लेख र आलेखहरूको अभिलेख

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

विगत दुई दशकभित्रैको कुरो हो । एकताका अमेरिकी सुरक्षा अधिकारीहरू ‘अल-कायदा’को आतङ्कबाट खुबै संत्रस्त रहन्थे । खास गरेर न्यूयोर्कको ‘ट्वीन टावर्स’माथिको हवाई आक्रमणले तिनका आँखालाई हरघडी सजग राखेका हुन्थ्यो । यस्तैमा कुनै एक विमानस्थलमा सीमा-सुरक्षा अधिकारीले एक युवा विदेशी आगन्तुकको गुण्टा-झिटी खोल्न लगाउँदा आवरणमा ‘अलजेब्रा’ लेखेको किताब भेटेछन् । यसमा कतै अल-कायदा जस्तै आतङ्कवादी जत्थाको हात पो छ कि भनेर थप छानबीनमा लैजान विवश भएछन् । अलजेब्रा बीजगणितको पुस्तक पनि हुनसक्छ भन्ने कुरो तिनलाई ज्ञात त हुँदो हो, तर ऐन-मौकामा हेक्का भएनछ ।

प्रसङ्ग काल्पनिक हुनसक्छ, तर भन्छन् नि---कसारको कुन गुदी कुन बोक्रो ।


Advertisement

जे होस्, यतिखेरको नेपालका प्रहरीलाई सत्ताधारीको आदेश-निर्देश हुनुपर्छ:’विप्लव’सँग सरोकार राख्ने मानिस र मालवस्तुमा कडा निग्रानी राख्नू । यस्तोमा, आदेशको पालना गर्ने क्रममा  रहेका प्रहरी वा अन्य सुरक्षा अधिकारीले ‘विप्लव’ शब्द देख्दा अघिपछिभन्दा केही चनाखोपन देखाएछन् भने त्यो आश्चर्य भएन । र, कदाचित् कसैको बाकस वा झोलामा ‘विप्लवपुरुष’ शब्द छापिएको पुस्तक फेला पर्‍यो भने एकचोटि घोत्लिन बाध्य हुनेछन् । आखिर ‘विप्लव’को अर्थ उपद्रव त हुँदै हो । तर यहाँ चर्चा गर्न लागिएको पुस्तक त्यस्तो कित्तामा पर्दैन; यसलाई बाह्रहाते टाँगोले पनि छुनुपर्ने आवश्यक छैन ।

किनभने यथार्थ बिलकुलै फरक छ: ‘विप्लवपुरुष’को विशेषण लागेका चन्द्रबहादुर थापा बरु उपद्रव मच्चाउनेहरूलाई तह लगाउन कहलिएका प्रशासक हुन् जसले राणाकालदेखि पञ्चायतको प्रारम्भिक कालसम्मको नेपालमा पालैसँग सैनिक अधिकृत, प्रहरी अधिकृत र निजामतीतर्फ मुख्य सचिवसम्मको भूमिका निर्वाह गरे । पुस्तकको नाम जुराउनेले विप्लव शब्द गाँसिदिएको हुनाले कतिपय पाठकलाई आरम्भमा भ्रम पर्नसक्दछ । वास्तवमा, ‘विप्लवपुरुष चन्द्रबहादुर थापा’ त मुलुकको पहिलो महालेखा परीक्षक भएर राष्ट्रिय स्तरको आमदानी-खर्चको हिसाबकिताब हेर्ने, जाँच्ने जिम्मेवारी समेत सम्हालेका विशिष्ट व्यक्ति हुन् ।  


Advertisement

श्री ३ छँदा देवशम्शेरले गोर्खापत्र साप्ताहिक छापाको प्रकाशन शुरु गराएको वर्ष अर्थात् वि.सं. १९५८ को पूर्वार्द्धमा जन्मेर राजा महेन्द्रको शासनकाल छँदा अर्थात् २०२३ सालको उत्तरार्द्धमा परलोक भएका चन्द्रबहादुर थापालाई जीवित किंबदन्ती मान्ने मानिसहरू अहिलेको समाजमा समेत भेटिन्छन् । राणाको पालामा जङ्गीबाट सरकारी सेवामा प्रवेश गरेका चन्द्रबहादुर थापाले तिनकै शासन-व्यवस्था अनुकूल बफादार भई काम गरे, पछिल्लो कालखण्डमा निजामतीतिरका हाकिम भए । सातसालको परिवर्तनपछि राजा त्रिभुवनबाट २००९ साल असारमा आफ्नो जन्मोत्सवको अवसरमा तत्कालीन गृहमन्त्रालयका सेक्रेटरी बृगेडियर कर्णेल चन्द्रबहादुर थापा क्षेत्रीलाई बृगेडियर-जनरल दर्जामा ‘प्रमोसन’ दिइएको थियो ।

