
ललितपुर- बुद्ध जयन्तीका दिन कुनैपनि पशुको बध नहुने भएको छ । २५६३ औं बुद्ध जयन्तीको अवसरमा पशु कल्याण संघ नेपालले ललितपुर जिल्लाका मासु व्यवसायीहरूसँग गरेको अन्तक्रियामा राष्ट्रिय खड्गी समाज ललितपुरका अध्यक्ष अरोज कुमार खड्गीले सो घोषणा गरेका हुन् ।
अध्यक्ष खड्गीले भने, 'गौतम बुद्धलाई अहिंसा, दया, करुणा तथा प्रेमको प्रतिकको रूपमा मानिने भएकाले उनको सम्मानमा कम्तिमा बुद्ध जयन्तीको दिन पशु बध नगर्ने निर्णय खड्गी समाजले गरेको हो ।'
शुक्रवार ललितपुरको कुमारीपाटीमा भएको कार्यक्रममा पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याण स्थापनाका लागि हामी सबैले पशुहरूप्रति असल व्यवहार गर्नुपर्ने बताइन् । सबै प्राणीहरू समान हुने हुँदा सर्वश्रेष्ठ प्राणी भएको नाताले हामी मानिसहरूले अबोध प्राणीहरूप्रति दयाभाव राख्नुपर्ने उनले बताइन् ।
पशुहरूले पनि जन्मदेखि मृत्युपर्यन्त सहज जीवन व्यतित गर्न पाउनुपर्छ भन्दै बुद्ध जयन्तीको दिन पशु बध नगर्ने खड्गी समाजको निर्णयले अत्यन्तै खुशी भएको उनले बताइन् ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रतिनिधिहरू, पशु कल्याण संघका सदस्यहरू तथा खड्गी समाजका व्यक्तित्वहरूले गौतम बुद्ध र उनले फैलाएको शान्ति र अहिंसाको सन्देशको बारेमा चर्चा गरेका थिए ।