ईर्ष्यालाग्दो सीप, रहरलाग्दो जाँगर

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

नेपालको आधुनिक राजनीतिक इतिहासको आरम्भ विन्दु २००७ साललाई मान्दाखेरि त्यसअघिको दशक र त्यसपछिको दशकलाई जानकारीमा लिनु स्वाभाविक हुन्छ । अघिको दशकतिर फर्किँदा १९९७ सालमा टङ्कप्रसाद आचार्य नेतृत्वले गराएको जन-जागरण अभियानतिर पुगिन्छ भने सातसालपछिको दशकलाई नियाल्दा पहिलो आम-चुनावबाट निर्वाचित बीपी कोइरालाको सरकार बनेको तर १८ महिनामै अपदस्थ हुँदाको स्थिति अर्थात् २०१७ साल पौष १ गतेसम्म तन्किएर जान्छ । त्यसपछि राजा महेन्द्रले थालनी गराएको पञ्चायत पद्धति २०४६ सालमा (वीरेन्द्रको शासनकाल) परिवर्तन हुन गएको हो ।

प्रधानमन्त्री मोहन शम्शेरले २००६ सालमा शुरू गराएको पञ्चायत प्रणालीमा श्री पशुपति पञ्चायतको प्रधानपञ्च नै विवेच्य पुस्तक ‘बिर्सनै नहुने कृष्णप्रसाद‘ का मुख्य पात्र हुन् । ‘पार्लियामेन्ट’ खडा गर्ने क्रममा चारभञ्याङभित्र गठन भएका ३५ पञ्चायतका प्रधानपञ्चहरूमध्येबाट चुनिएका ‘मेम्बर’ (सदस्य)पनि भए कृष्णप्रसाद । भन्छन्: ‘चुनाउ हुँदा २३ जनाले मतर्फ हात उठाए । भोटले मेरो जीत भयो’। सातसालको हेरफेरपछि पहिलो गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला र प्रधानपञ्च कृष्णप्रसाद बीच पशुपतिनाथको मन्दिर सञ्चालनबारे कुराकानी हुने गरेको रहेछ । हेरफेर अगाडिका घटना, प्रसङ्गहरूमध्ये एउटामा पार्लियामेन्टको उद्‌घाटनको लागि तोकिएको दिन (६ असोज २००६ साल) का घटनाको वर्णन भेटिन्छ । पार्लियामेन्टका मेम्बरहरूको सामेली बेला-बखत भइरहन्थ्यो तर त्यस्ता भेलाले निर्णायक काम भने गर्नसक्ने अवस्था थिएन ।


Advertisement

सातसाल कार्तिक २१ गते राजा त्रिभुवन भारतीय दूतावासमा प्रवेश गरेपछि आत्तिएका मोहनशम्शेरले सिंहदरबारमा गराएको सामेलीमा राजगद्दी खाली राख्न नहुने हुनाले नाति ज्ञानेन्द्रलाई राजा बनाउने विचार गरेकोले ‘तिमी सबैलाई बोलाएको हो’ भनेछन् । अरूहरूले सहमतिमा मुण्टो हल्लाए , तर कृष्णप्रसादले बेग्लै विचार सुनाउने हिम्मत गरे जुन कुरा पुस्तकको ‘रामकहानी’ अध्यायमा पढ्न पाइन्छ: “ मैले ‘निज त्रिभुवन छँदै उहाँको बदलामा नसोधी, नबुझी राख्न होवैन होला’ भन्दा ‘लिन पठाउँदा दर्शन समेत नदिई जे जसो गर्नुपर्ने हो गर । भनी पठाएकोले आफ्नो राजगद्दी छोडी दूतावास भागी जानुभएकोले अब निजको ठाउँमा ज्ञानेन्द्रवीरविक्रमलाई राख्ने हुँदा तिमी सबै हनुमानढोकामा जानू, म पनि आउँछु’ भनी विदा दिए”। पछि अरूहरू हनुमानढोका गएछन्, तर कृष्णप्रसाद गएनछन् ।

इतिहास-लेखकले चर्चित किताबमा समकालीन राजनीति बुझ्न काम लाग्ने धेरैवटा कडी फेला पार्छन् । तर कृष्णप्रसादको राजनीतिक पृष्ठभूमिले मात्र यो पुस्तकलाई यहाँ पठनीय छ भन्न खोजिएको होइन । उनी लोभलाग्दा सीप जानेका र रहरलाग्दो जाँगर भएका त्यस्ता नेपाली रहेछन् जसलाई अचेलको बोलीचालीमा नागरिक समाजका अगुवा भन्नु उपयुक्त होला ।


