२६ जेठ २०८३, मंगलबार
समाजसेवा

मनकारी इन्जिनीयरको ‘होटल इन्जिनीयरिङ’ : विपन्नलाई २५ रुपैयाँमा खाना

जेठ ४, २०७६
मनकारी इन्जिनीयरको ‘होटल इन्जिनीयरिङ’ : विपन्नलाई २५ रुपैयाँमा खाना

बुुटवल – रूपन्देहीको सिद्धार्थनगर इन्जिनीयर रविकुमार रौनियारले लामो समयदेखि सडक बालबालिका, मानसिक सन्तुलन गुमेका सडकमा हिड्ने मानिसलाई खाना खुवाउँथे । सानैदेखि समाजमा केही सामाजिक काम गर्ने सोच राख्दै आएका छन् रौनियार ।

अनाथलाई खाना खुवाउँदै गर्दा उनको मनमा सोच आयो । अब कम आम्दामी हुने, श्रमिकलाई सस्तोमा खाना खुवाउनुपर्‍यो । होटलमा मजदुरले खानाको १ सय ५० रूपैयाँसम्म तिर्नुपर्ने अवस्था छ ।

रौनियारले आफ्नी आमा मायादेवीको सम्झनामा श्रमिक, निम्न वर्गीय व्यक्तिलाई लक्षित गरी मात्र २५ रुपैयाँमा पेटभर खाना खुुवाउन थालेका छन् । ३६ वर्षीया रौनियारको समाजसेवी काम देखेर रूपन्देहीबासी छक्क परेका छन् ।

उनी भन्छन्, ‘कम्तीमा १ छाक खानामा लगानी मात्र ५० रूपैयाँभन्दा बढी पर्ने रहेछ । मैल सबै क्षेत्रमा सहयोग मागेको छु । सबैले हात अगाडि बढाएका छन् । निम्न वर्गीयहरू आम्दानीको केही रकम बचाउन भन्ने उद्देश्यसहित अभियान थालेको हुँ ।’ इन्जिनीयर रौनियारले गरीबका लागि खानाको ‘इन्जिनीयरिङ’ गर्दै सस्तो बनाएका छन् ।

उनले थपे, ‘२५ रुपैयाँको शाकाहारी खानामा दाल, भात, तरकारी वा रोटी, तरकारी वा कहिले खीर, तरकारी त कहिले परौठा आदि परिकार पालैपालो खुवाउँछु ।’ पहिलो चरणमा उनले घुम्ती सेवामार्फत खाना खुवाउन थालेका छन् । युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल, लुम्बिनी रण अम्बिका आँखा अस्पताल, धेरै विद्यार्थी पढ्ने सामुदायिक स्कूलमा यस्तो सेवा दिइरहेका छन् ।

‘अस्पतालमा काम गर्ने मजदुर, रिक्सा चालकहरू हुने ठाउँमा बिहान र सामुदायिक स्कूलमा दिउँसो खाजा खाने समयमा सेवा दिएका छौं, जसले गर्दा न्यून आय भएका र विद्यार्थीलाई राहत मिल्नेछ,’ रौनियारले भने, ‘शुरूमा हप्तामा १ दिन ५ सय जनासम्मलाई खाना खुवाउँछौं, ३ महिना पुग्दा सातै दिन सेवा दिन्छौं र महिनामा १५ हजार जनालाई खाना खुवाउने गरी तयारी गरेका छौं । उनको टीममा २० जना छन् । खाना पकाउन १० जना र बाँड्न १० जना गरी २० जना जनशक्ति व्यवस्थापन भइसकेको रौनियारले बताए ।

शुरूवातमा एउटा ट्रकबाट घुम्ती सेवा दिने र भदौदेखि सिद्धार्थनगरका ३ वटा वडाका निश्चित स्थानमा टेन्ट टाँगेर खाना खुवाउने उनले बताए । आवश्यकता र माग अनुसार भविष्यमा ५ वटा मिनी ट्रकमार्फत घुम्ती सेवालाई निरन्तरता दिने उनले बताए ।

आवश्यकता र माग अनुसार भविष्यमा ५ वटा मिनी ट्रकमार्फत घुम्ती सेवालाई निरन्तरता दिने र सिद्धार्थनगरका सबै वडा हुँदै रुपन्देही जिल्लाभर सेवा विस्तार गर्ने लक्ष्य रहेको रौनियार बताउँछन् । ‘मेरी आमाले निधन हुने बेलामा मेरो पैसाले गरीब दुःखीका लागि केही राम्रो काम गर्नू भनेर जानु भएको थियो, एउटा त्यही प्रेरणा हो । अर्को युवा उमेरमै पर्यटन मन्त्री रविन्द्र अधिकारीको अकल्पनीय निधन भएपछि समाजका लागि केही गर्नुछ भने भविष्यलाई साँचेर राख्न हुन्न भन्ने भयो,’ रौनियारले भने, ‘मन्त्री रविन्द्र अधिकारीको अकल्पनीय निधनले छिटो शुरू गरें ।’

२०६७ सालमा आमा निधन हुँदा उनको नामको २५ लाख रुपैयाँ बैंकमा जम्मा गरेका रविले हरेक वर्ष आफ्नो कमाइको ५ लाख थप्दै गएपछि अहिले करीब ६० लाख रुपैयाँ रकम पुगेको बताए । यसरी सस्तोमा खाना खुवाउने कामको शुरूवात गर्न भारतको दिल्ली र गुजरातमा पुगेर अध्ययन गर्नुका साथै २ वर्षको तयारी गरेको रौनियारले बताए ।

उक्त रकम मायादेवी च्यारिटेबल फाउन्डेसनको नाममा राखेर त्यसैबाट २५ रुपैयाँमा खाना खुवाउने योजना बनेको उनले बताए । अभियानलाई निरन्तरता दिन उनले कसैबाट नगद सहयोग नलिने बताएका छन् । उद्योगी, व्यवसायी वा संघसंस्थाले स्वेच्छाले खाद्यान्न, दलहन, तेलहनजस्ता जिन्सी दिएमा भने लिन सकिने उनले प्रष्ट पारे । २५ रुपैयाँ मूल्यको खाना रिक्सा मजदूर वा अस्पतालमा आएका गरीब परिवारका सदस्यले मात्र होइन, जुनसुकै वर्गकाले पनि खान पाउने छन् । ‘कार चढेर आउने व्यक्तिले पनि हाम्रो सेवा लिन सक्छन् र अभियानमा स्वेच्छिक जिन्सी सहयोग गर्न सक्छन्,’ उनले भने ।

उनले राज्यले लगानी गर्न नसकेका क्षेत्रमा मायादेवी च्यारिटेबल फाउन्डेसनजस्ता संस्थाका कारण नेपाल धेरै क्षेत्रमा अगाडि बढेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्