वेद, ब्राह्मण र ब्ल्याक होल अर्थात् ‘कृष्णछिद्र’

अहिले विश्वभर ब्ल्याकहोलको तस्बिरको चर्चा व्याप्त छ । शक्तिशाली गुरुत्वाकर्षण भएको यस खगोलिय शक्ति लाई अन्तरिक्ष वैज्ञानिकहरूले अन्तरिक्षको दानव वा राक्षस (space monster) भन्ने गरेका छन् । यस ब्ल्याकहोलभित्र पनि के छ भन्ने कुरामा अझै वैज्ञानिकहरू अनविज्ञ छन् । अन्तरिक्षको विशालता कति छ र कुन शक्तिले यो चलि रहेको छ ? यसबारे विभिन्न सिद्धान्तहरूका आआफ्नै तर्कहरू होलान् तर अन्तरिक्षको आदि र अन्त्य के हो, यो निरन्तर खोजकै विषय रहिआएको छ ।

महाभारत युद्धमा भगवान् कृष्णले अर्जुनलाई भनेको कुरा मेरो आदी मध्य र अन्त्य मानिस आफ्नो बुद्धि र विवेकले कहिल्यै जान्न सक्नेछैन्  भक्तिले मात्रै मेरो केवल आभास गर्न सक्नेछ भन्ने प्रसंगले यस खोजको रहस्यलाई प्रमाणित गरिरहेको छ की यस रहस्यको अन्त्य अनन्त छ, जसलाई सायद मानवले आफ्नो बुद्धिले कहिल्यै पत्तो पाउने छैन । सत्य युगदेखी कलियुग सम्म आइपुग्दा हाम्रा पुर्खाले पनि अनेकौँ प्रकारले ब्रह्माण्डको खोज गरेका छन् । त्यसको प्रमाण वैज्ञानिकहरूसँग छैन । तर हाम्रा धार्मिक शास्त्रहरूमा पाउन सक्छौं । फरक यती छ की वैज्ञानिकहरू भौतिक तरिका अपनाइरहेका छन् भने हाम्रा पुर्खाले आध्यात्मिक बाटो देखाइसकेका थिए । वैज्ञानिकहरूले खोजी गरिरहेका अनेक रहस्यका पछाडि पनि रहस्य थपिँदैछन् । एउटा ब्ल्याकहोल पनि यस ब्रह्माण्डभित्रकै रहस्य हो । जसको शुरूवात र अन्त्य कहाँ छ कसैले भन्न सक्दैन् । यस लेखमा ब्रह्माण्डको रहस्यबारे वैदिक दर्शन र विज्ञानलाई जोडेर केही जिज्ञासा पैदा गर्ने र केही जिज्ञासा मेटाउने प्रयास गरिएको छ । 


Advertisement

भागवत गीतामा कृष्णले अर्जुनलाई भनेको एउटा प्रसंग आज वैज्ञानिकहरूको भनाइसँग मिलिरहेको छ । श्रीमद् भागवत गीताको एघारौँ अध्यायको बत्तिसौँ श्लोकमा कृष्णले अर्जुनलाई आफ्नो विराट स्वरुप देखाउँदा भनेका थिए, ‘म सारा ब्रह्माण्डको नाश गर्ने विकराल महाकाल हुँ ।’ आज वैज्ञानिकहरू ब्ल्याकहोललाई महाकाल (अन्तरिक्षको दानव) भनिरहेका छन् । वैज्ञानिकहरूले जुन उद्गम विन्दु खोजिरहेका छन् । त्यस भौतिक उद्गमको पनि उद्गम बारे हाम्रा विभिन्न धर्मशास्त्रहरूमा वर्णन गरिएको छ । वेदान्तले यस ब्रह्माण्डको रचना ॐ (अ्–उ्–म्) शब्दबाट भएको देखाउँछ, ॐ शब्द आफैँमा शब्द नभएर एक ध्वनी हो । विश्वभरी जन्मेका जुनसुकै बालकले पनि सर्वप्रथम उच्चारण गर्ने ध्वनी पनि ॐ नै हो । यस ध्वनीको रचना पनि निराकार, अव्यक्त, अनादी, अनन्त चेतनाबाट भएको हो । जसलाई हामी भगवान् भन्छौँ । पदार्थको सबैभन्दा सानो रुप परमाणु हुँदै यदि कदाथित विज्ञान त्यस ध्वनीलाई पनि कैद गर्न सक्ला, तर त्यस ध्वनीको पनि कारक कुनै शक्ति छ । जसलाई विज्ञानले भौतिक तरिकाले भेटाउन असम्भव छ ।

