
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर प्रतिकूल मौसमका कारण आकस्मिक अवतरण गरेको छ ।
शुक्रवार दिउँसो कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा ४ बजेर ५० मिनेट जाँदा आकस्मिक अवतरण गरिएको हो ।
प्रतिकूल मौसम भएकाले हेलिकप्टर आकस्मिक अवतरण गर्नुपर्नेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हेलिकप्टर आकस्मिक अवतरण गरेपछि प्रधानमन्त्री ओली आधा घण्टाभन्दा धेरै ब्यारेकमै बसेका थिए । मौसममा सुधार आएपछि हेलिकप्टर कपिलवस्तुतिर लागेको छ ।
आधा घण्टाको भरतपुर बसाइका क्रममा प्रधानमन्त्री ओलीलाई भेट गर्न भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पुगेकी थिइन् ।