आफू बन्ने ५ वटा सूत्र

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

आफूलाई चिन्नुपर्छ सबै भन्छन् तर चिन्ने कसरी त्यो भने खासै उल्लेख भएको पाइन्न ।

कदाचित पाइहाले पनि अमूर्त नै हुन्छन्, व्यावहारिक देखिन्न । त्यसैले आउनुस् आजको बसाइमा यसैलाई निहाल्ने प्रयास गरौं । 


Advertisement

सबैभन्दा पहिले आफूलाई हेर्नुस् अनि आफू कहाँ छु भन्ने पत्ता लगाउनुस् । आफ्नो शक्तिलाई हेर्नुस्, आवश्यकतालाई हेर्नुस्, आफू बन्ने प्रयास गर्नुस् । आफूलाई मायाँ गर्नुस्, प्रेम गर्नुस्, दया गर्नुस्, जे गर्नुपर्छ गर्नुस् । अनि आफूलाई चाहिने चीजलाई मायाँ गर्नुस् । जतन गर्नुस्, सदुपयोग गर्नुस्, सड्न नदिनुस्, कुहिन नदिनुस्, दुरुपयोग नगर्नुस् । चाहिने जति लिनुस् नचाहिने जस्तो थियो त्यस्तै छाडिदिनोस्,ि जसको हो, उसैलाई रखिदिनोस् । आफ्नो खुट्टा दह्रोसित टेक्नुस् । टेकिएको छ, छैन मनन गर्नुस् । त्यसपछि मात्र अर्को पाइला चाल्नुस् । सदा प्रसन्न रहनुस्, सहने प्रयास गर्नुस्, सकारात्मक हुनुुस्, नम्र हुनुस्, धैर्य गर्नुस्, आशावादी हुनुस्, आज नभए भोलि हुन्छ भन्नुस् । कुनै पनि चमत्कार तत्कालै हुँदैन भन्नेमा विश्वास गर्र्नुस्, ठान्नुस् ।  

हिँडिरहनुस्, समातेको बाटो न छाड्नुस्, हिँड्नुपूर्व आफूले समाउन लागेको बाटो ठीक छ, छैन हेर्नुस्, मनन गर्नुस् । अन्तरात्मालाई सोध्नुस्, पटक पटक सोध्नुस्, उत्तर नआएसम्म सोधिरहनुस् । अन्तरात्माले ठीक ठाने हिँड्न शुरू गर्नुस् अन्यथा अर्को बाटो खोज्नुस् । बाटो पत्ता लागेपछि नछाड्नुस् । दही मन्थन गर्नेले घ्यु नआएसम्म मन्थन गर्नैपर्छ । दुईचार सर्को तान्दैमा घ्यु आएन भनेर छाड्नु हुँदैन । अन्यथा घ्यु आउँदैन दही पनि बिग्रन्छ । दही बिग्रियो भने त्योभन्दा नराम्रो केही हुँदैन । मन्थन गरिरहनुस् घ्यु अवश्य आउँछ । किनभने दहीभित्र घ्यु हुन्छ । दही हुने नै घ्युभित्र हो । इनार खन्नेले पानी नआएसम्म खन्नैपर्छ । खनिरहनुुस् पानी आउँछ । किनभने पानी जमिनभित्रै छ । यस्तै नियम अन्यत्र पनि लागू हुन्छ । अर्थात् बाटो नछाड्नुस् । निरन्तर अघि बढी रहनुुुस् । निरन्तर हिड्नुस्, हिडिरहनुस्, चरैवैति चरैवैति । 

हिडिरहे गन्तव्य टाडा भए पनि पुगिन्छ भन्ने ठान्नुस्, हिडिरहनुस् । तपाईंको आफ्नो भन्ने नै त्यही हो । तपाईंले समाउनु भएको बाटो त्यही हो, त्यो तपाईको हो, तपाईंको आफ्नो हो । अरुले के भने छाड्नुस् । आफूले के भनिएको छ त्यतातिर ध्यान दिनुस् । तपाईंले समाउनु भएको बाटो तपाईकै हो, माया गर्नुस्, सम्मान गर्नुस् । सफा राख्नुस् । तपाईको बाटोलाई तपाईंले माया नगरे कसले गर्ने ? कुनै पनि काम सानो र ठूलो हुँदैन भन्ने ठान्नुस् । तपाईंले माया गरे उसले पनि माया गर्छ । तपाईंको चाहना पूरा गरिदिन्छ, गन्तव्यमा पुर्‍याई दिन्छ । अरुले हिडेको बाटो अरुलाई नै छाडिदिनुस् । त्यो बाटो तपाईंको होइन । अरुले समातेका हुन्, अरुकै हो । उनीहरूकै अनुकुल छ, तपाईंको अनुकुल छैन । त्यो तपाईंले समातेको बाटो होइन । अरुले समातेका हुन्, अरुकै हो । 

