
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले ‘आलोपालो सरकार चलाउने’ सहमतिको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएपछि पार्टीमा नयाँ तरङ्ग पैदा भएको छ । एक वर्षअघि एकीकरणको क्रममा भएको भनिएको सो सहमतिको पत्रनै सार्वजनिक भएपछि पार्टीमा तङ्ग पैदा भएको हो ।
बुधवार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा गरेका थिए ।
२०७५ जेठ ३ गते पार्टी एकता भएपछि प्रचण्डले स्पष्ट ढंगले आलोपालो प्रधानमन्त्रीको कुरा अगाडि सारेका छन् ।
‘प्रचण्ड’ले पार्टी एकता गर्ने क्रममा भएको आलोपालो प्रधानमन्त्री हुने सहमतिअनुसार अबको १५ महिनामा आफू प्रधानमन्त्री हुन सक्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सहमति अनुसार नै अघि बढ्नुपर्ने भन्दै दायाँ–बायाँ गर्न खोजेमा कोही टिक्न नसक्ने प्रचण्डको दावी छ । प्रचण्डले पार्टी हेर्ने जिम्मेवारी पाएको खण्डमा ओलीलाई आगामी ५ वर्ष नै प्रधानमन्त्री बनिरहन केही बाधक नहुने समेत बताएका छन् ।
सँगसँगै प्रचण्डले वर्तमान सरकारले सुशासन र विकास दिन सक्यो कि सकेन भन्ने कुराले पनि प्रधानमन्त्री फेरिने कुरा निर्धारण गर्ने खुलासा गरेका छन् । जनताले अपेक्षा गरेको सुशासन र विकास केपी ओली सरकारले नै पूरा गरिदिए आफू प्रधानमन्त्री हुन आवश्यक नभएको उनले बताए । तर हालसम्म जनताका कतिपय अपेक्षा पूरा हुन नसकेकोमा उनी स्पष्ट देखिएका छन् ।
प्रचण्डले भनेको सहमतिअनुसार प्रधानमन्त्री फेरिए त्यसको अर्को गहिरो अर्थ दिनेछ – ओली सरकारले जनताका अपेक्षा पूरा गर्न सकेन । सुशासन र विकासका काम गर्न सकेन । किनकि अन्तर्वार्तामा प्रचण्डको आशय छ – आफू प्रधानमन्त्री हुनुभन्दा पनि जनताका अपेक्षा, सुशासन र विकास मुख्य कुरा हुन् । ओली सरकारबाट बाहिरिने अवस्था आउनु भनेको उनले जनताका अपेक्षा पूरा गर्न सकेनन् भन्ने अर्थ समेत लाग्नेछ । सरकारले अपेक्षाकृत काम गर्न नसके पार्टीमा छलफल भएर प्रधानमन्त्री परिवर्तन हुने प्रचण्डले खुलासा गरे । आफ्नो ‘असफलता’ स्वीकार्दै प्रधानमन्त्री ओली पूर्वसहमति अनुसार सरकारबाट बाहिरिएलान् त ? यो प्रश्नको जवाफ भविष्यले दिनेछ ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता घोषणा हुँदाखेरी त्यतिबेला तत्कालीन एमालेका उपमहासचिव विष्णु पौडेल र तत्कालीन माओवादीका केन्द्रीय समिति सदस्य जनार्दन शर्माको उपस्थितिमा ५ बुँदे सहमति भएको थियो । सहमतिको चौथो बुँदामा समानता र समान अवधिको आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको छ ।
समान अवधिको अर्थ दुवै अध्यक्षले अढाई–अढाई वर्ष सरकारको नेतृत्व गर्ने भन्ने अर्थ लाग्छ । पहिलो बुँदामा जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद र माओवाद सम्बन्धी राजनीतिक मान्यतालाई परिमार्जन गरी जनताको जनवादका रूपमा अघि बढाउने निर्णय गरिएको छ भने दोस्रो बुँदामा पार्टी एकताका संगठनात्मक सिद्धान्तहरू समान, सम्मानजनक र न्यायोचित हुने उल्लेख गरिएको छ ।
सहमतिको तेस्रो बुँदामा एकता महाधिवेशन नहुने बेलासम्म पार्टीले गर्ने निर्णयहरू दुवै अध्यक्षको सहमति र हस्ताक्षरपछि मात्र कार्यान्वयनमा आउने उल्लेख छ भने पाचौं बुँदामा महाधिवेशनसम्मका लागि ४ सय ४१ जना केन्द्रीय कमिटी र ४३ जनाको स्थायी कमिटी रहने उल्लेख छ ।
नेकपाका स्थानीय नेता निलम्बित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा निलम्बन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महीनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको हो ।
पार्टीले जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको माग गर्दै क्षतिपूर्ति भराउनसमेत आग्रह गरेको छ । पार्टीले सो घटनाप्रति दुःख व्यक्त गरेको छ ।
जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिबद्धता जनाएको छ ।
कँडेल र बस्ताकोटीसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले बुधबार बिहान निर्माणाधीन रङ्गशालाको बार र सोही ठाउँमा यसअघि भएको तारे बार डोजर लगाएर भत्काएका थिए । उनीहरुले रङ्गशालाको जग्गाबाट पश्चिमतर्फ सडक चौडा गराउन माग गर्दै आएका थिए ।
यसैबीच प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कडा कारवाही गरिनुपर्ने बताएका छन् ।
धामीझाँक्रीको नाममा बालकको हत्या
धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
गत वैशाख २३ गते बेलुका ५ बजे महतोले मिथिला नगरपालिका वडा नं ६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भन्ने समीरकुमार साहलाई आफ्नो घरको ढोकामा फूलको बोट नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरी आफ्नो घरमा बन्धक बनाई राखी भोलिपल्ट वैशाख २४ गते बिहान चमेनिया माय भन्ने देवताका नाममा नर बलिका रूपमा नियतपूर्वक आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको जनाइएको छ ।
