‘बम ब्लास्ट’ गर्दा पहराबाट खसेर मजदुरको मृत्यु

बलेवा – कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका १ मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ ।

बागलुङ–बलेवा खण्डको दम्क, सिउडेमा रहेको पहरामा प्वाल पार्ने क्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


Advertisement

उनी करिडोर विस्तारका लागि पहरामा प्वाल पार्ने क्रममा पहराबाट ३० मिटर तल सडकमा खसेका थिए । घटनालगत्तै नेपाली सेनाको टोलीले मगरलाई अञ्चल अस्पताल बागलुङ ल्याएको थियो ।

अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक झवेन्द्रबहादुर भट्टराईले बताए । मृतकको शव परीक्षणपछि धवलागिरी अञ्चल अस्पतालमा राखिएको छ ।


Advertisement

 नेपाली सेनाको टोलीले आगामी असार मसान्तसम्ममा काम सक्ने गरी बागलुङ–बलेवा खण्डको स्तरोन्नतिको काम गरिरहेको छ । कामका लागि सेनाले मजदुर परिचालन गरेको थियो ।

अप्ठ्यारो पहरामा बम ब्लास्ट गरेर सडक विस्तारको काम भइहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्