 शक्ति र पिण्ड एकै ठाउँमा मिसिनपुगे  समय र स्थानको पनि नाशहुन्छ भनेर अल्बर्ट आइस्टाइनले एक शताब्दि पहिल्यै भनेका थिए । आइस्टाइनको यस सिद्धान्तलाइ सामान्य सापेक्षताको सिद्धान्त भनिन्छ । जसलाई त्यतीबेला वैज्ञानिकहरूले स्विकार गरेका थिएनन् आज सही साबित भएको भन्ने वैज्ञानिकको दावी छ । यसरी वैज्ञानिक तथ्यहरू बद्दिदै गइरहेका छन् । बुद्धिको वा उपकरणको सहायताले मानव मस्तिष्कले भ्याएसम्म प्रकृतिको रहस्य थाहा पाउनु नै त विज्ञान हो । यो प्रकृतिको रचना कसरी भयो ? यस प्रश्नको उत्तरमा विज्ञानको उत्तर पदार्थ भन्ने थियो । तर अहिले त्यो उर्जा हो भन्ने कुरा वैज्ञानिकहरूले पुष्टि  गरेका छन् । कालो पदार्थको (Dark Matter) कालो उर्जाले (Dark Energy) ब्रह्माण्डमा विभिन्न पिण्डहरू निर्माण गरिरहेको छ भन्ने अनुमान वैज्ञानिकहरूले गरिरहेका छन् । त्यही कालो उर्जा अत्यधिक भएको अन्तरिक्षको कुनै स्थानलाई ब्ल्याकहोल नाम दिइएको छ ।


Advertisement

धर्म र विज्ञान कुनै विरोधी तत्व होइनन् । यो त केवल हामीमा रहेको भ्रम मात्र हो । दुवैले सत्यको खोजी गर्छ । फरक यत्ति हो की विज्ञानको सत्य सापेक्ष छ, जुन समय अनुसार परिवर्तन भइरहेको छ । कुनै समयमा विग ब्यांग थेउरी प्रतिपादन हुँदा विज्ञानले सबै कुरा जानियो भन्ने ठान्थ्यो तर अहिले ब्ल्याकहोलसम्म आइपुग्यो । धर्म जसको अर्थ नै सनातन ज्ञानलाई धारण गर्नु भन्ने हुन्छ । त्यसले लामो समयदेखी बताइरहेको एउटै शाश्वत सत्य हो । त्यसैले धर्म सनातन पनि हो । धर्मका नाम फेरीएका छन्, सम्प्रदाय बनेका छन्, धर्मका नाममा राजनिती भएको छ । तर धर्मले भन्ने कुरा सनातन छ । ठूला वैज्ञानिक अल्बर्ट आइस्टाइले पनि त्यसैकारणले होला धर्म विनाको विज्ञानलाई लंगडो भनिदिए । कार्लमाक्स जसले धर्म होइन् धर्मका नाममा भइरहेको अत्याचार र पोप पादरीहरूको हिंसाको विरोध गरेका थिए ।

आज उनलाई धर्मविरोधीका रुपमा चिनिन्छ । यो केवल कुप्रचारकहरूको नियतको परिणाम हो । आजका कैयौँ पाखण्डि धार्मिक गुरुहरूको विरोध गर्ने कैयौँ कार्लमाक्सहरू छन् । यसरी धर्मका नाममा अपराध गर्नेको विरोध गर्नुलाई धर्मको विरोधका रुपमा भ्रम फैलाउन धेरै समुहहरू लागीपरेका पनि छन् । सनातन धर्मले सधैं भगवान् वा ईश्वरीय शक्तिको ज्ञानको रुपमा वेदलाई मान्दै आएको छ । तर सत्य त के हो भने यो केवल सनातन धर्मको मात्रै नभई समस्त भूमण्डलमा बस्ने समस्त मानवको सबैभन्दा पहिलो साहित्य हो, शब्द हो र यसमा विश्वमा प्रचलित ईश्वर वा देवता सबै धर्मको समावेश छ  । यो कुरा डा. स्वामी प्रपन्नाचार्यले ‘वेदमा के छ ?’ भन्ने पुस्तकमा उल्लेख गरेका छन् । प्रत्यक्ष र अनुमान प्रमाणले जुन उपायलाई जान्न सहिँदैन र जसले त्यस उपायलाई बुझाइदिन्छ त्यै वेद हो, त्यसैमा वेदको वेदत्व पनि छ । 