बालकको हत्यापछि महतोले बालकको शवलाई बालकको घर पछाडि रहेको कृष्णनन्दन महतोको रूख बिरूवासहितको खेतको झाडीमा फालेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महतोले विगत दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए ।
सभासद्लाई ‘संविधानसभा पदक’ प्रदान
सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित एक समारोहका बीच उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गरेकी हुन् ।
पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै एक हजार १०९ सभासद्लाई सम्मान गरिएको बताइएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पु¥याएबापत सभासद्लाई सम्मान गरिएको हो ।
प्रधानमन्त्री ओली भारतमा
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुने क्रममा गणतन्त्र भारतको राजधानी नयाँ दिल्लीमा रहेका छन् । उनी बिहीबार दिल्ली गएका हुन् ।
बिहीबार राती आयोजित मोदीको सपथग्रहण कार्यक्रममा ओलीले भेटेरै मोदीको सफल कार्यकालको शुभकामना दिएका छन् । ओली आज मोदीसँग विशेष भेटवार्ता सकेर साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।
भोलिसम्म मौसन खराब
काठमाडोँ–पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले शनिबारसम्म् काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबारदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यम खालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म रहने बताइएको छ ।
आज देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुनेछ ।
त्यस्तै पूर्वी तथा मध्य भागका केही स्थान र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुख्य न्यायाधीशको शपथ
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त उच्च अदालतका मुख्य न्यायाधीशद्वय कुमारप्रसाद पोखरेल र रमेश पोखरेललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमारप्रसाद पोखरेललाई उच्च अदालत दिपायल र न्यायाधीश पोखरेललाई उच्च अदालत सुर्खेतको मख्य न्यायाधीशका लागि पदस्थापना गर्ने निर्णय गरेका थिए ।
न्याय परिषद्को यही जेठ १४ गते बसेको बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत न्यायाधीश कुमारप्रसाद पोखरेल र उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत मुख्य न्यायाधीशमा नियुक्तिका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको थियो ।
टेलिकमले २० अर्ब तिर्नुपर्ने
नेपाल दूरसञ्चार कम्पनीले मोबाइल सेवाको नवीकरणका लागि रु २० अर्ब तिर्नुपर्ने भएको छ । मोबाइल सेवा सञ्चालनका लागि अनुमति लिएपछि पहिलो पटक दश वर्षमा एक पटक र दोस्रो पटक पाँच वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाका आधारमा टेलिकमले पाँच किस्तामा उक्त परिमाण बराबरको नवीकरण शुल्क तिुर्नपर्ने भएको छ ।
यसैबीच सरकारले भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा मिनिस्टर (इकोनोमी) पदमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव कृष्णहरि पुस्कर कर्णलाई फिर्ता बोलाएको छ ।
अकूत सम्पत्ति आर्जन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति जोडेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार अधिकृत अर्याल विसं २०५९ भदौ २३ गते सार्वजनिक सेवामा प्रवेश गरेको अवधिदेखि परीक्षण गरिएको गत मङ्सिरसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिको तुलना गर्दा अनाधिकतरुपमा चल÷अचल सम्पत्ति जोडेको पाइएको छ ।
अधिकृत अर्यालले तलब, भत्ता, कर्जा, कृषि आय, अंश नगद र जग्गा बिक्री लगायतबाट रु दुई करोड ४९ लाख ९२ हजार ७३० बराबरको आय वैध रहेको छ तर सोही अवधिमा अर्यालले आफू र श्रीमती सरिता नेपालसमेतका नाममा खरीद गरी राखेका एवं लगानी गरेको चल÷अचल सम्पत्ति तथा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात गरी कूल रु चार करोड ५६ लाख ८१ हजार ८४१ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।
वैध आयको तुलनामा स्रोत नखुलेको रु दुई करोड छ लाख ८९ हजार १११ बराबरको सम्पत्ति देखिएकाले आयोगले अधिकृत अर्याल र उहाँका श्रीमती सरिता नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
कुसुण्डा बालिकालाई नेता जोशीको सहयोग
अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारकी बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले आर्थिक सहयोग गरेका छन् ।
तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ निवासी सीमान्त कुसुण्डाको उपचारका लागि नेता जोशीले रु दश हजार सहयोग गरेका हुन् ।
उक्त रकम नेता जोशीले घरमै पुगेर उनकी आमा इन्द्रमायालाई हस्तान्तरण गर्दै सीमान्तको उपचारका लागि आर्थिक अभाव भएको थाहा पाएपछि केही सहयोग गरिएको बताए ।
इदुल फित्रमा सार्वजनिक बिदा
सरकारले मुसलमान धर्मावलम्बीको पर्व इदुल फित्रका दिन सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम आयोगको सिफारिसलाई समेत दृष्टिगत गरी यही जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो ।