडौँ -ट्राफिक भन्छ, 'ए गुरू जाउँ है ! यहाँ रोक्न मिल्दैन ।' नसुने झैं गर्दै लुकिङ ग्लास हेर्छ ट्याक्सीमा रहेको चालकले ।  ट्राफिक आवेशमा आउँछ, 'फेरि प्रहरीले भनेको नटेरेको हो ? अगाडि जाउँ है !' रिसाउँदै, 'ए चिट काट्दिम ? १ हजारको चिट काट्दिन्छु ।'


Advertisement

'हैन सर गएँ, एक्कैछिन है ! मेरो पेसेन्जर उ त्यहाँ जानु भएको छ,' चालकले अनुरोध गर्छ । 'अब त अति नै भयो,' ट्राफिक प्रहरी हातमा चौबिस घण्टे पूर्जी लिएर आऊँछ । अनि बिस्तारै आफ्नो सवारी  साधन हाँक्ने चालकले ट्राफिक प्रहरीलाई मनमनै गाली गर्दै अगाडि बढ्छ । 

अक्सर यस्तै अवस्थाको बयान गर्छ सार्वजनिक सवारी साधन चलाउने सवारी साधनका चालक र ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीबीच सडकमा देखिने दृश्यले । दैनिक करीब यस्तै गरी बित्छ सडकमा यातायात मजदुरको दिन ।

यो अवस्था आउनुमा सरसर्ती हेर्दा दुवै पक्षको दोष देखिँदैन किनकि ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीलाई पनि त्यसरी सडक किनारामा रोकिने सवारी साधनलाई नधपाई सुखै छैन । यदि धपाएन भने दिन भरि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्छ । त्यस्तै सवारी चालकलाई पनि सडक किनारामा नरोकी सुखै छैन, एकै छिन है भन्दै अगाडि औषधी पसल, सपिङ महल या रेष्टुरेन्टमा उस्का ग्राहक पसेका हुन्छन । जुन ठाँउमा यात्रु सेवा लिन जान्छ, त्यो ठाँउमा पार्किङको व्यवस्था नहुँदा चालक सडकमै सवारी साधन रोक्न बाध्य हुन्छ ।  नटेरे जरिवाना तिर्नै पर्छ ।

दिनभरि गुडेको गुड्यै गरेर साध्य छैन । रोक्नलाई पर्याप्त ठाँउ छैन अनि प्यासेन्जर पाउँदा अनेकौं समस्या झेल्नु पर्छ । हरेक दिन आफ्नो गुजारा चलाउन सडकमा सवारी साधन लिएर निस्किएका ट्याक्सी चालकका गुनासा हुन यि ।

अन्य सार्वजनिक सवारी साधन चालकका गुनासा पनि कम छैनन् । बिहान पाँचै बजे गाडी ग्यारेजबाट निकाल्नु पर्ने, बेलुका ८ बजेसम्म बाटोमा गुडाउनु पर्ने, खाने ठाँउको राम्रो व्यवस्था नहुने, शौचालयको अभाव जस्ता समस्याबाट चालक-परिचालकले आफ्नो दैनिकी बिताउन बाध्य छन् । पिसाब फेर्ने ठाँउ जताजतै नहुँदा पानी कम पिउने र कम पानी पिएकै कारण पत्थरी, मृगौला खराबी जस्ता रोगबाट दीर्घकालीन रोगबाट ग्रसित छन अहिले यातायात मजदुर ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन भनेर अन्तराष्ट्रिय मजदुर दिवसमा अतिथि आसन ग्रहण गर्नेले भाषणमा बोलिरहेका छन् । यो कुरा यातायात मजदूरको हकमा लागू भएको पाइँदैन । बरू दैनिक रुपमा १४-१५ घण्टा सडकमा काम नगर्ने हो भने साँझ घरमा छोराछोरीसँग भोकभोकै सुत्नुपर्ने अवस्था आउन सक्छ ।

लामो दुरीमा सवारी साधन हाँक्ने चालकका पनि यस्तै केही समस्या छन् । ति समस्याका प्रतिनिधि कुरा यहाँ राख्दा थप प्रभावकारी होला । सवारी तथा यातायात व्यवस्था ऐनमा उल्लेख भएअनुसार २ सय किलोमिटर या ६ घण्टा भन्दा लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनमध्ये यात्रु बोक्ने बसले अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने व्यवस्था छ । तर यो प्रावधान कार्यान्वयनमा भने आउन सकेको छैन ।

अहिले पनि नेपालका सुदूरपुर्व या सुदूरपश्चिमका जिल्ला जहाँ पुग्न १८/१९ घण्टासम्म लाग्छ, ति स्थानमा चल्ने सवारी साधनमा समेत जम्मा एक जना चालक छन् । यसको प्रमुख कारण हेर्ने हो भने चालकलाई भत्ताको लोभ देखिन्छ । त्यस्तै सवारी धनीले पनि दुई जना चालकलाई तलब भत्ता दिँदा धेरै खर्च हुने हुँदा बरू धेरै भत्ता उपलब्ध गराएरै भएपनि एक जना चालक मात्रै राख्ने गरेको पाइन्छ ।

लगातार १८/१९ घण्टा सवारी साधन हाँक्दा एकातर्फ चालक थाकेको कारण दुर्घटना हुने सम्भावना देखिन्छ भने अर्कोतर्फ लगातारको कामले दीर्घकालीन रूपमा चालकको स्वास्थ्यमा असर पर्ने देखिन्छ । जोखिमपुर्ण मानिएको पेशामा तत्कालै भएको दुर्घटना बीमाबाहेक अन्य कुनै सुविधा छैन । 

सवारी साधन चलाउन्जेल चालकले राम्रै सुविधा पाएपनि त्यस पश्चात कुनै सुविधा पाँउदैन । पछिल्लो समय यातायात क्षेत्रमा सुधार गर्ने उद्देश्यले अनिवार्य रुपमा यातायात व्यवसायलाई पञ्जिकरण गर्ने नीति सरकारले लिएको छ ।

सबै समिति कम्पनीमा रूपान्तरण भएपश्चात यातायात मजदूरलाई अनिवार्य रूपमा संचयकोषको व्यवस्था गर्ने र निश्चित अवधिपश्चात उपदानको रुपमा उपलब्ध गराउन सकेमा यातायात मजदूरको भविष्य समेत सुनिश्चित हुने देखिन्छ । यातायात मजदूर आबद्दता बढाउन समेत यसले महत्त्वपूर्ण भूमिका खेल्छ । अत्यन्तै जोखिमपूर्ण पेशा मानिने यो क्षेत्रमा दुर्घटना पश्चात पाइने बीमा (पाँचलाख) बाहेक अन्य शीर्षकमा समेत कम्पनीले बीमाको व्यवस्था गर्ने नीतिको समेत जरूरी देखिन्छ ।

अहिले प्रत्येक स्टेशनमा यातायात मजदूरका रूपमा काम गर्ने चालक-परिचालकले आफ्नो सवारी साधन नभरिउन्जेल रोकेर राख्छन् । यही विषयमा यात्रुसँग विवाद शुरू भैहाल्छ । खुद्रा नभएको बहानामा अहिले पनि एक, दुई रुपैयाँ बढी भाडा लिन भ्याइहाल्छन् । १२ वर्ष देखि ६० वर्ष सम्मकाले विद्यार्थी परिचयपत्र देखाउँछन, तिमध्ये अधिकांश विद्यार्थी नै हुँदैनन् । यही विषयमा विवाद शुरू हुन्छ ।

यात्रुलाई बसमा चढाउँदा जुनसुकै ठाँउबाट चढाउने तर ओराल्नु पर्यो भने बसस्टप नै खोज्ने कारण पनि नयाँ विवाद सृजना हुन्छ । अक्सर यिनै विषय हुन्, यात्रु र यातायात मजदूरबीच हुने विवाद । गाडीमा चढ्ने मान्छे नै नभए पनि लगातार माइकमा बोले झैं बोलीरहनु पर्ने परिचालकका पनि आफ्नै बाध्यता हुन् या त्यो बानीको विकास भएको हो  ।