दोस्रो कुरा आफूले बोक्न सक्ने मात्र भारी बोक्नुस् । आफ्नो भारी आफै बोक्नुस् । अरुलाई बोक्न नलगाउनुस् । अरुले बोकेपछि अरुकै हुन्छ । तपाईँंको हुँदैन । किनकि त्यो तपाईंले बोक्नुभएको छैन । अरुले खाए अरु नै अघाउँछन् । अरुले बोके अरु नै धनी हुन्छन् । चाहिनेभन्दा बढी लोभ नगर्नृृस् । बोक्न नसक्ने भारी बोक्ने चेष्टा नगनु्स् । पेटले धानेको जति खानु्स् । बढी खान खोजे दुरुपयोग हुन्छ । तपाईको भनेको तपाईंको पेटमा गएको जति मात्र हो । त्यो पनि तपाईंको पेटले पचाउन सकेको जति मात्रैं । बढी खाए अरुले नै फिर्ता लिन्छन् । प्रकृतिले लिन सक्छ । समाजले लिन सक्छ । सरकारले. लिन सक्छ । अर्कै तरिकाले । 
कम बोल्नुस्, मीठो बोल्नुस् । बोल्नु अघि पटक पटक सोच्नुस् । ताकि तपाईंको बोलीले अरुलाई नोक्सान नगरोस् । अरुलाई नोक्सान गर्नु भनेको अन्ततः आफैलाई नोक्सान गर्नु हो भन्ने बुझ्नुस् । अरुको मन दुखाए उनीहरूले पनि तपाईंको मन दुःखाउँछन् । जे दिएको छ त्यही पाइने हो । आफू भलो जगत भलो भन्ने उखानै छ । बोल्नका लागि मात्र नबोल्नुस् । आफूले जानेको बोल्नुस् । आफ्नै भाषा प्रयोग गर्नुस् । जुन भाषामा बोल्न सुरु गरिएको छ अन्त्यसम्म त्यही भाषा प्रयोग गर्नुस् । अरुको भाषाको शब्द बीचमा नघुसाउनुस् । बढी जान्ने हुन खोज्दा नजान्ने हुृन सकिन्छ । जानेको जति बोल्नुस् नजानेको जति जानेको छैन भन्नुस् । यसो भन्दा सानो भइन्न । बरु ठूलो बन्न सकिन्छ अरुको नजरमा । 

तेस्रो कुरा आफै मपाईं नबन्नुस् । तपाई तपाईं नै हो । मपाईं बन्न खोजेको भरमा मपाईं बनिने होइन । तपाईं भन्ने अरुले हो, आफूले आफैलाई होइन । तपाईं भन्ने अरुले नै हो, उनीहरूलाई नै छाडिदिनुपर्छ । 

चोथो कुरा काम गर्दा गल्ती हुन सक्छ । अच्युत भगवान मात्र हुन्छन् । तपाईं मानिस हो, अच्युत होइन । मानिस सबै च्युत नै हुन्छ । गल्ती गर्ने भनेको काम गर्ने नै हो । गल्ती भयो भनेर चिन्ता नगर्नुस् । गल्ती हुन्छ, सबैले गल्ती गर्छन् तर गल्ती भएपछि माफी माग्न नबिर्सनुस् । माफी माग्दा सानो भइन्न । बरु ठूलो नै बनिन्छ । सकेसम्म सरल बन्नुस् तर सस्तो चाहिं नबन्नुस् । 

पाँचौ कुरा पहिले आफू बन्नुस् । आफू बनेपछि मात्र अरुलाई बनाउने प्रयास गर्नुस् । परोपकार गर्नुपर्छ तर त्यो आफू बनेपछि मात्र सम्भव हुन्छ । अन्यथा अभिनय मात्र हुन्छ । परोपकार हुँदैन । अहिलेसम्म भएकै त्यही हो । अभिनय अभिनय नै हुन्छ, सत्य हुँदैन । यसले क्षणिक लाभ होला तर त्यसबाहेक केही गर्दैन । हामीले अभिनय धेरै गर्‍यौं । धर्मशास्त्रले पनि यही सिकाएको छ । धर्मगुरुले पनि यही सिकाएका छन् ।

समाजले यही सिकाएको छ,  शिक्षाले यही सिकाएको छ, सरकारले यही सिकाएको छ । फलतः न हामी बन्यौं न अरुलाई बनाउन सक्यौं । अव पनि अभिनय नै गर्ने हो भन्ने छुट्टै कुरा होइन भने पहिले आफै बन्नु्स् । 

जब तपाईं बन्नुहुन्छ अरु स्वतः बन्छन् । यो त्यस्तो शृंखला हो, एउटा बनेपछि अरु आफै थपिंदै जान्छ, बन्दै जान्छ, जसको अहिलेसम्म सुरुवात नै भएको छैन । त्यसैले त्यसको शुरूवात तपाईंबाटै गर्नुस् । पहिलो शुरूवातकर्ता तपाईं नै बन्नुस् । त्यसैलै नै तपाईलाई बनाउँछ, चिनाउँछ, उठाउँछ । अहिलेलाई यति नै बाँकी अर्को भेटमा ।

कमेन्ट गर्नुहोस्