हामी प्रकृति र विज्ञानलाई अलग अलग दृष्टिकोणबाट हेर्ने गर्छौ । प्रकृति र विज्ञानलाई छुट्याएर हेर्दा हामी बिर्सिन्छौँ की प्रकृतिमै भएका कुरालाई प्रकृतिकै चिजहरू प्रयोग गरी प्रमाणीत गरेर तथ्य देखाउनुलाई हामी विज्ञान भन्ने गर्छौं । भएकै कुरालाई कुनै निश्चित तरिकाले (प्रक्रिया) हाम्रो मष्तिस्कले प्राप्त गरेको केही फरक वा नयाँ सूचनालाई हामी अनुसन्धान भन्छौं । यस्ता अनुसन्धानहरू फरक फरक विषयवस्तुमा भइरहेका छन् । ब्ल्याकहोल सम्बन्धी अनुसन्धान र खोज खगोलशास्त्र अन्तर्गत गरिन्छ । खगोलशास्त्र भनेको ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज आदि दृश्य तथा अदृश्य खगोलिय पिण्डहरूबारे अध्ययन गर्ने शास्त्र हो ।

हरेक कुराको वैज्ञानिक प्रमाणमा मात्रै विश्वास गर्ने हाम्रो बानी भइसक्यो । तर विज्ञानले प्रमाणित नगरिसके पनि धेरै सत्यकुराहरू सदियौँ देखी अस्तित्वमा छन् र रहिरहनेछन । विज्ञानले प्रमाणित नगरिकनै सनातन धर्मले भनेका धेरैकुराहरू आजको आधुनिक विज्ञानको जन्मले पनि पछि प्रमाणित रुपमा पाएको छ । विज्ञानको बाटो प्रकृति भन्दा अलग हुनै सक्दैन । प्रकृति आफैँमा अप्रमाणित सत्य हो । त्यसैको पछाडि विज्ञानले केही तथ्यहरू जोड्ने मात्रै हो । अहिलेको ब्ल्याकहोलको तस्बिरको चर्चा पनि त्यहि हो । ब्ल्याकहोल छँदै थियो, ब्रह्माण्ड छँदै थियो । मानिसका भौतिक आँखाले नदेखेको मात्रै थियो । भौतिक आँखाले देखेका कुरा मात्रै सत्य मान्ने लालसामा नै मानिस सुक्ष्मदर्शक यन्त्र निर्माण गर्यो । तर पनि कुनै यन्त्रले पनि देख्न नसकिने ब्ल्याकहोल पनि रहेछ । जसलाई देख्न हामीलाई प्रकाशकै सहायता चाहिन्छ । त्यही प्रकाशको मुख्य स्रोत सुर्य जस्ता साठी लाख सुर्य त  त्यसको डार्क इनर्जीले खाइसकेको रहेछ ।

कृष्ण शब्दको अर्थ हुन्छ कालो, अर्थात जो अरु सबैलाई आफुतिर खिच्नसक्छ , आफुतिर आकर्षित गर्छ । भगवान् कृष्णको चरित्र पनि यही हो । र विज्ञानले मान्ने डार्क इनर्जी पनि त्यही हो । ब्यालहोल पनि त्यहि इनर्जी हो जसको गुत्वाकर्षणले प्रकाशलाई पनि आफुतिर तानिरहेको हुन्छ । वैज्ञानिकका अनुसार यस ब्रह्माण्डमा हामी देख्ने साधारण शक्ती केवल ४.९ प्रतिशत मात्रै छ । तर डार्क इनर्जी ६८.३ प्रतिशत रहेको छ । त्यो डार्क इनर्जी नै सृष्टिकर्ता र संहारक  हो । भागवत् गीतामा कृष्णले अर्जुनलाई प्रतिक्षण (ब्रम्ह समय अनुसार) यस्ता लाखौँ ब्रह्माण्ड म मा विलिन हुन्छन् र हजारौँ ब्रह्माण्ड उत्पन्न हुन्छन् भन्ने कुरा ब्ल्याक होलमा रहेको डार्क इनर्जी संग मिलिरहको छ । यसरी वेदले भनेको कुरालाई विज्ञानले प्रमाणित गरेर वेद र सनातन सत्य प्रतिको आस्था निर्माण गरिरहेको छ । वैज्ञानिकहरूले ब्ल्याकहोलले पिण्डहरू निगल्ने र ह्वाईट इनर्जीबाट नयाँ पिण्डहरू निर्माण गर्न सक्ने कुराको अनुमान गरिरहेका छन् । कृष्णको त्यस अवतारमा कालो वर्णको अर्थ पनि यही हुन सक्छ । किनकी पूर्वीय दर्शनमा काली शक्तीलाई सबैभन्दा ठूलो शक्ती मानिन्छ । शिवको विनाशकारी रौद्ररुप पनि कालो नै छ ।

वैज्ञानिकहरूले सायद त्यसैलाई पो Dark Energy भनिरहेका छन् की ! भौतिक विज्ञानको क्वान्टम सिद्धान्त अनुसार प्रकाशको कण फोटोन पिण्डहिन हुन्छ । न्युटोनियन सिद्धान्त अनुुसार पिण्ड नै नभएको पार्टिकललाई गुरुत्वले तान्दैन । त्यसोभए ब्ल्याकहोलले कुन शक्तिको आधारमा प्रकाशलाई तानिरहेको छ ? वैज्ञानिकहरूले ब्ल्याकहोलको गुरुत्वाकर्षणले प्रकाशलाई पनि तानिरहेको छ भनेर कसरी भनिरहेका छन् ? भौतिक चिजले त्यस डार्क इनर्जी लाई देख्न सक्दैन । तर त्यो कृष्णशक्ती छ, जसको लागी आध्यात्मिक आँखा खुल्नको विकल्प छैन । हामीले आँखा बन्द गर्दा अन्धकार नै देख्छौँ, भौतिक आँखाले देख्ने चिजहरू भन्दा भौतिक आँखा बन्द गर्दा देखिने अन्धकार भित्र कयौँ रहस्यहरू छन् । अब अवचेतन अवस्थाबाट चेतनमा आफुलाई प्राप्त गर्न भौतिक आँखा बन्द सँगै मनलाई त्यसमा लिन हुनदिन आवश्यक छ । त्यस कालो अँध्यारो (डार्क इनर्जी) भित्र बल्ल हामी वास्तविक म लाई पाउनेछौँ । जसरी वैज्ञानिकहरूले ब्ल्याकहोल भित्र नै पो हामी र हाम्रो ब्रह्माण्ड छ की भन्ने अनुमान गरिरहेका छन् । 

आदि गुरु शंकाराचार्यले आफ्नो ब्रह्मसुत्रमा “अहम् ब्रह्मास्मी”  भनेर अद्वैत सिद्धान्तको प्रतिपादन गरेका थिए ।  “अहम् ब्रह्मास्मी”  को अर्थ हो म नै ब्रह्म हुँ । यस ज्ञानलाई प्राप्त गर्ने व्यक्ती लाई ब्राह्मण भनिन्छ । ब्राह्मणको अर्थ आध्यात्मिक दृटिकोणबाट हेर्दा ब्रम्ह ज्ञानी भन्ने नै हुन्छ । ब्रम्ह ज्ञानीको स्थितीमा पुग्नु स्वयम् ब्रम्हमा लिन हुनु हो । ब्रम्हमा नै लिन भएको आत्मा परमात्मा नै हो । जसरी सागरको पानीको थोपा फेरी सागरमा पर्दा सागरै हुन्छ त्यसरी नै ब्राह्मण स्वयम् ब्रम्ह हो । परमात्माबाट अलग हुनु भनेको परमात्माबाट अगल छु भन्ने भ्रम रहनु नै त हो । यो भ्रम पूर्ण रुपमा मेटिन सक्नु नै मोक्ष प्राप्ती हो । ब्रम्ह को अर्थ परम सत्य भन्ने हुन्छ । परम सत्य त्यो हो जो कहिल्यै नाश हुँदैन । यस परम सत्य लाई मुण्डुकोपनिषद्मा परा विद्या(पराभौतिक) भनिएको छ ।  वेदका चार  विभाग छन् (ऋग्वेद, यर्जुवेद, सामवेद, अथर्ववेद) जसलाई हामी चार वेद भन्छौँ । खासमा कर्मकाण्डको आधारमा मन्त्रअनुुसार वेदहरू चार भएका हुन । सबै वेदका चार भाग रहेका छन् (संहिता, ब्राह्मण ग्रन्थ, आरणक्य र उपनिषद । उपनिषद् वेदको सार हो । वेदको अन्त्य उपनिषमा हुने भएकाले यसलाई वेदान्त पनि भनिन्छ ।

वेदको ज्ञानकाण्ड उपनिषद्लाई मानिन्छ । उपनिषद्को संख्या १२८० भएको मानिएता पनि १०८ उपनिषदको मात्रै पाण्डुलिपी भेटिएको छ । त्यही १०८ उपनिषदु मध्ये एक मुण्डुकोपनिषद्  पनि हो । वैज्ञानिक तरिकाको खोज, अन्वेषणले परा विद्यालाई प्राप्त गर्न र प्रमाणित गर्न असम्भव प्रायः छ । विज्ञानले केवल अपरा विद्याको (भौतिक) खोज गर्न सक्छ । जुन विद्या अपरा छ त्यो सत्य कसरी हुन सक्छ  ? अहिले ब्ल्याकहोलको अध्ययन पनि त्यस्तै छ । जबसम्म त्यसको भौतिक अस्थित्व छ, त्यहाँसम्म मात्र वैज्ञानिक खोज हुन सक्छ, त्यसभन्दा अगाडि कुनै पराभौतिक शक्ति छ, जसको केवल अनुमान मात्रै गर्न सकिन्छ । अनि अनुमान गरिएको कुरा वैज्ञानिक कसरी भयो ? केही तर्कका आधारमा त पराभौतिक शक्तिको अनुमान हाम्रा क्रषिमुनीले पहिल्यै गरिसकेका छन् नी ।

 विज्ञानले सुक्ष्म पदार्थको पनि अध्ययन गर्न एटोमिक माइक्रोस्कोप बनायो । तर जुन अव्यक्त चेतना छ  त्यसलाई कसरी अध्ययन गर्ने विज्ञानसँग कुनै तरिका छैन, यद्यपी चेनतालाई विज्ञानले स्विकार्न मात्र सकेको छ । वेदले त्यही चेतनालाई देख्नसक्ने दिव्य दृष्टिको बोध गराउनमा मदत गर्छ । जुन शक्तिभित्र सारा ब्रह्माण्ड अवस्थित छ, त्यसलाई देख्न कुनै पनि भौतिक तरिका उपयोगी हुन सक्दैन । पहिले विज्ञानले ठूलो वस्तुमा बढी शक्ति हुन्छ भन्न मान्थ्यो, तर अहिले जुन वस्तु जती सुक्ष्म छ त्यति नै शक्तिशाली हुन्छ भनेको छ । यही कुरा लाई हाम्रा धर्मशास्त्रहरूमा पहिले नै व्याख्या गरिएको थियो ।

महर्षी याज्ञवल्क्य र विदुषी गार्गीको संवादमा गार्गीले याज्ञवल्क्यलाई पथ्वी, जल, वायु र आकाशको अवस्थीती बारे प्रश्न गर्दा क्रमशः पृथ्वीलाई जलले, जललाई वायुले, वायुलाई आकाशले धारण गरेको छ भनेर याज्ञवल्क्यले जवाफ दिएका थिए ।  यसरी स्थुललाई सुक्ष्मले धारण गरेको कुरा याज्ञवक्ल्य र गार्गीको संवादमा प्रस्ट छ र यसलाई विज्ञानले समेत प्रमाणित गरिसकेको छ । ९९.९९ प्रतिशत आकाश त हामी भित्रै छ ।

(वैज्ञानिकहरूले हालसम्म पत्ता लगाइसकेको सबैभन्दा सुक्ष्म पदार्थ एटम हो, एउटा एटमभित्र ९९.९९ प्रतिशत आकाश हुन्छ । मानव शरिरको सबैभन्दा सानो इकाई कोशिकाको हरेक कोषिकामा एक सय अर्ब एटम हुन्छ । मानव शरिरमा करिब ३७.२ खर्ब त कोशिका नै हुन्छन्  यस हिसाबले ३७.२ खर्ब गुणा १०० खर्ब गर्दा मानव शरिरमा ९९.९९ प्रतिशत आकाश छ ) । आकाश जती विशाल छ त्यतिकै सुक्ष्म पनि रहेछ । यस सुक्ष्मको पनि कारक नै ब्रह्म हो । यहाँ सम्म भौतिक ज्ञान(अपरा विद्या) को कुरा भएकाले विज्ञानले प्रमाणित गर्न सक्यो । यसभन्दा अगाडि आकाशलाई के ले धारण गरेको छ भन्ने प्रश्नको उत्तर विज्ञानले प्राप्त गर्न सक्दैन । यसको उत्तर परा विद्या बाट ध्यान बाट मात्रै जान्न सक्छौँ । परा विद्या प्राप्त गर्न विज्ञान सँगसँगै हाम्रा सनातन शास्त्रहरूको समेत अध्ययनको विकल्प छैन । त्यसैले त भनिन्छ, 'जहाँ विज्ञान टुङ्गिन्छ, त्यहाँबाट आध्यात्म शुरू हुन्छ ।'

कमेन्ट गर्नुहोस्