Advertisement

कृति: बिर्सनै नहुने कृष्णप्रसाद
लेखक: निर्मलकुमार आचार्य
प्रकाशिका: रमिला आचार्य
प्रकाशन: २०७५ असार
पृष्ठ: १६७ +
मूल्य: रु ३००/-

‘बिर्सनै नहुने कृष्णप्रसाद’ पुस्तकका पाठकले उनलाई सेनाको सिपाही, प्रहरीको अधिकृत (गुप्तचर समेत), साहित्यकार, पुस्तक व्यवसायी, छात्रावास सञ्चालक समेतका अनेक कामका पकड भएको व्यक्तिको रूपमा चिन्ने मौका पाउँछन् । फर्पिङबाट बिजुली निकाल्ने श्री ३ चन्द्रको परियोजनाकालमा कृष्णप्रसादले सैनिक कर्मचारी भएर काम गरेका थिए ।

वि.सं.१९५१ मा जन्मेर २०४५ सालमा देहत्याग गर्ने कृष्णप्रसाद देशमा भएका अनेकानेक घटना र दुर्घटनाका साक्षी हुन पुगे । ९० सालको भूइँचालो तीमध्येको एउटा घटना हो । मुलुकमा आएका अनेक उतार-चढाउमा उनी देखिजान्ने र सुनजान्ने मात्र हैनन् भोगीजान्ने समेत हुन् । उनको बाल्यकाल सर्वथा बेग्लै परिवेशमा बितेको देखिन्छ । उनको एक फुटकर कवितामा भेटिन्छ: “आचार्य कृष्णप्रसाद नाऊँ, जान्नु हओस् डिल्लीबजार गाउँ”। स्पष्टै छ, उनी राजधानीको डिल्लीबजार ‘गाउँ’ छँदा हुर्के-बढे-पढेका नेपाली हुन् । कालान्तरमा त्यही डिल्लीबजारमा छात्रावास खोलेर त्यस व्यवसायको अग्रणी भए, त्यही डिल्लीबजारमा ‘न्याय सम्पादन’ कार्यालय खोलेर वकालतलाई पेशागत रूप दिए ।

पुस्तक तीन खण्डमा बाँडिएको छ: पहिलोमा लेखक निर्मलकुमार आचार्यका कृष्णप्रसादबारेका लेख-आलेख छन्; दोस्रोमा कृष्णप्रसादको आत्मकथा छ र तेस्रोलाई परिशिष्ट खण्ड तुल्याइएको छ जसमा कृष्णप्रसादले बेला-बखत गोरखापत्रमा छपाएका व्यावसायिक विज्ञापनहरू समेत छन् । विवरण विस्तृत छन् र आवरण आकर्षक छ ।

कृष्णप्रसाद प्रतिभाशाली व्यक्तित्वका धनी भईकन पनि सरल र विनयशील थिए जसको झलक सातसाल माघशुक्ल पूर्णिमाका दिन ‘संसद् सदश्य...(न्याय समिति)’ को हैसियतले उनले प्रकाशित गरेको सार्वजनिक अपीलको पुछारमा परेको यस अंशमा पाइन्छ : “म एकदम विद्याहीन मूढ जीव हुँ । यो मेरो लेख कुनै लायक छैन । यो मैले गरेको अपील मन्त्रीवर्गले र दुनियाँ सबैले मान्नु नै ठीक पर्दछ भन्ने मेरो भनाइ, जिद्दीगराइ होइन । मनमा लागेको कुरा प्रकाशसम्म गरेको हुँ..” (यस कथनको भाषामा सामान्य सम्पादन गरिएको छ।)

इतिहासकार डा.महेशराज पन्तले लेखिदिनुभएको भूमिकाले ‘बिर्सनै नहुने कृष्णप्रसाद’को वजन बढाएको छ । पन्तले ‘रामकहानी’ खण्डमा कृष्णप्रसादको जीवनी पढ्दा आफूले काशीनाथ आचार्य दीक्षित, चिरञ्जीवी पौड्याल र राममणि आचार्य दीक्षितका आत्मचरित पढ्दाको सम्झनासँग दाँज्नुभएको छ । यस कथनले लेखक निर्मलकुमार आचार्यलाई  अनुसन्धानमूलक किताब लेख्दै जाने हौसला प्रदान गरेको छ । हुन पनि हो, एक समय गोरखापत्रका प्रधान सम्पादक रहिसकेका आचार्यले मेहनत र अनुसन्धानतिरको आफ्नो जाँगर कायम राखेमा अन्य उपयोगी ग्रन्थहरू पनि निस्कने आशा गर्न सकिन्छ । कृष्णप्रसादका नातिबाट गरिने अपेक्षा यस्तै हो । 

कमेन्ट गर्नुहोस्