यो गृहमन्त्रीमा बीपी कोइराला हुँदाको घटना हो । राणाशाहीको बफादारलाई त झुण्ड्याउनु पर्ने हो, त्यस्तालाई किन जर्नेल बनाइयो भनी विरोध हुँदा बीपीले इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिको खाँचो हामी सबैलाई पर्छ भनेर कार्यकर्ताहरूलाई सम्झाउनु परेको थियो । राजा महेन्द्रको राज्याभिषेक (२०१३) मा पुरष्कृत हुनेहरूमा ‘चिफ सेक्रेटरी’ थापाको नाम पनि उल्लेख छ । २०१६ सालमा बीपी प्रधानमन्त्री भएको लगत्तैपछि थापा नेपालको पहिलो महालेखा परीक्षक नियुक्त भएका र २०१७ साल पुस १ गतेपछि राजा महेन्द्रले उनको सेवालाई निरन्तरता दिएको अभिलेख यस किताबमा भेटिन्छ । दरबार स्कूलबाट म्याट्रिकुलेसन र कलकत्ता विश्वविद्यालयबाट आई.ए. पास गरेको हुनाले थापाले समय अनुसार उच्चशिक्षा हासिल गरेकै मान्न सकिन्छ ।  

कृति: विप्लवपुरुष चन्द्रबहादुर थापा
संयोजन: प्रा.डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिना
सम्पादन: रमेश दाहाल
प्रकाशक: डा.विजयकुमार,प्रवीरकुमार र सौरभकुमार थापा
संस्करण: पहिलो, २०७५ साल
पृष्ठ: ३२४+; मूल्य: रु ४००/-

चन्द्रबहादुर थापा कडा प्रशासक भएको कुरालाई समकालीन जागिरदारहरूले जग-जाहेर विषय मान्दछन् । केन्द्रीय सचिवालय सिंहदरबारबाट मुलुकको प्रशासन-यन्त्र हाँक्ने ‘जर्साब’ समयको मामिलामा घडीको सुई सरहको नियमितता पालना गर्ने भएकोले अन्य कर्मचारीहरू पनि समयनिष्ठ होउन् भन्ने अपेक्षा गरिन्थ्यो । अनुशासन कायम गराउने उनको निर्देशनले ‘चन्द्रघण्टी’ को नाम पाएको थियो । कामचोर कर्मचारी डराउँथे; राज्यकोषको पैसाको दुरुपयोग हुन पाउँदैनथ्यो । ऐन-कानूनको पालन गर्ने गराउने कुरामा कुनै मोलाहिजा राख्दैनथे जर्साबले । नयाँ सडकका बासिन्दा थापा हिंडेरै सिंहदरबार आवतजावत गर्थे, सार्वजनिक सम्पत्तिको अपव्यय र दुरुपयोग हुन नदिन हरघडी सजग रहन्थे ।

हिमालय शम्शेरको संस्मरण-लेखमा शिकारको लागि अनुमतिपत्र माग्न जाँदा अनुमतिको साटो यस्तो प्रश्नको शैलीको यस्तो जवाफ पाएछन्:---‘अर्थ सचिव भएर पनि यसरी जनावर मार्न पाइन्छ ?’ वन विभागको सेक्रेटरी थापाले राणालाई थर्काएछन् । ‘हरियो वन नेपालको धन’ भनी आफैंले दिएको नारा सार्थक तुल्याउन थापा पछिसम्म सकृय रहे ।

‘समाज’ दैनिक पत्रिका सम्पादक (हाल दिवंगत) मणिराज शर्माका लागि नयाँ सडकका अर्का बासिन्दा यी जर्साब ‘नजिकका छिमेकी’ परेछन् । ‘सञ्जय’ उपनामबाट बरोबर उपयोगी लेख, टिप्पणी उपलब्ध गराउने छिमेकीबाट शर्मा प्रभावित नहुने कुरै भएन । यसको जिकीर खुलस्त शैलीमा भएको छ । 

चन्द्रबहादुर थापाको चर्चा गर्ने अर्का पाका पत्रकारको नाम हो भैरव रिसाल । रिसालको संस्मरणमा परेको यस मन्तव्यले जर्साबको चिनारी गराउँछ:-‘...उनको उत्तम गुण भनेको नूनको सोझो गर्ने थियो । यस्तो गुण भएको मान्छे जुनसुकै प्रणालीमा पनि आवश्यक ठानिन्छन् ।...मान्छे हक्की पनि थिए ।‘

मेरा सहयोगी मित्र एवं चर्चित पत्रकार सौरभ (दिनेश सत्याल) बाट जर्साबले पदमा नरहँदा गरेको योगदान बापत स्याबासी पाएका छन् । उतिखेरको काठमाडौं नगर पञ्चायतले भूगोल पार्क मासेर घर-पसल बनाउन लागेको थाहा पाएर बृ.ज.चन्द्रबहादुर थापाले सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको मुद्दा (P I L) दायर गरेपछि जनदबाब पर्‍यो र नगर पञ्चायत त्यो योजना तुहाउन बाध्य भयो ।

मेरा पिता नन्दनहरि उपाध्याय ‘ओखलढुङ्गे’ (हाल दिवंगत) ले बीसौं वर्ष सरकारी सेवामा रहँदाको अनुभव सुनाउने क्रममा चन्द्रबहादुर थापाको नाम पटक-पटक उल्लेख गरेको मलाई सम्झना हुन्छ । एउटा प्रसङ्ग यस्तो थियो: सिंहदरबार ढोकाबाट प्रवेश गर्ने पास हरेक  कर्मचारीले सुरक्षित राख्नुपर्ने, ‘हराउन नपाइने’ चीफ सेक्रेटरीको कडिकडाउ परिपत्र थियो । तर सावधानी अपनाउँदा अपनाउँदै पनि एकपल्ट मेरो पास हरायो । केही जुक्ति त निकाल्नै पर्‍यो । त्यसैले मैले मेरो डेरामा चोरी भयो, चोरले त्यो कोट पनि लगेछ जसमा सिंहदरबारको पास राखेको थियो, खोजी गरिपाऊँ भनेर पुलिसकहाँ जाहेरी दिई त्यसको निस्सा लिएर गई सिंहदरबारमा निवेदन गरेर अर्को पास लिएको थिएँ । हराउन नपाइने न हो, तर चोराउन नपाइने भन्ने त कुरो आएन ! आदि,इत्यादि ।

विवेच्य पुस्तकमा सबैजसो सामग्री पठनीय छन्, तर तिनमा केही चाहिँ विशेष ध्यान दिएर पढ्नयोग्य छन् । नायब महालेखापरीक्षक दामोदर पुडासैनी ‘किशोर’ ले भूमिकाको रूपमा लेखेको आलेखमा महत्वपूर्ण सूचना र गहन सन्देश परेका छन् । त्यसैगरी, पुस्तक प्रकाशन संयोजनमा संलग्न प्रा.डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको आर्थिक लेखमा कर प्रणाली, खर्च नीति, भ्रष्टाचार निवारण जस्ता पक्षमा प्रथम महालेखापरीक्षक थापाका मान्यता र दिगो विकासबारेका निजका अवधारणाको सविस्तार समीक्षा भएको छ । डा. मोहन हिमांशु थापाबाट जर्साबको साहित्यिक/आध्यात्मिक चिनारी प्रस्तुत भएको छ । ‘छोटकरी रामायण’ को समालोचनाको क्रममा डा.थापाले झर्रा नेपाली शब्द र तिनको ठीक प्रयोग झल्काउने एउटा लामो फेहरिस्त नै तयार गरेको देखिन्छ । वि.सं. २००१-२ तिर गोरखापत्रमा धारावाहिक भएर छापिएको रचना ‘मेरो मनको आवेग’ ले जर्साबको धर्मकर्मबारेको मान्यता बुझ्न सघाउ पुर्‍याउँछ ।

नेपाली लोकोक्तिमा आधारित जर्साबको यो अभिव्यक्ति मननयोग्य छ:--‘...गाई मारी सो मारेको गाईको छालाको जुत्ता दान गरेर गौहत्याको पाप टर्न सक्तैन । यसो हुँदा आचरण नै ठीक राख्नु हाम्रो परम कर्तव्य हो ।‘

सामान्य पाठक र ऐतिहासिक घटनाक्रममा रुचि राख्ने दुबैथरी पाठकका निम्ति यो पुस्तक संग्रहणीय छ । ठाउँ-ठाउँमा भेटिने पुनरुक्ति हटाउन सकिएको भए किताब केही छरितो हुन पाउने थियो । सबैजसो घटना र विषय स्रोत खुलाई प्रस्तुत भएकोले यसमा पाइने सूचना र जानकारीहरूबारे ढुक्क हुन सकिन्छ ।

कमेन्ट गर्नुहोस्