विहान गाडी स्टार्ट भएदेखि बेलुकी गाडी ग्यारेज नपुग्दासम्म निरन्तर बोलिनै रहन्छन् उनीहरू, बरर । अलि कड्किएर बोल्ने स्वाभाव अधिकांश परिचालकमा हुने गर्छ । यसलाई मात्र सुधार्ने हो भने पनि यातायात मजदूर प्रशंसाको पात्र बन्छन् । यात्रुलाई नरम व्यवहार त्यति बेला देखाउछन् जतिबेला यात्रु चढ्नका लागि स्टेशनमा बस कुरेर बसेको हुन्छ ।

'खालि छ जाने हो ?' जतिखेर सुकै उनीहरूको मुखमा झुण्डिएको हुन्छ यो कुरा । अनि भित्र मिलेर बस्नुस् है भित्र जानुस् त भनेर शरीर नै छोएर धकेल्ने उनीहरूको बाध्यता हो या अज्ञानता । लामो दुरीमा चल्ने सवारी साधनका परिचालकले त हात नै चुडिएला जस्तो गरेर तानेरै बसमा लैजान्छन् । यो कुरा पनि सुधार हुने हो भने साँच्चिकै सम्मान गर्ने क्षेत्र बन्छ यातायात मजदुरको क्षेत्र ।

त्यसो त रुट परमिट वितरण प्राणाली वैज्ञानिक नहुनु, सवारी संचालनमा केही समय अगाडि रहेको सिण्डिकेट, स्कूल, कलेज, सरकारी अफिस ,निजी अफिस र बजार खुल्ने र बन्द हुने एउटै समयका कारण पनि यातायात मजदूर बाध्यतामा छन् ।

अफिस समय अर्थात 'पिक आवर'मा यात्रुको चाप ह्वात्तै बढ्ने र अन्य समयमा खालि खालि सवारी साधन दौडाउँदा साँझ साहुलाई के पैसा बुझाउने भन्ने पीडाले पनि उनिहरुलाई पिरोलेको देखिन्छ । निश्चित रकम बुझाउनैपर्ने गरी साहुसँग सम्झौता भएको हुन्छ जसका कारण पनि यात्रुको संख्या प्रशस्त हुनुपर्छ । फेरि यातायात व्यवसायीले सार्वजनिक सवारी साधनमा यात्रुलाई सेवा दिएका छौं भनेका हुन्छन् । सेवा चित्त नबुझेर गुनासो गर्नुलाई के भन्ने स्वाभिक या अस्वभाविक ? यो प्रश्न सधै खड्कीरहन्छ ।

शैक्षिक योग्यताको हिसावले कमै पढेका परिचालक धेरै छन । सीप सिकाइदिने आशामा ड्राइभरलाई गुरू मान्छन् उनीहरू । चालक परिचालक (यातायात मजदूर)हरू अहिले ट्राफिक प्रहरीको सिकाउने सामान्य कुरा र विभिन्न ट्रेड युनियनले दिने सामान्य प्रशिक्षण बाहेक केही कुरा सिकेकै हुँदैनन् । सडक विभाग, यातायात व्यवस्था विभाग जोसँग जनचेतना लागि समेत बजेट हुन्छ ति निकाय महंगा होटलमा गोष्ठी गरेर बजेट खर्च गर्छन तर  सडकमा दैनिक जिजीविषा चलाउन संघर्ष  गर्ने यातायात मजदूरको हालत अहिले देखेकै अवस्थामा रहिरहन्छ ।

अहिले यातायात मजदूरका रूपमा नेपालभरि कमसेकम १० लाखले काम गरिरहेको अनुमान छ । उनीहरूलाई प्रशिक्षित गराउन राज्य स्तरमा कुनै निकाय छैन । उनीहरूले जे सिकेका छन् सडकबाटै सिकेका छन् । अनि हामि यिनै  मजदूरबाट ठूलो अपेक्षा राख्दा त्यो पाउन सकिएला त ?

(मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जमा आवद्ध सापकोटा सडक सुरक्षाको क्षेत्रमा विगत ६ वर्षदेखि सक्रिय छन् ।)

 

कमेन्ट गर्नुहोस्